४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

उद्घाटनमा पोखरा र काठमाडौं भिड्ने

पोखरा - पोखरा प्रिमियर लिग (पिपिएल)को खेल तालिका सार्वजनिक भएको छ। पोखरा प्रिमियर लिगको आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले मंसिर २८ गते शनिबारदेखि हुने खेलको तालिका बुधबार सार्वजनिक गरेको हो। प्रतियोगिता पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछ।

खेल तालिका अनुसार उद्घाटनमा मंसिर २८ गते शनिबार पोखरा पल्टन र काठमाडौं गोल्डेन्स भिड्ने भएका छन्। मंसिर २९ गते आइतबार विहान विराटनगर टाइटन्स र धनगडी ब्लुज आमनेसामने हुनेछन् भने दिउँसो काठमाडौं र बुटवल ब्लास्टर भिड्नेछन्।

त्यस्तै मंसिर ३० गते पोखरा पल्टन र चितवन राइनोज प्रतिस्पर्धामा उत्रिनेछन्। प्रतियोगिताअन्तर्गत पुस १ गते दुई खेल हुनेछन्। सो दिन विहानको खेलमा काठमाडौं गोल्डेन्स र धनगडी ब्लुज आमनेसामने हुनेछन् भने दिउँसो विराटनगर टाइटन्स र पोखरा पल्टन प्रतिस्पर्धामा उत्रिनेछन्।

पुस २ गते एउटा मात्रै खेल हुनेछ। जसमा बुटवल ब्लास्टर र चितवन राइनोज खेल्नेछन्। पुस ३ गते भने दुई खेल हुनेछन्। उक्त दिन विहान पोखरा पल्टन र बुटवल ब्लास्टर तथा दिउँसोको खेलमा धनगडी ब्लुज र चितवन राइनोज भिड्ने भएका छन्।

प्रतियोगिताअन्तर्गत पुस ४ गते विराटनगर टाइटन्स र काठमाडौं गोल्डेन्स आमनेसामने हुनेछन्। पुस ५ गते विराटनगर टाइटन्स र चितवन राइनोज खेल्नेछन् भने सोही दिन दिउँसो बुटवल ब्लास्टर र धनगडी ब्लुज प्रतिस्पर्धामा उत्रिनेछन्।
पुस ६ गते धनगढी ब्लुज र पोखरा पल्टन खेल्नेछन्। पुस ७ गते चितवन राइनोज र काठमाडौं गोल्डेन्स, पुस ८ गते बुटवल व्लास्टर र विराटनगर टाइटन्स खेल्ने भएका छन्। पुस ९ गते एक दिन ग्याप हुने क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका निर्देशक छुम्बी लामाले बताए।

पुस १० गते इलिमिनेटर गेम हुनेछ। जसमा ग्रुप ‘बी’ र ग्रुप ‘सी’बीच फाइनल प्रवेशका लागि खेल हुने निर्देशक लामाले जानकारी दिए। पुस ११ गते खेल हुने छैन। पुस १२ गते पोखरा प्रिमियर लिगको फाइनल खेल हुने आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले जनाएको छ।

यसअघि कात्तिक २६ गतेदेखि मंसिर ७ गतेसम्म हुने बताइएको पोखरा प्रिमियर लिग मंसिर २८ गतेदेखि पुस १२ गतेसम्म सारिएको हो। दक्षिण एसियाली खेलकुद (साग), मेरिलिबोन क्रिकेट क्लब (एमएमसी) को नेपाल भ्रमण तथा नेपाली यू–१९ टिमको भारत भ्रमण परेकाले पूर्व निर्धारित पिपिएलको खेल तालिका पछि सरेको हो। लिगको पहिलो संस्करण गत वर्ष पोखरामा सम्पन्न भएको थियो। पहिलो संस्करणको उपाधि पोखरा पल्टनले जितेको थियो।

प्रकाशित: २६ मंसिर २०७६ ०१:२७ बिहीबार

पोखरा_प्रिमियर_लिग उद्घाटन