काठमाडौं – आइतबारदेखि सुरु भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)लाई व्यवस्थित बनाउन ६ वर्षअघि एउटा योजना बन्यो। योजना बनाउनुको कारण थियो– खेलाडीलाई लामो समय अभ्यास गराउने, दशरथ रंगशालाको पूर्वाधार सुधार्ने, नयाँ स्टेडियमको सम्भाव्यता खोज्ने, वरिपरि नयाँ लाइट जडान गर्नेलगायत। तर, योजना अनुसार यसपटकको साग आयोजना भएन। करिब दुई महिनाको तयारीपछि मात्रै साग आयोजना गरियो।
६ वर्ष अघिदेखि नै योजना बनाएर पनि किन यति ढिलो आयोजना गरियो त साग ?
सायद, यसबारे धेरैलाई जानकारी नै छैन होला। तल्कालीन समयको सन्दर्भ र योजनाबारे जानकारी दिँदै पूर्वखेलाडी तथा यसअघि आयोजना गरिएका दुईवटा साग समारोह समितिका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ भन्छन्, ‘त्यतिखेर ओलम्पिक कमिटीको अध्यक्ष धु्रवबहादुर प्रधान हुनुहुन्थ्यो। हामीले छलफल गरेर एउटा कमिटी बनायौं, पूर्वाधार कसरी बनाउने, कति खर्च लाग्छ ? यी सबै विषयमा अध्ययन गर्न समिति गठन गरियो। तर, सरकार परिवर्तन भएपछि हामीले अघि सारेका योजनालाई बेवास्ता गरियो।’
उक्त समितिका अध्यक्षमा श्रेष्ठ थिए। समितिमा पूर्वाधारविद्, पूर्व खेलाडी, इन्जिनियर र सरोकारवाला निकायका व्यक्ति समेटिएको थियो। समितिले चार–पाँच महिला लगाएर अध्ययन पुस्तक तयार पा-यो। समितिले साग खेलको विविध योजना समेटिएको पुस्तक तत्कालीन अर्थमन्त्री पुनलाई हस्तान्तरण ग-यो। तर, सरकार परिवर्तन भएपछि समितिले बुझाएको अध्ययन पुस्तिका ओझेलमा पारियो। नयाँ सरकार आएर पुरानो योजना अनुसार काम गरेन। त्यसपछि समिति पछि हटेको थियो।
‘आइतबारदेखि आयोजना गरिएको खेल, केही दिन अघिको योजना मात्रै होइन, यो ६ वर्ष अगाडिदेखि आयोजना गरिएको थियो,’ उनले भने, ‘तर, त्यो योजना नाम मात्रैको भयो, अहिले हतारमा खेल आयोजना गरिएको छ, यद्यपि, हतारमै भए पनि नराम्रो भन्न मिल्दैन। तर, पहिले नै सुरु गर्नु पर्ने खेलको तयारी किन यति ढिलो सुरु गरियो भन्ने प्रश्न छ।’
उनले यो प्रश्नको जवाफ अहिलेको आयोजक र खेलकुद मन्त्रालयले दिनुपर्ने बताए।
श्रेष्ठ खेलाडी मात्रै होइनन्, यसअघि भएका दुईवटा सागमा आयोजक समारोह समितिका अध्यक्ष पनि हुन्। तर, उनैलाई यसपटकको सागमा कुनै वास्ता नै गरिएन। अरु त परैकै कुरा नजिकबाट निमन्त्रणा समेत नगरेकोमा उनले गुनासो प्रकट गरे। ‘अहिले हामीसँग एकपटक पनि कुरा गरिएन, कसरी आयोजना गर्दा खेल राम्रो हुन्छ भनेर सोधिएन, म मात्रै होइन, योगदान पु¥याएका अन्य पूर्वखेलाडी र कमिटीका व्यक्तिलाई यसपाली बेवास्ता गरिएको छ,’ उनले सुनाए, ‘विगतको नेतृत्वलाई भुल्नु राम्रो होइन, यो विभेद हो।’
उनीजस्तै पूर्वखेलाडी सुवर्णबहादुर क्षेत्रीलाई पनि सागमा निमन्त्रणा गरिएन। निमन्त्रण नगरेपछि उनी पनि यसपटकको सागमा सहभागिता जनाएनन्। ‘उहाँ ओलम्पिक कमिटीको अध्यक्ष हुनुहुन्थ्यो, तर बोलाइएन,’ श्रेष्ठले भने, ‘पछिल्लो समय खेलकुदमा राजनीति हाबी भएको छ, यसले खेलकुद क्षेत्रलाई राम्रो गर्दैन, खेलकुद क्षेत्र स्वतन्त्र हुनुपर्छ, खेलाडीको आवाज समेटिनुपर्छ।’
यसअघि दुई पटकको साग उनकै सक्रियतामा सफल भएका थिए। पहिलो र आठौं साफमा समारोह समिति अध्यक्ष भएर काम गरेका उनले सन् १९८२ मा भएको बक्सिङमा खेलमा नेपालको जित नभए राजीनामा समेत दिन्छु भनेर बाचा गरेका थिए। नेपालले उक्त खेलमा जित हासिल गर्न नसकेपछि उनले राजीनामा नै दिएका थिए। आफूले राम्रो गर्न सक्दा पदमा बस्ने र नसक्दा नबस्ने बानीका कारण उनी सबैमाझ रुचाइएका छन्। खेलकुदको लागि ६० वर्षभन्दा बढी समय योगदान दिएका छन्। एकपटक त उनले खेलाडीलाई नै आफ्नै पैसामा थाइल्याण्डमा तालिममा सहभागी गराउन लगेका छन्। तर, यस पटकको सागमा पूर्वखेलाडी र अनुभवीलाई समेटिएको उनी दुःखी छन्। आफ्नो प्रत्यक्ष सहभागिता नभए पनि उनले यसपटकको खेलमा अझ राम्रो गर्न सकिने विश्वास व्यक्त गरे।
आठौं सागमा ३१ मेडल हात पारेकोमा यसपटक योभन्दा बढी मेडल नेपालले हात पार्न सक्ने उनको भनाइ छ। उनकै अध्यक्षतामा भएको आठौं सागलाई स्मरण गर्दै श्रेष्ठले भने, ‘त्यतिबेला पानी परिरहेको थियो, तयारी गर्न पनि मुस्किल थियो। तर, सबैतिरको सहयोगले उक्त खेलमा हामीले राम्रो नतिजा हासिल गरेका थियौं।’
उनीसँग बासुदेव प्रधान, द्वारीकादेवी प्रधान, चन्द्र शाह, अनुपशम्शेर राणा, भगवत माथेमा, कमल थापालगायत खेलाडीले सहकार्य गरेका थिए। नेपाली खेल क्षेत्रमा यी व्यक्ति चिनारी नै हुन्। यसमध्ये केही खेलाडी जिवित छैनन्। जिवित रहेकाप्रति सरकारले चासो नदेखाएकोमा उनले गुनासो गरेका छन्।
श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटिको ११ वर्ष कोषाध्यक्ष भइसकेका छन्। एसियाको जुडो युनियन, एसियन तेक्वान्दो र बक्सिङको पूर्वउपाध्यक्ष समेत हुन्, उनी। उनले जुडोको संस्थापक अध्यक्ष, पहिलो साफ र आठौं साफको समरोह समिति अध्यक्ष, मस्को ओलम्पिकको प्रमुख, आठौं एसियन लेखको ‘चिफ अफ द मिसन’लगायतमा बसेर काम गरेका छन्।
प्रकाशित: १६ मंसिर २०७६ ०२:१९ सोमबार