९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

नेपाललाई ऐतिहासिक सफलता

काठमाडौं – अपराजित यात्रालाई फाइनलसम्म निरन्तरता दिएको नेपालले बंगलादेशमा सम्पन्न एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि उचाल्दै ऐतिहासिक सफलता प्राप्त गरेको छ।

बिहीबार ढाकास्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियम मिरपुरमा सम्पन्न फाइनलमा माल्दिभ्सविरुद्ध सोझो सेटमा सफलता निकाल्दै च्याम्पियन बनेको नेपालले पहिलो पटक भलिबलमा स्वर्ण पदक चुमेको हो। नेपाली महिला टोलीले सन् २०१४ मा घरेलु मैदानमै सम्पन्न दक्षिण एसियाली आमन्त्रण भलिबल च्याम्पियनसिपमा रजत पदक जितेको थियो।

यद्यपि, एसियन भलिबल फेडेरेसनको तŒवावधनमा भएको प्रतियोगितामा भने नेपालको पुरुष टोलीले सन् २०१७ मा माल्दिभ्समा सम्पन्न सेन्ट्रल जोन भलिबलमा जितेको कांस्य पदक ठूलो सफलता थियो। अरुणा शाहीको कप्तानीमा रहेको नेपाली महिला भलिबल टोलीले बंगलादेशमा सम्पन्न पहिलो संस्करणमै स्वर्ण पदक जित्दै ऐतिहासिक सफलता दिलायो।

आफ्नो कप्तानीमा पहिलो प्रतियोगिता खेलेकी अरुणा शाहीले पनि यादगार सुरुआत गरिन्।  नेपालको महिला भलिबलले सागमा पनि तीन कांस्य जितेको छ। नेपालले सन् १९९९, २००६ र २०१६ को सागमा कांस्य पदक जितेको हो। पाँच राष्ट्र सहभागी प्रतियोगितामा अपराजित रहँदै पहिलो संस्करणको फाइनलमा माल्दिभ्सलाई स्तब्ध बनाउँदै नेपालले लगातार दोस्रो दिन हार चखायो।

यसअघि बुधबार सम्पन्न लिगको अन्तिम खेलमा पनि नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो। बिहीबारको फाइनलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा हराउन सफल भयो। तर, पहिलो सेटको सुरुआतीमा लगातार तीन अंक बटुल्दै माल्दिभ्सले दबाब सिर्जना गर्ने प्रयास गरे पनि नेपाल लयमा फर्कियो।

उक्त सेट नेपालले २५–१३ ले आफ्नो बनाउन सफल भयो। दोस्रो सेट पनि २५–१२ ले आफ्नो बनाउँदै नेपाल उच्च आत्मविश्वासी बन्यो। तेस्रो सेट भने नेपालले २५–८ ले सहजै आफ्नो बनाउँदै पहिलो संस्करण आफ्नो बनाउन सफल भयो।

नेपालको ऐतिहासिक सफलतापछि नेपाल भलिबल संघका महासचिव जितेन्द्र चन्दले यस सफलताले नेपाली भलिबल विकासमा थप मद्दत पुग्ने बताए। ‘यसै वर्ष काठमाडौंमा सम्पन्न एभिसीको बैठकमा हाम्रो प्रस्तावमा यस प्रतियोगिता बंगलादेश भएको हो। जसको पहिलो संस्करण पनि हामीले नै जित्न सफल भयौं,’ महासचिव चन्दले भने,‘यो सफलतालाई सबैलाई उत्साहित तुल्याएको छ। साथै नेपाली भलिबल विकासमा टेवासमेत पुग्नेछ।’

बिहीबारै सम्पन्न तेस्रो स्थानका खेलमा किर्गिस्तानले घरेलु टोली बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै लिग चरणमा बेहोरेको हारको बदलासमेत लियो। लिग चरणमा किर्गिस्तान बंगलादेशसँग ३–२ ले पराजित भएको थियो। तर, तेस्रो स्थानको खेलमा भने किर्गिस्तानले बंगलादेशमाथि २५–१३, २५–१४ र २५–१२ को सोझो सेटमा जित निकाल्यो।

प्रतियोगितामा नेपाली प्रतिभा माली उत्कृष्ट स्पाइकर चयन हुँदा बंगलादेशकी बिठे उत्कृष्ट ब्लकर र किर्गिस्तानकी मदिना किर्लान उत्कृष्ट सेटर घोषित भइन्।

प्रकाशित: २९ कार्तिक २०७६ ०२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App