धरान - स्वास्थ्यका लागि भन्दै धरानमा साइक्लिङ गर्नेको जमात बढेको धेरै अघिदेखि नै हो। स्वास्थ्यलाई मध्यनजर गर्दै सुरु भएको साइक्लिङ अभियानले बिस्तारै खेलकुदको रूप लियो। धरानका युवाहरूले विभिन्न साइक्लिङ च्याम्पियनसिपमा सहभागी हुन थालेको नै झन्डै ७ वर्ष भयो। त्यस बेला खेलाडीका रूपमा आंैलामा गन्न सकिने मात्र युवा थिए। अधिकांश स्वास्थ्य र रमाइलोका लागि साइक्लिङ गर्थे।
पछिल्लो ३ वर्षयता धरानमा साइक्लिङले साहसिक खेलको रूपमा फड्को नै मारेको छ। युवाहरू स्वास्थ्य र मनोरञ्जनका लागि मात्र होइन, खेलकुदका रूपमा नै साइक्लिङतर्फ आकर्षित भइरहेका छन्। धरानमा बर्सेनि स्थानीय स्तरको मात्र होइन, राष्ट्रिय साइक्लिङ च्याम्पियनसिप नै आयोजना भइरहेको छ। जसले खेलाडी उत्पादनमा पनि योगदान पुगेको छ। ‘साहसिक खेलकुदका लागि धरान १ नं प्रदेशकै हब हो, पछिल्लो वर्षमा यहाँ साइक्लिङ, एङ्गलिङ, प्याराग्लाइडिङले त नसोचेको फड्को मारिसकेको छ,’ सुनसरी साइक्लिङ संघ तथा धरान एङ्गलिङ संघका अध्यक्ष राजेन लिम्बु भन्छन्।
खेलको रूपमा विकास भएकाले साइक्लिङमा युवा र युवती दुवैको क्रेज छ। राष्ट्रिय प्रतियोगितामा धरानका युवा खेलाडीहरूले पुरस्कार पनि जित्दै आएका छन्। अझ अहिले सागको तयारीमा रहेको नेपालको राष्ट्रिय टोलीमा धरानबाट ४ युवती क्लोज क्याम्पमा छन्। अध्यक्ष लिम्बुका अुनसार धरानकी आशा लिम्बु, ईशा तामाङ र अनिषा गुरुङ साइक्लिङको रोड रेसिङमा राष्ट्रिय टोलीमा छनोट भएका छन्। उनीहरू काठमाडौँमा क्लोज क्याम्पमा छन् भने निक्की नेम्बाङ दुवाथलनको क्लोज क्याम्पमा हाल पोखरामा छिन्। दुवाथलन साइक्लिङ र रनिङको संयुक्त रूप हो। ‘२, ३ वर्षयता खेल एवं व्यवसायको रूपमा नै प्याराग्लाइडिङ, साइक्लिङले फड्को मारेको छ,’ अध्यक्ष लिम्बुले भने।
अझ गत वर्ष सरकारले १ सय ४२ किलोमिटर लम्बाइ भएको अन्तर्राष्ट्रियस्तरको हवाई रंगशाला १ नं प्रदेशमा स्वीकृत गरेको छ। यसको क्षेत्रफल उदयपुरको बेलका नगरपालिकादेखि मोरङ र झापाको सिमाना बक्राहा खोलासम्म छ। हवाई रंगशाला स्वीकृत भएपछि प्याराग्लाइडिङको स्कुल नै सञ्चालनमा आइसकेको छ। अहिले उदयपुरको बेलकामा बिगिनर्स कोर्स सञ्चालन भइरहेको छ भने धरान क्षेत्रमा टेन्डम कोर्स पनि सुरु हुने तर्खरमा छ। सरकारी स्तरमा स्वीकृति पाएको यो हवाई रंगशाला विश्वकै ठूलो क्षेत्रफल भएको मानिएको छ। ‘यो हवाई रंगशालामा क्रसकन्ट्री, एक्युरेसी मात्र होइन, ओलम्पिक पनि आयोजना गर्न सकिन्छ,’ नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ एसोसिएसन(नेफा)को प्रदेश १ अध्यक्ष भूपेन्द्र चाम्लिङले भने,‘बिगिनर्स कोर्सले गर्दा थुप्रै सोलो पाइलट उत्पादन भएका छन्, उनीहरू खेलाडी नै हुन्।’
यो सरकारीस्तरको हवाई रंगशाला स्वीकृत भएपछि करिब ५० जनाले प्रशिक्षण लिइसकेका छन्। धरान क्षेत्रमा नै प्रशिक्षणको व्यवस्था भएपछि सोलु, संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, उदयपुरकाले पनि प्रशिक्षण लिइसकेका छन्। ‘अहिले २ दर्जन जति त पूर्वका सोलो पाइलट छन्, तीमध्ये ६ जना जति खेलाडी छन्,’ टेन्डम पाइलट तथा नेफा प्रदेश समिति सचिव राम राईले भने,‘एडभेन्चर स्पोर्ट्सको रूपमा क्रेज बढेको छ।’
उनका अनुसार ओलम्पिक, एसियन, साउथ एसियनमा खेलको रूपमा समावेश भएकाले पनि आकर्षण छ। इन्डोनेसियाको एसियन गेममा रजत पदक नेपालले जितेपछि त प्याराग्लाइडिङप्रति युवाहरूको आकर्षण ह्वात्तै बढेको छ। धरानमा एक दशकअघि सोलो पाइलटका रूपमा तारामणि राई मात्र थिए। केही वर्षपछि राम राई, देशवीर जिमी र लेखमणि जिमीले पोखराबाट प्रशिक्षण लिएर आएपछि धरानमा प्याराग्लाइडिङको गतिविधि बढेको थियो। धरानमा व्यावसायिक रूपमा २ वटा कम्पनी सञ्चालनमा पनि छन्। तर, पर्याप्त पर्यटक र जनशक्ति (पाइलट) अभावले ती कम्पनी समस्यामा छन्।
साहसिक खेलमा पर्ने -याफ्टिङको धरानमा २ वटा व्यावसायिक कम्पनी छन् भने इटहरी र चतरामा एउटा छ। तमोर र कोसीमा व्यावसायिक रूपमा -याफ्टिङ भए पनि खेलका रूपमा विकास हुन भने सकिरहेको छैन। यस्तै, विदेशमा आउटडोर स्पोर्ट्समा राखिएको एङ्गलिङका पारखी पनि धरानमा सक्रिय छन्। ‘नेपालमा फिसिङ गर्ने ठाउँसम्म हिँडेरै पुग्नुपर्छ, साहसिक खेल नै हो,’ धरान एङ्गलिङ संघका अध्यक्ष पनि रहेका राजेन लिम्बुले भने,‘हामी सन् १९८० देखि एङ्गलिङको च्याम्पियनसिपमा भाग पनि लिइरहेकै छौं। एङ्गलर्स पनि धरानमा नै धेरै छन्।’ उनका अनुसार बर्सेनि गोल्डेन महासिर क्याटोगरीमा धराने एङ्गलर्सले प्रतियोगितामा भाग लिने गरेका छन्।
प्रकाशित: २८ कार्तिक २०७६ ०२:०९ बिहीबार