जापान - नेपालमा करिब सात वर्षअगाडि मात्र रग्बी खेलको विकासले गति लिन सुरु गरेको थियो। विश्वका अन्य देशमा रग्बी पुरानो खेल भएता पनि नेपालका लागि भने नौलो थियो र आमनागरिकका लागि झनै अपरिचित। फुटबलमा राम्रै खेलाडीका रूपमा गनिने नवीन गिरीका लागि भने यो खेल परिचितजस्तै भयो। नयाँ खेल भए पनि नवीनले सहजै रग्बी खेल्न थाले। वि.सं. २०५२ साल वैशाख २५ गते जन्मिएका नवीनले सानैदेखि फुटबल खेल्न थाले। नवीन प्रहरी विद्यालयबाट फुटबल खेल्थे। उनी फुटबलमा गोलपोस्टको रक्षा गर्थे। सीधा भाषामा उनी गोलकिपर थिए।
फुटबलमा उनको लोकप्रियता राम्रै थियो। नवीन सम्भावना बोकेका खेलाडी भएरै राम्रो अवसरको पर्खाइमा थिए। फुटबलको जस्तै ठूलो मैदान, गोलपोस्ट र जम्बो टोली रग्बीको विशेषता थियो। खेल्ने शैली फरक, तथापि झल्को भने उस्तै दिन्थ्यो। त्यसैले पनि होला, नवीनलाई रग्बीले निकै आकर्षित ग¥यो।
भर्खर पालुवा हालेको रग्बी खेलतर्पm नवीनले भविष्य खोजे। त्यसैअनुरूप उनले सन् २०१३ देखि खेल्न थाले। वि.सं. २०५४ सालदेखि राखेपमा दर्ता भए पनि नेपालमा रग्बी खेल कोमामा थियो। तर, ०६८ सालमा टंकलाल घिसिङको नेतृत्वमा नेपाल रग्बी संघको पुनर्गठन भएपछि यसले उचाइ लिन थाल्यो। सोही संघले सन् २०१२ देखि कहिले रंगशालामा त कहिले टुँडिखेलमा गरेर नियमित प्रशिक्षण गराउन थाल्यो।
सुरुआतमा महिला र पुरुषलाई सँगै राखेर प्रशिक्षण सुरु भएको थियो। नवीन त्यही समयका खेलाडी हुन्। तर, उनले प्रशिक्षण लिएको एक वर्षपछि दशरथ रंगशालामा रग्बी खेल्न थाले। रग्बीमा नवीनको जिम्मेवारी थियो, पोजिसन स्क्रम हाफ र विङ्स। उनमा नेतृत्व गर्न सक्ने क्षमता थियो।
त्यसैले नेपालको पहिलो पटक राष्ट्रिय टोली घोषणा हुँदा कप्तानको जिम्मेवारी नवीनले पाए। उनकै कप्तानीमा नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो। सन् २०१५ मा नेपालले भारतको चेन्नाईमा रग्बी सेभेन्सको ओलम्पिक छनोट खेल्दा नवीन नै कप्तान थिए।
सोही वर्ष उनकै कप्तानीमा पनि नेपालले एसियन च्याम्पियनसिपको प्रि–क्वालिफायरमा समेत प्रतिस्पर्धा ग¥यो। यद्यपि, यी दुवै स्पर्धामा नेपालले सफलता भने हात पार्न सकेन। निकै महँगो खेल भएकाले पनि नेपाली टोलीको पहिलो सहभागिताको नतिजा स्वाभाविक थियो। नवीन पनि त्यो तथ्य स्वीकार गर्छन्।
उनी भन्छन्,‘यो खेलमा सफलता पाउनका लागि राम्रो लगानीसँगै गतिलो तयारी पनि चाहिन्छ। हामीले जुन लगानीमा तयारी गरेका थियौं, त्यो निकै अपर्याप्त थियो। नयाँ खेल भएकाले सरकारले खासै वास्ता गर्दैन। संघ र खेलाडीको व्यक्तिगत लगानी अगाडि बढिरहेको थियो। अहिले पनि उस्तै परिस्थिति छ।’
अत्यधिक लगानी लाग्ने भएकाले नवीनले भनेजस्तै संघले पनि जेनतेन घरेलु प्रतिस्पर्धा गर्नुका साथै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइराखेको छ। खेलाडीका लागि पनि परिस्थिति उस्तै सघंर्षमय छ। रग्बी खेल्न निकै बलियो शरीर आवश्यक पर्छ। त्यसका लागि सोहीअनुरूपको खानेकुरा आवश्यक पर्ने गर्दछ। त्यसैले लगानीका हिसाबले व्यवस्थापन गर्नु सामान्य खेलाडीका लागि कठिन नै हुन्छ।तर, पनि नवीनले कहिल्यै हार मानेनन्। नेपाली रग्बी खेलको सारथि भइराखे। साथै नेपाली राष्ट्रिय रग्बी टोलीका लागि एक धरोहर पनि। उनले दुबईमा सन् २०१६ मा पनि एसियन क्वालिफायरमा नेपाली टोलीको जिम्मेवारी समालेका थिए। घरेलु प्रतिस्पर्धामा सुरुमा मध्यमाञ्चलबाट खेलेका नवीन गोर्खाली रग्बी क्लबबाट व्यावसायिक लिग खेल्थे। पछिल्ला समय भने घरेलु प्रतियोगितामा नवीनको सहभागिता हुने गर्दैन।
उनी केही वर्षयता जापानलाई कर्मथलो बनाइराखेका छन्। साथै आफ्नो खेलको भविष्य खोजिरहेका छन्। सोहीअनुसार उनले निकै मिहिनेत पनि गरेका छन्। त्यही मिहिनेतकै कारणले पनि होला, जापानका विभिन्न क्लबबाट खेल्ने अवसर उनलाई मिलेको छ। रंगशालाबाट सुरु भएको उनको यात्रा जापानको व्यावसायिक रग्बी क्लबसम्म पुगेको छ। पछिल्लो एक वर्षदेखि उनी टोकियो क्रुसडर रग्बी फुटबल क्लबबाट खेल्दै आइरहेका छन्।
सन् १९९० मा स्थापित क्रुसडर टोकियोको पहिलो डिभिजन क्लब हो। जसले सुतो लिगमा समेत सहभागिता जनाउँदै आइरहेको छ। फिफ्टिन ‘ए’ साइडको सिजन चलेको समयमा नवीनले यस क्लबबाट खेल्ने गर्छन्। यद्यपि, सेभेन्स ‘ए’ साइडको सिजनमा भने नवीनले पिएसआई नामक कम्पनीको क्लबबाट खेल्ने गर्छन्। जहाँ उनको पोजिसन विङ्स हो।
यस क्लबबाट हाल विश्वकप खेलिरहेका सामोआ र अन्य युरोपियन राष्ट्रका खेलाडी पनि खेल्ने गर्छन्। नवीनसँगै खेल्ने गरेका सामोआका खेलाडी राष्ट्रिय टोलीको अन्तिम ३० सम्म पनि थिए। तर, अन्तिम २५ मा भने सहकर्मी पर्न असफल भएको नवीन बताउँछन्। ‘अवसर त्यति सहजै आउँदैन। त्यसका लागि आफूलाई प्रमाणित गरेर देखाउनुपर्छ। मैले त्यही गर्ने प्रयास गरेको छु,’ नवीनले भने,‘ठूलो सफलता पाउनका लागि यो मेरो प्रवेशद्वार हो। त्यसैले मिहिनेत गरिरहेको छु।’ नवीनले जापानको पहिलो डिभिजनको क्लबबाट खेल्ने लक्ष्य बोकेका बताउँछन्।
‘मलाई थाहा छ, त्यहाँ पुग्न यात्रा कठिन छ,’ नवीनले भने,‘लक्ष्य राखेर मिहिनेत गरे एक दिन अवश्य पुगिन्छ भन्ने लाग्छ।’ जापानमा क्लबबाट राम्रो गर्न सके देशका लागि पनि धेरै कुरा सिक्ने नवीनको भनाइ छ। उनले जापानिज क्लबमा उचाइ लिन सके नेपाली रग्बीले पनि स्वतः उचाइ लिन्छ। अन्य खेलाडीका लागि पनि अवसरको बाटो खुल्छ।
पछिल्ला ७÷८ वर्षदेखि मात्र नेपालमा रग्बी खेलको घरेलु प्रतियोगिताका साथै अन्तर्राष्ट्रिय प्रतिस्पर्धा बढ्न थाल्यो। जसको परिणाम नवीनजस्ता खेलाडी उत्पादन भए। नेपालमा यस खेलले गति लिन थालेको धेरै भएको छैन। तर पनि नवीनजस्ता खेलाडीले विदेशी क्लबबाट खेल्न संघर्ष गरिरहेका छन्। जुन निकै सराहनीय छ।
विश्वमा सन् १८८६ मा रग्बी युनियनका रूपमा संस्थागत विकास भएको यस खेलको पहिलो विश्वकप सन् १९८७ मा मात्र भयो। यसबीच हाल नवौं संस्करणको विश्वकप जापानमा चलिरहेको छ। सन् १९९० को समर ओलम्पिकदेखि ओलम्पिकमा पनि रग्बीको प्रतिस्पर्धा हुँदै आएको छ। यद्यपि, नेपालमा यस खेल भित्रिएको इतिहास भने खासै लामो छैन। दशरथ रंगशालाबाट सुरु भएको नवीनकोे यात्रा जापानको व्यावसायिक रग्बी क्लबसम्म पुगेको छ।
प्रकाशित: १२ आश्विन २०७६ ०१:०४ आइतबार