१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

कालिकादेवी संस्थापक कपको तयारी पूरा


सिन्धुपाल्चोक - जिल्लाका स्थानीय तह स्तरीय कालिकादेवी संस्थापक स्मृति कप भलिबल प्रतियोगिता आइतबारदेखि सदरमुकाम चौतारामा सञ्चालन हुने भएको छ। कालिकादेवी माध्यमिक विद्यालयको आयोजनामा चार दिन चल्ने सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको तयारी पूरा भएको व्यवस्थापन समिति अध्यक्ष रघुसिं तामाङले बताए। उनका अनुसार प्रतियोगिताको विजेताले उपाधिसाथ नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार पाउनेछ। त्यस्तै उपविजेताले ५५ हजार पाँच सय ५५ र तेस्रो हुने टोलीले २२ हजार दुई सय २२ रुपैयाँ पुरस्कार हात पार्नेछन्।

प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई म्यान अफ दी म्याच ट्रफीका साथ नगद पुरस्कार दिइने प्रतियोगिताको सर्वोकृष्टलाई कालिका स्टारले सम्मान गरिने अध्यक्ष तामाङले जानकारी दिए। ‘प्रतियोगितामा दिइने नगद पुरस्कार भलिबल विधामा जिल्लामै हालसम्मको सर्वाधिक राशि हो,’ बिहीबार पत्रकार सम्मेलन गरी उनले भने।

उनका अनुसार प्रतियोगितामा चौतारा साँगाचोकगढी, मेलम्ची नगरपालिका, भोटेकोसी, पाँचपोखरी, इन्द्रावती, सुनकोसी, बलेफी, हेलम्बु र जुगल गाउँपालिका गरी नौ स्थानीय तहले सहभागिता जनाउनेछन्। प्रतियोगिताको खेल तालिका सार्वजनिक भइसकेको छ। उद्घाटन खेल चौतारा साँगाचोकगढी नगरपालिका र भोटेकोसी गाउँपालिकाबीच हुनेछ। सम्वन्धित स्थानीय तहका बासिन्दाले मात्र प्रतियोगितामा भाग लिन पाउने आयोजकले जनाएको छ।

विगत तीन वर्षदेखि अन्तरविद्यालय कप खेलाउँदै आएको आयोजकले यो वर्षदेखि प्रतियोगितालाई परिमार्जन गर्दै ठूलो बनाएको हो। उत्कृष्ट खेलाडी तयार गर्न बर्सेनि प्रतियोगिताको पुरस्कार राशि बढाउँदै लैजाने अध्यक्ष तामाङले जानकारी दिए।

प्रकाशित: १० आश्विन २०७६ ०१:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App