१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

उरुग्वेको ऐतिहासिक जित

अनिल मल्ल ठकुरी

टोकियो– बलियो टोली फिजीलाई रग्बी विश्वकपमा पहिलो पटक हराउँदै दक्षिण अमेरिकी राष्ट्र उरुग्वेले ऐतिहास जित रचेको छ।

रग्बी विश्वकपको इतिहासमै तेस्रो पटक जित निकालेको उरुग्वेले समूह ‘डी’ बाट नकआउट चरणको दाबेदार मानिएको फिजीलाई ३०–२७ को रोमाञ्चक स्कोरमा स्तब्ध बनाउँदै यस विश्वकपमा यादगार सुरुआत गरेको हो।

उरुग्वेले यसअघि सन् १९९९ को विश्वकपमा स्पेनलाई र सन् २००३ मा जर्जियालाई स्तब्ध बनाएको थियो। यता, उरुग्वेसँग पहिलो पटक स्तब्ध भएको फिजीले यस विश्वकपमा लगातार दोस्रो हार बेहोरेपछि क्वार्टरफाइनलमा पुग्ने सम्भावना पनि कठिन भएको छ। 

फिजीले पहिलो खेलमा दुई पटक विश्वकप विजेता अष्ट्रेलियासँग हार बेहोरेको थियो । कामाइसी रिकभरी मेमोरियल स्टेडियममा बुधबार सम्पन्न खेलमा फिजीले उरुग्वेलाई खेल अवधिभर दबाबमा राखे पनि हार टार्न भने सकेन।

उरुग्वेका खेलाडीले निकै उत्कृष्ट ट्याकल्स गर्दै फिजीको लगातार आक्रमण निस्तेज बनाएका थिए । उरुग्वेले तीन ट्राइ (१५ स्कोर), तीन कनभर्जन किक (६ स्कोर) र तीन पेनाल्टी (९ स्कोर) बाट अंक बटुल्यो। 


फिजीले भने पाँच (२५ स्कोर) ट्राइ गरे पनि एक मात्र कनभर्जन किक (२ अंक) मा परिणत गर्न सफल भएपछि साँघुरो हार बेहोर्यो। खेलको सातौं मिनेटमा मेसुलाम डोलोकोतोको ट्राइबाट फिजीले खाता खोले पनि उरुग्वेले खेलको १४औं मिनेटमा ट्राइसँगै कनभर्जन किकमा सफलता प्राप्त गरेपछि ७–५ को अग्रता लियो। 

उरुग्वेका लागि सान्टियागो आराताले ट्राइ र फिलिप बेर्चेसीले कनभर्जन किक हानेका थिए। १८औं मिनेटमा इरोनी मावीको ट्राइबाट फिजीले १०–७ को अग्रता बनाए पनि जोगाउन सकेन।

सोही अवसरमा १९औं मिनेटमा जोस माटाभेसीले कनभर्जन किकमा सफलता प्राप्त गर्दा फिजीले अग्रता १२–७ ले अगाडि बढायो। २१औं मिनेटमा उरुग्वेका म्यानुयल डाइनाले ट्राइ गर्दा बेर्चेसीले पुनः कनभर्जन किकमा सफलता प्राप्त गरेपछि फिजी फेरि पछाडि पर्यो।

२५औं मिनेटमा हुवाँ म्यानुयलले ट्राई गर्दै उरुग्वेलाई १९–१२ स्कोरले अग्रता दिलाए। सोही अवसरमा बेर्चेसीले नै कनभर्जन किकमा सफलता प्राप्त गर्दै आफ्नो टोलीको खातामा दुई स्कोर थपे।

३७औं मिनेटमा बेर्चेसीले पेनाल्टी अवसर सदुपयोग गर्दा पहिलो हाफमा उरुग्वेले २४–१२ को अग्रता बनाएको थियो। 

दोस्रो हाफमा फिजीले १५ स्कोर गर्दै खेलमा फर्किने प्रयास गरे पनि उरुग्वेले दुई पेनाल्टी (६ अंक) पाएपछि ऐतिहासिक सफलता प्राप्त गर्यो। यो सफलतासँगै उरुग्वे एक खेलबाट ४ अंकका साथ समूह ‘डी’को तेस्रो स्थानमा छ भने लगातार दोस्रो हार बेहोरे पनि फिजी २ अंकका साथ चौथो स्थानमा छ ।

दुई खेलबाटै कम अन्तरको हारका कारण फिजीले अंक पाएको हो। यस समूहमा एक खेलबाट ५ अंकका साथ वेल्स शीर्ष स्थानमा रहँदा समान खेल खेलेको अस्ट्रेलिया समान ५ अंक भए पनि स्कोरअन्तरका कारण दोस्रो स्थानमा छ।

दुवै खेलमा हार बेहोरेको जर्जिया भने अंकविहीन हुँदा अन्तिममा छ। समूह ‘ए’ मा १ खेलबाट सामोआ पाँच अंकसहित शीर्ष स्थानमा छ भने समान नै खेल खेलेको आयरल्यान्ड र आयोजक जापान ५४ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। 

आयरल्यान्ड र जापान स्कोर अन्तरमा पछि पर्दै तल झरेका हुन्। सामोआको २६, आयरल्यान्डको २४ र जापानको २० अंक छ। यस समूहमा एक खेलमा हार बेहोरको स्कटल्यान्ड चौथो र दुई हार बेहोरेको रसिया पुछारमा छन्।

कुल पाँच समूह रहेको यस विश्वकपमा प्रत्येक समूहका लिगचरणमा शीर्ष दुई स्थानमा रहने टोलीले क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछन्। समूह ‘बी’ मा इटाली र न्युजिल्यान्ड, समूह ‘सी’ मा इङ्ल्यान्ड र फ्रान्स तथा समूह ‘डी’ वेल्स र अस्ट्रेलिया शीर्ष दुई स्थानमा छन् । यी छवटै राष्ट्रले आफ्नो समूहमा १/१ खेल खेलेका छन्।

यो सफलतासँगै उरुग्वे एक खेलबाट ४ अंकका साथ समूह ‘डी’को तेस्रो स्थानमा छ भने लगातार दोस्रो हार बेहोरे पनि फिजी २ अंकका साथ चौथो स्थानमा छ। दुई खेलबाटै कम अन्तरको हारका कारण फिजीले अंक पाएको हो।

प्रकाशित: ९ आश्विन २०७६ ०६:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App