१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

३५ वर्षमाथिको उपाधि विकासलाई

पोखरा- पोखरेली युवा खेलाडी विकास गुरुङले बुटवलका सञ्जयकुमार श्रेष्ठलाई पराजित गर्दै ३५ वर्षमाथिको उपाधि जितेका छन्। बिहान परेको सिमसिमे पानीले केही ढिलो गरी सुरु भएको प्रतियोगिताको चौथो दिन मंगलबार विकासले बुटवलका सञ्जयलाई पराजित गर्न धेरै लामो समय भने खर्चिएनन्।

पहिलो सेट ६–२ ले आफ्नो बनाएका विकासले दोस्रो सेटमा भने केही चुनौती खेप्न पुगे । यद्यपि दोस्रो सेटमा पनि ६–४ को नतिजाका साथ उपाधि आफ्नो नाममा लेखाउन सफल भए।

एनआइसी एसिया बैंक नेपाल आइटिएफ विश्व वरीयता सिनियर्स ग्रेड ४ टेनिस च्याम्पियनसिपमा ४५ वर्ष उमेरसमूहको उपाधि भने विमलकुमार गुरुङले जिते। गुरुङले पोखरेली खेलाडी गोपी भट्टराईलाई ६–४, ६–२ को सेटमा पराजित गरेका थिए। 

५५ वर्षको उमेरसमूहमा कमल थापाले उपाधिका लागि भारतीय खेलाडी सञ्जय कुमारसँग खेल्नेछन्। थापाले पोखरेली खेलाडी अनिल तुलाचनलाई सोझो सेटमा पराजित गर्दै उपाधिनिकट पुगेका हुन्।

थापाले तुलाचनलाई ६–२, ६–३ ले पन्छाएका थिए। भारतीय खेलाडी एसएन वशिष्ठलाई नेपाली खेलाडी करिमुल्लाह मुस्लिमले सोझो सेटमा पराजित गर्ने क्रममा ६–१, ६–३ को नतिजा निकाले। 

भारतीय खेलाडी सञ्जय कुमारले नेपाली खेलाडी उत्तमकुमार शेर्पालाई सोझो सेटमै पराजित गरेका थिए। उपाधि निकट पुग्ने क्रममा कुमारले शेर्पालाई ६–२, ६–३ ले पराजित गरेका थिए।

कास्की जिल्ला टेनिस संघको आयोजना तथा एनआइसी एसिया बैंकको मुख्य प्रायोजन गरेको प्रतियोगिताको ५५ वर्षमाथिकै अर्को प्रतिस्पर्धामा समीर शेचरनले छाम्बा ढुण्डुपलाई ६–१, ६–० को सेटले पराजित गरेका थिए। 

४५ वर्षमाथिको डबल्सतर्फ गोपी भट्टराई र धरमबहादुर लामिछानेको जोडीले राजेन्द्रसिंह भण्डारी र करिमुल्लाह मुस्लिमलाई पराजित गर्दै उपाधि जितेको छ। पहिलो सेट ६–२ ले आफ्नो बनाउँदै आक्रामक सुरुआत गरेका भट्टराई र लामिछानेको जोडी दोस्रो सेटमा भने पुरानै लयमा रहेन।

दोस्रो सेट ४–६ ले गुमाउन पुग्यो। अन्तिम सेट भने सुपरटाईमा टुंगिएको थियो। सुपर टाईमा १०–१ अंकमा भट्टराई र लामिछानेले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाउन सफल भए।

प्रतियोगिता संयोजक प्रीति बरालका अनुसार बुधबार बिहान ३५ वर्षमाथि डबल्सतर्फ, ५५ वर्षमाथिकोे एकल र डबल्सको फाइनल हुनेछ। 

प्रकाशित: ८ आश्विन २०७६ ०६:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App