३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
खेल

हारबाट लिभरपुलको यात्रा प्रारम्भ

पेरिस (एएफपी) – साबिकको विजेता लिभरपुलले हारका साथ च्याम्पियन्स लिग उपाधिरक्षा यात्राको सुरुआत गरेको छ।

च्याम्पियन्स लिगअन्तर्गत मंगलबार भएको समूह ‘ई’ को खेलमा लिभरपुल इटालियन सिरी ‘ए’ क्लब नेपोलीसँग  २–० ले स्तब्ध भएको हो। गत सिजन पनि लिभरपुललाई नेपोलीले १–० ले हराएको थियो। ६ पटकको युरोपियन च्याम्पियन लिभरपुल १९९४ पछि च्याम्पियन्स लिगको पहिलो खेलमा निराश भएको यो पहिलो पटक हो।

दुवै टोलीले खेलको ८०औं मिनेटसम्म गोलका प्रशस्त अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेका थिएनन्। खेल सकिन १० मिनेट बाँकी हुँदा नेपोलीका द्रिइस मार्टिन्सले पेनाल्टीमा गोल गर्दै टोलीलाई अघि बढाएका थिए। लिभरपुलका एन्डे रोबर्टसनले जोसे कालेजनलाई लडाएपछि नेपोलीले पेनाल्टीको अवसर पाएको थियो।

९०औं मिनेटमा वैकल्पिक खेलाडी फर्नान्डो लोरेन्टेले नेपोलीको अग्रता दोब्बर पारेका थिए। गत सिजन लिभरपुलले फाइनलमा टोटेनह्यामविरुद्ध खेल्दा लोरेन्टेले माउरिसियो पोचेटिनोको टोलीबाट खेलेका थिए। लोरेन्टेले लिभरपुलका रक्षक भर्जिन भान डेजिकले रक्षापंक्तिमा गरेको गम्भीर गल्तीको फाइदा उठाउँदै बललाई जाली चुमाएका थिए।

‘मलाई लाग्दैन कि त्यो पेनाल्टी थियो। म दाबाका साथ भन्न सक्छु त्यो पेनाल्टी थिँदै थिएन,’ लिरभपुलका प्रशिक्षक योर्गान क्लोपले भने, ‘हामीले उत्कृष्ट प्रदर्शन गरे पनि पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं। फुटबलमा गोलले विजेता निर्धारण गर्छ। आज नेपोली त्यसमा अघि रह्यो।’

यता समूह ‘ई’ कै अर्को खेलमा अस्ट्रियन टोली साल्जबर्गले भने जिंकमाथि ६–२ को प्रभावशाली जित हात पा-यो। साल्जबर्गको सानदार जितमा युवा स्ट्राइकर अर्लिङ ब्राउट हाल्यान्डले ह्याट्रिक पूरा गरे।

पछिल्लो ७ सिजन च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनाउन नसकेको साल्जबर्ग १९९४–९५ सिजनपछि पहिलो पटक समूह चरणमा प्रवेश पाएको थियो।

यता गत सिजनको युरोपा लिग विजेता चेल्सी समूह ‘एच’ मा भने स्पेनिस ला लिगा टोली भ्यालेन्सियासँँग १–० ले स्तब्ध भएको छ। ७४औं मिनेटमा ड्यानी प्राजोको फ्रिकिकलाई रोड्रिगो मोरिनोले जाली चुमाउँदा भ्यालेन्सियाले अग्रता लिएको थियो। खेल सकिन अन्तिम ३ मिनेट बाँकी हुँदा चेल्सीले खेल बराबरीमा ल्याउने सुनौलो अवसर पाएको थियो। तर भ्यालेन्सियाका ड्यानियल वासले पेनाल्टी बक्सका ह्यान्ड हुँदा पाएको अवसरलाई चेल्सीका रोस बार्लीले सुखद बनाउन सकेनन् । उनको प्रहार बारमा लागेर बाहिरिएको थियो।

‘यो हाम्रा लागि च्याम्पियन्स लिग इतिहासकै सर्वाधिक निराशाजनक खेल हो, किनभने हामीले उत्कृष्ट प्रदर्शन गर्दा गर्दै खेल गुमाउनुप-यो,’ चेल्सीका प्रशिक्षक फ्रांक लाम्पार्डले भने, ‘राम्रो पक्ष भनेको हामीसँग अझै समूह चरणका ५ खेल बाँकी छन्।’

समूह ‘एच’ कै अर्को खेलमा गत वर्ष सेमिफाइनलसम्मको यात्रा तय गर्दै सनसनी मच्चाएको अयाक्सले यस सिजन पनि सुखद सुरुआत गर्ने क्रममा लिलेमाथि ३–० को जित हात पा-यो।

त्यस्तै समूह एफमा बार्सिलोना बोरुसिया डर्टमन्डसँग गोलररहित बराबरीमा रोकिँदा इन्टर मिलान र स्लाभिया प्राग्युले पनि १–१ को बराबरी खेले। डर्टमन्डका मार्कुस रियुसले पेनाल्टीको अवसर खेर फाल्दा अर्नेस्टो भाल्भार्डेको टोली हारबाट जोगिएको थियो। समूह ‘जी’  मा भने आरबी लिपजिगले बेन्फिकालाई २–१ ले हराउँदा जेनिट सेन्ट पिट्सबर्ग र लियोनले १–१ को बराबरी खेले।

प्रकाशित: २ आश्विन २०७६ ०३:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App