न्युयोर्क– डिफेन्डिङ च्याम्पियन नाओमी ओसाकाले युएस ओपनको उपाधि रक्षा गर्ने अभियान जारी राख्दा शनिबार अमेरिकी स्टार कोको गाउफलाई स्तब्ध बनाएकी छन् ।
विश्व नम्बर एक जापानिज स्टार ओसाकाले चौथो चरणमा स्थान बनाउँदा गाउफलाई सोझो सेटमा स्तब्ध बनाएकी हुन् । ओसाकाले तेस्रो चरणको खेलमा गाउफलाई ६–३, ६–० र ६–० ले हराउँदै ६५ मिनेटभित्र नै खेलको नतिजा आफ्नो पक्षमा पारेकी थिइन् ।
न्युयोर्कस्थित अर्थर एसे स्टेडियममा सम्पन्न खेलको नतिजा आफ्नो पक्षमा पारेसँगै ओसाकाले विपक्षीविरुद्ध खुसी साटेकी थिइन् । खेलमा पराजयपश्चात भावुक भएकी गाउफलाई सान्त्वना दिँदै ओसाकाले खेलपछिको अन्तर्वार्तामा सहभागी गराएकी थिइन् ।
त्यसक्रममा ओसाकाले आफूभन्दा युवासँग सचेत हुनुपर्ने अवस्था सिर्जना भएको समेत प्रतिक्रिया दिन भ्याइन् । ‘उनी अझै माथि पुगेको हेर्न चाहन्छु । उनी धेरै युवा छिन्,त्यसैले उनले अझै धेरै राम्रो गर्न सक्नेछिन्,’ओसाकाले भनिन्,‘मेरो लागि पनि अस्ट्रेलियन ओपनको उपाधि जितेपश्चात आज उत्कृष्ट खेल रह्यो ।’
२१ वर्षीया आसाकाले चौथो चरणमा स्वीट्जरल्यान्डकी बेलिन्डा बेनसिसविरुद्ध चुनौती प्रस्तुत गर्नेछिन् । ओसाकाको त्यो जितपछि २३ पटक ग्रान्डस्लाम विजेता सेरेनाले उनलाई महिला टेनिसको भविष्य भनेर सम्बोधन गरेकी छन् । नोभाक जोकोभिचले भने ओसाकालाई नयाँ सुपरस्टारको लेबल लगाएका छन् ।
यता, हारको बाबजुत १५ वर्षीया गाउफ तेस्रो चरणमा पुग्ने सबैभन्दा कम उमेरकी खेलाडीसमेत भइन् । हारपछि गाउफले ओसाकाको स्थानमा पुग्न आफूले धेरै मिहिनत गर्नुपर्ने प्रतिक्रिया दिइन् । ‘उनी(ओसाका)ले धेरै राम्रो खेलिन् । यस खेलबाट मैले धेरै कुरा सिक्नुपर्छ,’गाउफले भनिन्,‘उनी हाल विश्व नम्बर एक खेलाडी हुन् । मलाई थाहा, उनको बराबरीमा पुग्न मैले धेरै मिहिनत गर्नुपर्छ।’
तीन पटक युएस ओपन च्याम्पियन रफाइल नाडलले दक्षिण कोरियाली प्रतिद्वन्द्वी चुङ हियोनलाई स्तब्ध बनाउँदै चौथो चरणमा स्थान बनाएका छन् । विश्व नम्बर दुईसमेत रहेका नाडलले हियोनलाई ६–३, ६–४ र ६–२ ले हराए । स्पेनिस स्टार नाडलले चौथो चरणमा सन् २०१४ को च्याम्पियन मरिन सिलिकविरुद्ध चुनौती प्रस्तुत गर्नेछन् ।
सन् २०१७ मा विम्बल्डनको फाइनलिस्ट सिलिकले अमेरिकाका जोन इस्नरलाई स्तब्ध बनाउँदै चौथो चरणमा स्थान बनाएका थिए । छैटौं वरीयताका एलेक्सजेन्डर जेरेभले पनि स्लोभानियाका एलजाज बेडेनलाई ६–७(४–७), ७–६(७–४), ६–३ र ७–६ (७–३)ले हराउँदै चौथो चरणमा स्थान बनाएका छन् । क्वार्टरफाइनल यात्राका लागि जेरेभले अर्जेन्टिनाका डिएगो सेबास्टियनविरुद्ध खेल्नेछन् ।
२१ वर्षीया नाओमी ओसाकाले चौथो चरणमा स्वीट्जरल्यान्डकी बेलिन्डा बेनसिसविरुद्ध चुनौती प्रस्तुत गर्नेछिन् । एएफपी
प्रकाशित: १६ भाद्र २०७६ ०१:२५ सोमबार