काठमाडाैँ - गत संस्करण १२औं दक्षिण एसियाली खेलकुद (साग) को नतिजा हेर्ने हो भने उसुका खेलाडीबाट नेपालले ऐतिहासिक सफलतासहित धेरै पदक आशा गरिरहेको छ।
सागमा उसु सहभागिताको इतिहास धेरै वर्ष भएको छैन। कुल तीन संस्करण मात्र खेलेको नेपाली उसु पदक दिलाउनमा भने वयस्क साबित हुने गरेको छ। १०औं संस्करणको सागबाट मात्र उसुले सहभागिता पाएको थियो। तथापि नेपालका लागि सुरुआतदेखि नै पदकको माध्यम बनेको छ, उसु। त्यसैले पनि स्वाभविक रूपमा नेपाली उसुबाट पदकको आशा गर्नु मनासिब होला।
किनकि, दक्षिण एसियाली खेलकुदको प्रदर्शन र नतिजा नियाल्दा पनि नेपाली उसुले सफलता दिलाउँदै आइरहेको छ। स्वर्ण पदकको आशा गरिएका थोरै खेलमध्ये उसुलाई पनि एक मान्ने गरिन्छ। २० वर्षपछि नेपाली भूमिमा फर्किन लागेको सागमा पनि उसुले राहत दिने अपेक्षा छ। साथै खस्कँदो नेपाली खेलकुदलाई उसुले पदकबाट उकास्ने प्रयास गर्ने आशा गरिएको छ।
किनकि यो क्षेत्रमा नेपालले उसुका प्रतिस्पर्धामा कहिल्यै खाली हात फर्कनुपरेको छैन, बरु अभैm दक्षिण एसियामा नेपाल उसुको ‘महारथी’ भनेर चिनिन्छ। ‘महारथी’ भनिए पनि स्वर्ण पदकमा भने नेपाली टोलीले वर्चस्व जमाउन सकिरहेको छैन। स्वर्णको भिडन्तमा भने नेपाली खेलाडीहरू चुकिरहेका छन्।
दक्षिण एसियाली राष्ट्रको प्राविधिक टोलीमा नेपालकै उसुकर्मीहरू हाबी छन्। नेपाली खेलकर्मीको प्राविधिक पक्षमा ‘हुकुमी’ शैली छ भन्दा फरक नपर्ला। तर, उनीहरूले स्वर्णको प्रतिस्पर्धामा कसरी सफलता हातपर्ने भन्ने कला खेलाडीलाई सिकाउन नसकेको प्रस्टै छ।
तीन वर्षअगाडि भारतमा सम्पन्न १२औं सागमा नेपाल खेलकुदले कुल ३ स्वर्ण जित्दा एक स्वर्ण उसुले दिलाएको थियो। उसुकी निमा घर्तीमगरले स्वर्ण दिलाएकी थिइन्। निमाले थाउलोतर्पm स्वर्ण आफ्नो बनाएकी थिइन्। थाउलोमै अर्का खेलाडी विजय सिन्जाली ०.०६ अंकले पछि पार्दै स्वर्णबाट चुकेका थिए। सोही संस्करणमा नेपालका ११ खेलाडी फाइनलमा पुगे पनि बाँकी १० खेलाडी भने स्वर्ण जित्नबाट चुके।
यद्यपि, गत संस्करणको सागमा नेपालका लागि खेल उसु सबैभन्दा सफल खेल साबित भयो। त्यो संस्करणमा मात्र होइन, त्यसअघिको १०औं संस्करणमा पनि बिना खड्का र राजकुमार रसाइलीले नेपालका लागि स्वर्ण पदक जितेका थिए। बिनाले थाउलुको नानछ्वानमा तथा राजकुमारले सान्सौंको ४८–५२ केजीमा स्वर्ण जितेका हुन्।
२००६ मा श्रीलंकामा सम्पन्न सागको १०औं संस्करणमा नेपालले उसुमा कुल ११ पदक जित्दा तीन रजत तथा ६ कांस्यसमेत भिœयाएको थियो। त्यही संस्करणदेखि मात्र सागमा थप गरिएको उसुमा यसपालि घरेलु मैदानमा हुने सागका लागि नेपालका ४४ खेलाडीले पहिलो चरणको तयारी गरिरहेका छन्।
गत आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण र रजत पदक विजेतालाई समावेश गरी त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप)को सेमी कभर्डहलमा प्रारम्भिक तयारी भइरहेका छ। अफिसियल रूपमा २२ विधा भए पनि एउटा राष्ट्रले भने १७ विधामा मात्र खेलाउन पाउने प्रावधान छ। यद्यपि, त्यसको निक्र्याेल भने भइसकेको छैन। त्यसैले नेपालले सबै खेलाडीलाई समावेश गरेर तयारी गरेको छ। उसु संघमा विवाद भए पनि खेलाडीको प्रशिक्षणमा भने चलायमान छ। गत आठौं राष्ट्रिय खेलकुदभन्दा अगाडिदेखि ८ खेलाडीले विशेष प्रशिक्षण गरेका थिए। राष्ट्रिय खेलकुद सकिए लगत्तै जेठ १७ गतेदेखि नै उसुले साग लक्षित प्रशिक्षण पनि सुरु गरेको थियो।
यद्यपि, जम्बो टोली भएकाले खेलाडीहरूले अपर्याप्त मैदानमा १३औं सागको प्रशिक्षण गरिरहेका छन्। ४४ खेलाडीले निकै साँघुरो र पानीले भिझेको म्याटमा प्रशिक्षण गरिरहेका छन्। सहायक प्रशिक्षक प्रकाश लामाले स्थान अभाव भएकाले तयारी भइरहेको स्थान सही नभए पनि प्रशिक्षण गराउन बाध्य भएको बताए।‘हामीले कभर्डहल माग गरेका थियौं। सबैको तयारी एकै पटक भइरहेकाले सो स्थान व्यवस्थापन गर्न नसकिने जबाफ आएपछि यहीं प्रशिक्षण गरायौं,’ प्रशिक्षक लामाले भने,‘यहाँ थाउलोलाई प्रशिक्षण गर्न म्याट सही छैन। तर विकल्प नभएकाले यसैबाट तयारी गरिरहेका छौं।’
यता, सहायक मुख्य प्रशिक्षक गणेश अर्यालले पूर्णरूपको कभर्ड हलको अभाव खड्किरहेको बताए। ‘हामीसँग प्रशिक्षण गर्न पर्याप्त स्थान छैन। धेरै खेलाडी भएकाले प्रशिक्षण गराउन अप्ठ्यारो छ,’ प्रशिक्षक अर्यालले भने,‘केही सामग्री पनि आवश्यक छ। साथै खेलाडीलाई दौडनका लागि राम्रो खालको वातावरण हामीसँग छैन।’
कम्तीमा तीन महिना वैदेशिक प्रशिक्षण गराउन सके तयारी अभैm राम्रो हुने प्रशिक्षक अर्यालको दाबी छ। नेपाली टोलीले उसुको उद्गमस्थल चीनमा प्रशिक्षण गर्ने माग गरेको छ। ‘उसुको मुख्यालयमै गएर प्रशिक्षण गर्दा खेलाडीले धेरै प्रविधि जान्न पाउँछन्। त्यहाँ उच्चस्तरीय चिनियाँ खेलाडीसँग फाइट गर्न पाउने भएकाले सागका लागि खेलाडीको मनोबल बढछ,’ प्रशिक्षक अर्यालले भने।
प्रशिक्षक लामाले थाउलो र सान्सौं दुवैमा यस पटक स्वर्ण जित्ने विश्वास व्यक्त गरेका छन्। उनले थाउलोतर्फ भारत मुख्य प्रतिद्वन्द्वी बताउँदै सान्सौं अन्य देशमा पनि राम्रो रहेको उल्लेख गरे। आगामी सागमा २÷३ जनाबाहेक सबै १२औं सागमा पदक विजेता खेलाडी छन्। अघिल्लो संस्करणमा स्वर्ण विजेता निमा, स्वर्णनजिक पुगेर चुकेका विजय सिञ्जाली, सविता राई र जुनी राईलगायत खेलाडी छन्।
अनुभवीसहित युवा खेलाडीहरूको तयारी राम्रो भएकाले घरेलु मैदानमा राम्रो प्रदर्शन गर्ने प्रशिक्षक लामाले विश्वास व्यक्त गरेका छन्। यद्यपि, नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा एक्सपोजर नपाएकाले त्यसको अभाव खड्किरहनेछ। इन्डोनेसियाका एसियन गेम्स खेलेपछि नेपाली खेलाडीले एउटा पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाइरहेका छैनन्।
दक्षिण एसियामा नेपालको दिनानुदिन खस्कँदो उसु नतिजाका कारण अन्तर्राष्ट्रिय एक्सपोजरको कमी, गतिलो संरचना नहुनु र समयसापेक्ष खेलाडीले तयारी गर्न नपाउनु हो। त्यसैले १३औं सागमा नेपाली प्रशिक्षकहरूको दाबीअनुरूप नै नतिजा नआउन सक्दछ। जसको उदाहरण पछिल्ला दुई दशकमा नेपाली उसुले अफिसियल च्याम्पियनसिपमा पाएको नतिजा नियाल्दा स्पष्ट हुन्छ।
सन् २००० मा काठमाडांैमा सम्पन्न पहिलो दक्षिण एसियाली उसु च्याम्पियनसिपमा नेपालले २९ मध्ये २३ स्वर्ण पदकमा कब्जा गरेको थियो। सन् ०३ मा भारतको नयाँ दिल्लीमा प्रतियोगिताको दोस्रो संस्करण हुँदा नेपाल २९ मध्ये १० स्वर्णमै सीमित भयो। सन् ०८ को ढाका संस्करणमा नेपालले २९ मध्ये ५ स्वर्ण मात्र जित्न सक्यो। पछिल्ला सागमा पनि नेपालले सोही किसिमको नतिजा सामना गरिरहेको छ।
यता, नेपाली प्रशिक्षकले १३औं सागअगावै वैदेशिक प्रशिक्षणका साथै अन्तर्राष्ट्रिय एक्सपोजरका लागि अक्टोवर १९ देखि चीनमा विश्व च्याम्पिसिपमा प्रतिस्पर्धा गर्ने लक्ष्य बनाएको छ। प्रशिक्षक गणेश अर्यालले विश्व च्याम्पियनसिप १३औं सागमा प्रतिस्पर्धीको रणनीति बुझ्ने माध्यम भएको बताए। ‘त्यो खेल हाम्रा लागि एक्सपोजरका साथै १३औं सागको तयारी पनि हुनेछ,’ प्रशिक्षक अर्यालले भने, ‘साथै दक्षिण एसियाली राष्ट्रले पनि विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएकाले उनीहरूबारे बुझ्न थप सहज हुनेछ।’
दक्षिण एसियामा नेपाल उसुको ‘महारथी’ भनेर चिनिन्छ। ‘महारथी’ भनिए पनि स्वर्ण पदकमा भने नेपाली टोलीले वर्चस्व जमाउन सकिरहेको छैन। स्वर्णको भिडन्तमा भने नेपाली खेलाडीहरू चुकिरहेका छन्।
प्रकाशित: ९ भाद्र २०७६ ०२:४३ सोमबार