१२ मंसिर २०८१ बुधबार
image/svg+xml
खेल

बेलको पहिलो गोल

मेरिल्यान्ड – ग्यारेथ बेलले रियाल मड्रिडबाट प्रि सिजनको पहिलो गोल गरे पनि क्लबमा उनको भविष्यका बारेमा भने अझै अन्योल कायम रहेको छ। इन्टरनेसनल च्याम्पियन्स कपअन्तर्गत पहिलो हाफपछि मैदान प्रवेश गरेका बेलको गोलमा रियालले आर्सनललाई निर्धारित समय २–२ को बराबरीमा रोक्न सफल भएको थियो। पेनाल्टी सुटआउटमा रियाल ३–२ ले भाग्यमानी साबित भएको थियो।

‘उनले उत्कृष्ट प्रदर्शन गरे र म सन्तुष्ट छु,’ मेरिल्यान्डमा भएको खेलपछि रियालका प्रशिक्षक जिनेदिन जिदानले भने, ‘तर सबै अहिलेको अवस्थाबारेमा जानकार छन् र अहिले केही परिवर्तन भइसकेको छैन।’

रियाललाई पनि उनको ठूलो रकमको तलबका कारण समस्या भइरहेको अनुमान गरिएको छ। रियालले पनि उनका लागि धेरै बोली लगाएकाले अन्य क्लबले पनि बेललाई किन्न सोच्न सक्नेछन्।

केही दिनअघि जिदानले पनि वेल्सका स्टार ग्यारेथ बेललाई बेच्न तयार रहेको बताएका थिए। शनिबार अमेरिकाको टेक्सासमा भएको खेलमा आफ्नो टोली जर्मनको बायर्न म्युनिखसँग ३–१ ले पराजित भएपछि जिदानले सो अभिव्यक्ति दिएका थिए। यद्यपि, उक्त खेलमा भने बेलले खेलेका थिएनन्। ‘उनी हामीसँगै बस्न चाहन्छन् र उनले अन्य दिनहरूमा जस्तै नियमित अभ्यास पनि गरिरहेका छन्। मैले उनलाई अवसर दिएँ र उनले त्यसको सदुपयोग गरे,’ जिदानले भने, ‘अहिले उनी हामीसँगै छन्। अहिले नै उनको भविष्यका बारेमा केही बताउन सकिन्न।’

खेलमा आर्सनलले एलेक्जेन्डर लाकाजेट् र पियरे इमेरिक औबामयाङको गोलमा २–० को अग्रता लिएको थियो। खेलको नवांै मिनेटमा नाचो रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि रियालले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो। पहिलो हाफ सकिन ५ मिनेट बाकी हुँदा सोक्रेट्स पनि रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएपछि आर्सनलले पनि १० खेलाडीमा सीमित हँुदै खेलको अन्त्य गरेको थियो।

दोस्रो हाफमा बेल र मार्को एसेन्सियोको गोलमा रियाल खेलमा फर्किएको थियो, यद्यपि एसेन्सियो खेल सकिन १५ मिनेट बाँकी हुँदा लिगामेन्टको चोटका कारण मैदानबाट बाहिरिएका थिए। यससँगै एसेन्सियो करिब ८ महिना मैदानबाहिर बस्ने बताइएको छ।

जिदान रियालमा फर्किएपछि बेल पछिल्ला समयमा बेन्चमै सीमित हुँदै आएका छन्। बेल पुनः रियालमा फर्किएपछि ११ मध्ये तीन खेलमा अवसर पाएका बेलले मैदानमा ९० मिनेट मात्र बिताएका छन्। गत सिजन रियाल बेटिससँग २–० ले पराजित भएपछि बेलप्रति जिदानले भरोसा कम गर्दै आएका थिए। रियाललाई बेलको ठूलो रकमको तलबका कारण समस्या भइरहेको अनुमान गरिएको छ।

 

प्रकाशित: ९ श्रावण २०७६ ०२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App