३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
खेल

ब्रिगेड ब्वाइजलाई उपाधि

चौथो संस्करणको ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगिताको उपाधिका साथ ब्रिगेड ब्वाइज क्लबको टोली तस्बिरःनागरिक

काठमाडौं– ब्रिजेश चौधरीको निर्णायक गोलको मद्दतमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै चौथो संस्करणको ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

बिबिसीले यससँगै लगातार दोस्रो पटक उपाधि उचाल्न सफल भएको हो। यसअघि पहिलो र दोस्रो संस्करणमा त्रिभुवन आर्मीले उपाधि जितेको थियो। चौथो संस्करणमा भने आर्मी सेमिफाइनलबाट बाहिरिएको थियो।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको फाइनल खेलमा ब्रिगेडले २३औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। निर्णायक गोल गरेका ब्रिजेश चौधरी सम्पन्न प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बने। उनी ८ गोल गर्न सफल भए।

‘ए’ डिभिजन लिग खेलेका ९ खेलाडी सम्मिलित बिबिसीले पुलिसलाई एन्फा मुख्यालयको मैदानमा सुरुआतबाट नै दबाबमा राखेको थियो। त्यसअघि खेलको छैटाैं मिनेटमा कप्तान जय गुरुङले प्रहार गरेको फ्रिकिकमा अन्जल महर्जन चुक्दा बिबिसीले सुरुआती अग्रता लिने अवसर गुमाएको थियो। अन्जलको हेडर प्रयास गोल पोस्टनजिकैबाट बाहिरिएको थियो।

निर्णायक गोल गरेका ब्रिजेश चौधरी सम्पन्न प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बने। उनी ८ गोल गर्न सफल भए।


प्रतियोगिताका सबै खेलमा अपराजित रहेको बिबिसीविरुद्ध पुलिसले पहिलो हाफमा एक पटक मात्र मौका सिर्जना गरेको थियो। तर उक्त अवसरलाई बिबिसीका गोलकिपर आकाश रानाभाटले उत्कृष्ट बचाउ गरेका थिए। पुलिसका कुशल फुयालको कडा प्रहार गोलकिपरले उत्कृष्ट बचाउ गर्दा पुलिस प्रयास विफल भएको थियो।

पहिलो हाफमा पछि परेको पुलिसले दोस्रो हाफमा सुधारिएको खेल प्रस्तुत ग-यो। यद्यपि गोल फर्काउन सकेन। पुलिसका विशाल बस्नेतले दोस्रो हाफको दोस्रो मिनेटमा ३६ यार्ड टाढाबाट प्रहार गरेको कडा सट गोलपोस्टको माथिल्लो बारनजिकैबाट बाहिरिएको थियो। ५२औं मिनेटमा बिबिसीका रक्षक रोशन दोङको कमजोरीको फाइदा उठाउँदै पुलिसका सन्जु सेनले अवसर निकाले पनि सदुपयोग गर्न सकेनन्। पछि परेको पुलिसले दोस्रो हाफमा खेलमा फर्किन प्रयास निरन्तर प्रयास ग-यो। ७०औं मिनेटमा पुलिसका सन्जु सेनको क्रसमा रविन राईको हेडर पोस्टबाट थोरै बाहिरिँदा पुनः पुलिसले चुकचुकाउनुपरेको थियो। अन्तिम समयतिर प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिस खेलमा फर्किन प्रयास गरे रक्षात्मक बनेको बिबिसीविरुद्ध खुलेर बल नियन्त्रणमा लिन सकेनन् र उपविजेतामा सीमित बन्यो।

रोमाञ्चक जित निकालेको बिबिसीले उपाधिसँगै ३ लाख रुपैयाँ पुरस्कार पायो। यस्तै उपविजेता बनेको पुलिसले १ लाख ५० हजार हात पा¥यो। अघिल्लो संस्करणमा बिबिसी च्याम्पियन हुँदा सहायक प्रशिक्षक रहेका सुवित कार्कीले खेलाडीको मिहिनेत र ‘ए’ डिभिजन लिगमा खेलाडीको अनुभवले उपाधि जित्न सम्भव भएको बताए।

‘एन्फा एकेडेमीले रिलिज गरेका केही खेलाडी र ‘ए’ डिभिजन लिग खेलेका खेलाडीलाई संयोजन गर्दै टोली निर्माण गरेकाले टिम बलियो थियो,’ प्रशिक्षक सुवितले भने, ‘पहिलो हाफमा नै आक्रामक खेल्दै स्कोर निकाल्ने र उपाधि रक्षा गर्ने रणनीति सफल भयो। प्रतियोगितामा एकपछि अर्को उत्कृष्ट खेल देखाइरहेको पुलिसले दोस्रो हाफमा राम्रो खेल खेल्यो। कडा चुनौती दियो।’

उता पहिलो पटक टोलीको जिम्मेवारी सम्हाल्दै आफ्नो टोलीलाई फाइनल पु¥याउन सफल पुलिसका प्रशिक्षक तथा राष्ट्रिय टोलीका पूर्वखेलाडी भोलानाथ सिलवालले बलियो टोलीविरुद्ध आफ्नो टोलीले गरेको प्रदर्शनमा आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिए।

‘बिबिसीमा अधिकांश खेलाडीमा ‘ए’ डिभिजन लिग खेलेको अनुभव छ,’ प्रशिक्षक सिलवालले भने, ‘सामान्य मार्किङ गर्न नसक्नुले हामी पहिलो हाफमा पछि पर्नुप-यो। बलियो टोलीविरुद्ध पनि हाम्रा खेलाडीले राम्रो प्रदर्शन गर्दै कडा चुनौती दिए। उनीहरूको खेलमा म सन्तुष्ट छु।’

एन्फाका पूर्वउपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा सञ्चालन गरिएको चौथो संस्करणको प्रतियोगितामा उत्कृष्ट गोलकिपर आर्मीका विशाल सुनार घोषित हुँदा पुलिसका विशाल बस्नेत उत्कृष्ट रक्षक घोषित भए। यस्तै उपाधि विजेता बिबिसीका शिशिर लेखी उत्कृष्ट मिडफिल्डर घोषित हुँदा बिबिसीका लागि फाइनलमा निर्णायक गोल गरेका ब्रिजेस चौधरी उत्कृष्ट फरवार्ड घोषित भए भने बिबिसीका सवित कार्की उत्कृष्ट प्रशिक्षक चुनिए। उत्कृष्ट सबैले जनही १० हजार रुपैयाँ हात पारे।

१४ टोलीलाई दुई समूहमा विभाजन गरी सञ्चालन गरिएको प्रतियोगितामा प्रत्येक समूहका शीर्ष दुई टोलीसहित उत्कृष्ट दुई तेस्रो टोली नकआउट चरणमा प्रवेश गरेका थिए।

प्रकाशित: ६ श्रावण २०७६ ०५:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App