१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

स्टार्क र आर्चरबीच बलिङ भिडन्त

अभ्यासका क्रममा अस्ट्रेलियाली खेलाडी । तस्बिरः नागरिक

बर्मिङ्घम– विश्वकप उपाधि रक्षाको लक्ष्यका साथ इङ्ल्यान्ड भ्रमणमा निस्किएको साबिक विजेता अस्ट्रेलिया बिहीबार दोस्रो सेमिफाइनलमा आयोजकको चुनौती पन्छाउँदै उपाधियात्रामा थप एक कदम अघि बढ्न चाहन्छ।

९ खेलबाट ६ मा जित निकाल्न सफल इयोन मोर्गानको टोली इङ्ल्यान्ड तेस्रो स्थानमा बन्दै अन्तिम चारमा प्रवेश गरेको थियो। अस्ट्रेलिया भने दुई खेलअगावै अन्तिम चारमा प्रवेश गर्ने पहिलो टोली बनेको थियो।

आयोजक इङ्ल्यान्ड अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दा उच्च मनोबलमा हुनेछ। घरेलु समर्थकको साथ पाउने इङ्ल्यान्ड दबाबरहित रहेर खेल्नेछ। यस्तै अस्ट्रेलिया पनि उपाधि रक्षा गर्ने लक्ष्यसहित जितको खोजीमा मैदान उत्रिनेछ।

दुवै टोली जितको खोजीमा रहँदा कप्तान दबाबमा रहनेछन्।यद्यपि दुवै कप्तानले दबाबलाई शक्तिमा बदल्दै प्रतिस्पर्धा गर्नेछन्।

एकदिवसीय विश्वकपमा पुनः उदाउन लागेको इङ्ल्यान्ड २७ वर्षपछि पहिलो पटक सेमिफाइनमा प्रतिस्पर्धा गर्दा इयोन मोर्गानले टोलीको कप्तानी सम्हाल्दै छन्। ३२ वर्षीय अनुभवी ब्याट्सम्यान घरेलु दर्शकलाई सुखद नतिजा दिलाउने उद्देश्य छन्। अस्ट्रेलियन कप्तान एरोन फिन्चको रणनीति विफल पार्ने मोर्गानको लक्ष्य रहेको छ। कठिन प्रतिद्वन्द्वी भारत र न्युजिल्यान्डलाई हराउँदै मनोबल बटुलेको इङ्ल्यान्ड अस्ट्रेलियामाथि पनि जित निकाल्दै इतिहास रच्ने लक्ष्यमा रहेको छ।

छैटौं पटक सेमिफाइनल पुगेको अस्ट्रेलियालाई रोक्नु इङ्ल्यान्ड टोलीका लागि निकै चुनौतीपूर्ण छ। इतिहास हेर्दा अस्ट्रेलिया सेमिफाइनल प्रवेश गरेका सबै संस्करणमा विजेता बन्न सफल भएको छ। त्यसैले अस्ट्रेलिया दबाबरहित रहेर आयोजकविरुद्ध कुनै दबाबमा खेल्नेछ। पाँच पटकको च्याम्पियन अस्ट्रेलियाले लिग चरणका सात खेलमा जित निकालेको थियो भने दुई खेल गुमाएको थियो। यस्तै लिगको खेलमा अस्ट्रेलियाले ६४ रनको जित निकाल्न सफल भएको थियो। दुवै टोली जितको खोजीमा रहँदा कप्तान दबाबमा रहनेछन्। यद्यपि दुवै कप्तानले दबाबलाई शक्तिमा बदल्दै प्रतिस्पर्धा गर्नेछन्।

दुवै टोलीका ओपनर लयमा छन्। यस कारण पनि दुवै टोली ढुक्क छन्। जोनी बेयस्र्टाे इङ्ल्यान्डका लयमा रहेका खेलाडी हुन् भने डेविड वार्नर अस्ट्रेलियन टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन्। बेयस्र्टाेले जारी विश्वकपमा दुई शतक प्रहार गरेका छन्। भारतविरुद्ध १ सय ११ रन जोड्दा न्युजिल्यान्डविरुद्ध एक सय रन बनाएका थिए।

दक्षिण अफ्रिकासँगको टेस्ट खेलमा बल टेम्परिङको कारबाहीपछि खेलमा फर्किएका वार्नरले उत्कृष्ट खेल प्रदर्शन गर्दै पुनः टोलीमा आफूलाई स्थापित गरेका छन्। वार्नर जारी विश्वकपमा तीन शतकसहित कुद ६ सय ३८ रन जोडेका छन्। दुवै टोलीका तीव्र गतिका बलर मिचेल स्टार्क र जोफ्रा आर्चरबीचको भिडन्त पनि बिहीबार हुनेछ। स्टार्क अस्ट्रेलियाका मुख्य हतियार हुन्। उनले २६ विकेट लिएका छन्। उता २४ वर्षीय आर्चरले भने जारी प्रतियोगितामा १७ विकेट लिएका छन्। उनीसँगै क्रिस ओक्स अस्ट्रेलियन टोलीका लागि टाउको दुखाइको विषय हुनेछ। ओक्स पनि जारी विश्वकपमा उत्कृष्ट लयमा छन्। उनकै बलिङमा लिग चरणको खेलमा मुख्य ब्याट्सम्यान वार्नर, फिन्च र स्टिभ स्मिथ पवेलियन फर्किएका थिए।

सम्पन्न खेलबाट इङ्ल्यान्डले कुल २ हजार २ सय ५४ रन जोड्दा, अस्ट्रेलियाले कुल २ सय ८४ रन जोडेको छ। यद्यपि अस्ट्रेलियाका ब्याट्सम्यान शीर्ष रन बनाउनेको सूचीको शीर्ष छन् भने इङ्ल्यान्डका खेलाडी सूचीमा छैनन्।

डेविड वार्नर सर्वाधिक रन बनाउनेको दोस्रो स्थानमा रहँदा भारतका रोहित शर्मा पहिलो सूचीमा छन्। वार्नरको ६ सय ३८ रन छ भने रोहित शर्माको ६ सय ४८ रहेको छ। यस्तै अस्ट्रेलियन कप्तान एरोन फिन्च ५ सय ७ रनका साथ शीर्ष पाँचमा अटाउँदा जारी विश्वकपका ९ खेलमा ५ सय रन बनाएका जो रुट छैटौं स्थानमा छन्। इङ्ल्यान्डका वेयस्र्टाे ४ सय ६२ रनका साथ आठौं स्थानमा रहँदा ३ सय ८१ रन बनाएका बेन स्टोक्स ११औं स्थानमा छन्।  सम्पन्न लिग चरणका खेलमा इङ्ल्यान्डले ७१ विकेट निकाल्दा अस्ट्रेलियाले ५५ विकेट निकालेको छ।

विश्वकप क्रिकेट इतिहासमा यी दुई टोली ८ पटक आमनेसामने भएका छन्। जसमा अस्ट्रेलियाले सर्वाधिक ६ पटक नतिजा सुखद बनाएको छ भने दुई पटक मात्र इङ्लिस टोलीले आफ्नो पक्षमा पार्न सफल भएको छ।

प्रकाशित: २६ असार २०७६ ०६:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App