९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

भोलिदेखि मुख्यमन्त्री कप फुटबल

उदयपुर – पहिलो पटक आयोजना हुन लागेको ‘प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिता ०७६’ सोमबारदेखि उदयपुरबाट सुरु हुँदैछ। अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय कार्यालयको आयोजनामा हुने प्रतियोगिता उदयपुर, इलाम, धरान र विराटनगरमा आउँदो ३० गतेसम्म सञ्चालन हुने गाईघाटमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

जिल्ला फुटबल संघ उदयपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा चारवटै स्थानमा हुने खेलको तालिका सार्वजनिक गरिएको छ। तालिकाअनुसार उदयपुरमा उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र मोरङ गरी पाँच जिल्लाका खेलाडी टिमबीच प्रतिस्पर्धा हुनेछ। सोमबार दिउँसो गाईघाटस्थित थरुहट–उदयपुर रंगशालामा २ बजे हुने उद्घाटन खेलमा खोटाङ र मोरङबीच प्रतिस्पर्धा हुनेछ।

सोमबार नै अपरान्ह ४ बजे हुने अर्को खेलमा उदयपुर र सोलुखुम्बुबीच प्रतिस्पर्धा हुने खेल संयोजक जिल्ला फुटबल संघ उदयपुर अध्यक्ष रञ्जन कार्कीले बताए। उनका अनुसार १७ गते हुने तेस्रो दिनको खेलमा मोरङ र ओखलढुंगाबीच प्रतिस्पर्धा हुनेछ भने १८ गते सोलु र ओखलढुंगाबीच र दोस्रो खेल मोरङ र उदयपुरबीच हुनेछ।

त्यस्तै १९ गतेको खेलमा मोरङ र सोलुबीच स्पर्धा हुनेछ भने २० गते खोटाङ र ओखलढुंगाबीच प्रतिस्पर्धा हुनेछ। अन्तिम दिन २१ गते पहिलो चरणमा खोटाङ र सोलुबीच तथा दोस्रो खेल उदयपुर र ओखलढुंगाबीच हुनेछ।

एन्फाका केन्द्रीय प्रवक्ता किरण राईले यो प्रतियोगिता प्रदेशस्तरमा पहिलो पटक आयोजना गर्न लागिएको ऐतिहासिक र महत्वपूर्ण खेल भएको बताए।

मुख्यमन्त्री शेरधन राईले प्रदेश १ लाई फुटबलको राजधानी बनाउने घोषणा गरिसकेको भन्दै उदयपुरमा हुने ५ जिल्लाबीचको खेल सफल बनाउन सबैसँग आग्रह गरे।

प्रदेशका १४ वटै जिल्लाको सहभागिता रहने प्रतियोगिताको सार्वजनिक तालिकाअनुसार सुनसरीको धरान रंगशालामा १७ देखि २२ गतेसम्म हुने प्रतिस्पर्धामा सुनसरी, संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटाको सहभागिता रहनेछ। त्यसै गरी इलामको ठूलो टुँडीखेलमा १८ गतेदेखि २१ गतेसम्म हुने खेलमा इलाम, पाँचथर, ताप्लेजुङ र झापाबीच प्रतिस्पर्धा हुनेछ।

उदयपुर, धरान र इलामका विजेता र उपविजेता २/२ टिमबीचको प्रतिस्पर्धा आउँदो २६ देखि २८ गतेसम्म विराटनगरस्थित सहिदस्मृति रंगशालामा हुनेछ।

विराटनगरमै ३० गते हुने फाइनल खेलमा विजेतालाई पाँच लाख नगद र मुख्यमन्त्री ट्रफी प्रदान गरिनेछ। उपविजेतालाई तीन लाख नगद र उत्कृष्ट टिमलाई सान्त्वना पुरस्कारस्वरुप ७५ हजार पुरस्कार प्रदान गरिने आयोजक एन्फाले जनाएको छ।

प्रकाशित: १५ असार २०७६ १२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App