१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

खेलाडीलाई नगद पुरस्कार प्रदान

तस्बिर सौजन्यः राखेप

 काठमाडौं – गत वर्ष विभिन्न खेलमा अन्तर्राष्ट्रिय सफलता पाएका खेलाडीले पूर्वघोषित नगद पुरस्कार बिहीबार पाएका छन्। सन् २०१६ मा भएको १२औं सागअन्तर्गत फुटबलमा स्वर्ण दिलाएका नेपाली राष्ट्रिय पुरुष टोलीका सदस्यसहित विभिन्न समयमा अन्तर्राष्ट्रिय सफलता पाएका खेलाडीलाई सरकारले सम्मान गरेको हो।

पूर्वघोषित पुरस्कारअनुरूप बिहीबार युवा तथा खेलकुद मन्त्रालयले सिंहदरबारस्थित आफ्नै सभाकक्षमा क्रिकेट, फुटबल र शारीरिक सुगठन खेलाडीलाई नगद पुरस्कार प्रदान गरेको थियो।

खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिना र सदस्यसचिव केशवकुमार विष्टले खेलाडीलाई पुरस्कृत गरेका थिए। गत माघमा संयुक्त अरब इमिरेट्स (युएइ) मा नेपाल र युएईबीच भएको समान तीन एकदिवसीय र ट्वान्टी–२० क्रिकेट शृंखला जितेको नेपाली क्रिकेट टोलीका प्रत्येक खेलाडीले ५ लाख रुपैयाँका दरले नगद पुरस्कार पाएका हुन्। दुवै शृंखला नेपालले २–१ ले जितेको थियो।

पुरस्कृत खेलाडीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, वसन्त रेग्मी, पवन सर्राफ, सन्दीप जोरा, भीम सार्की, प्रदीप ऐरी, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, विनोद भण्डारी, अविनाश बोहरा, रोहितकुमार पौडेल र मोहम्मद आरिफ शेख छन्। सोही अवसरमा प्रशिक्षक जगतबहादुर टमाटाले ३ लाख तथा ब्याटिङ प्रशिक्षक उमेश भादुरसिंह पटवाल, फिजियो दिनेश भट्ट, ट्रेनर नन्डियाडा सुवासचन्द्र पात्रो र व्यवस्थापक रमन सिवाकोटीले समान २÷२ लाख रुपैयाँ प्राप्त गरे।

भारतको गुवाहटीमा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा स्वर्ण जितेका नेपाली पुरुष फुटबल टोलीका खेलाडीले जनही ३ लाख रुपैयाँ प्राप्त गरेका थिए। नगद पुरस्कार प्राप्त गर्ने खेलाडीमा विकेश कुथु, एलन न्यौपाने, अमृतकुमार चौधरी, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी, कमल श्रेष्ठ, मनबहादुर तामाङ, जगजित श्रेष्ठ, विशाल राई, विक्रम लामा, हेमन गुरुङ, प्रकाश बुढाथोकी, सुनील बल, रञ्जन विष्ट, सुमन लामा, अञ्जन विष्ट, नवयुग श्रेष्ठ र विमल घर्तीमगर छन्।

स्वर्ण विजेता फुटबल टोलीका खेलाडीलाई ५ लाख दिने भनिएकोमा यसअघि २०७३ साल साउन १३ गते जनही २ लाख रुपैयाँ मात्र दिइएको थियो। बाँकी रहेको ३ लाख प्रदान बिहीबार प्रदान गरिएको हो। गत डिसेम्बरमा थाइल्यान्डमा सम्पन्न १०औं विश्व शारीरिक सुगठन प्रतियोगिताको पुरुष ७५ केजीमा स्वर्ण विजेता महेश्वर महर्जन पनि नगद ५ लाख रुपैयाँबाट पुरस्कृत भए।

क्रिकेटमा ९१ लाख, फुटबलमा ६० लाख र शारीरिक सुगठनमा ५ लाख गरी कुल १ करोड ५६ लाख रुपैयाँ वितरण गरिएको थियो। क्रिकेटमा ९ र फुटबलमा ४ जना मात्र उपस्थित थिए। कारणवश उपस्थित हुन नसकेका क्रिकेटको पुरस्कार प्रशिक्षक टमाटा तथा फुटबलको पुरस्कार अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पालाई हस्तान्तरण गरिएको थियो। गत माघ २५ गतेको मन्त्रिपरिषद् बैठकले तीनै खेलका खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो।

प्रकाशित: २० वैशाख २०७६ ०२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App