पाँचथर– पाँचथर जिल्लाको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘पाँचथर गोल्डकप’को तेश्रो संस्करण शनिबारबाट सुरु हुदैछ। प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लब, विदेशी क्लब सहित १ नम्बर प्रदेशका चर्चित क्लबहरु गरी दश टिम सहभागी हुनेछन्।
जिल्ला सदरमुकाम फिदिममा हुने प्रतियोगिताको तयारी पुरा भएको आयोजक पाँचथर क्लबका अध्यक्ष निशान शिवाकोटीले जानकारी दिए। फिदिम माविको खेलमैदानमा हुने शनिबारको उद्घाटन खेलमा डिएफसी मोरङले मिसन युनाइटेड ताप्लेजुङको सामना गर्नेछ। विभिन्न क्लबबाट अनुभवी खेलाडीहरु फिदिम आउने भएकाले फिदिममा फुटवलको माहोल तात्ने अनुमान भइरहेको छ।
प्रतियोगिताको विजेता टिमले ४ लाख रुपैयाँ नगद र ट्रफि पाउने छ। उपविजेताले भने २ लाख रुपैयाँ नगद र ट्रफिमा चित्त बुझाउनु पर्ने छ।
प्रतियोगितामा आयोजक पाँचथर क्लब सहित मोरङ, ताप्लेजुङ, हिमालयन शेर्पा क्लब काठमाण्डौँ, जाउलाखेल युथ क्लब ललितपुर, दार्जेलिङ युनाईटेढ भारत, विजय युथ क्लब हेटौडा, विर्तामोड युनाईटेड क्लब झापा, रेड हर्ष इलामको सहभागिता रहने छ। दर्शकहरुले बाँसको अस्थायी प्याराफिटमा बसेर खेल हेर्ने व्यवस्था गरिएको अध्यक्ष शिवाकोटीले जानकारी दिए।
बैशाख २ गतेसम्म चल्ने प्रतियोगिता ४३ लाख रुपैयाँ खर्चिएर सम्पन्न गर्ने आयोजकको लक्ष्य रहेको छ। प्रतियोगितामा विधागत पुरस्कारहरु पनि राखिएको आयोजकले जानकारी दिएको छ।
प्रकाशित: २२ चैत्र २०७५ १०:२९ शुक्रबार