२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

आर्मीलाई झापा गोल्डकपको उपाधि

दमक – घरेलु मैदानमा झापा ११ लाई हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लबले चौथो झापा गोल्डकपको उपाधि जितेकोे छ। सोमबार भएको फाइनल खेलमा झापा ११ लाई ५–३ गोलले पराजित गर्दै आर्मीले उपाधि चुमेको हो।

उपाधि जितेसँगै आर्मीले नगद १२ लाख ५५ हजारसहित ट्रफी हात पार्याे। उपविजेता बनेको झापाले नगद ६ लाख ५ हजारमा चित्त बुझाउनुपर्याे। बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सम्पन्न प्रतिस्पर्धात्मक फाइनल खेलमा आर्मीले जितका लागि पहिलो हाफमा २ र दोस्रो हाफमा ३ गोल गर्याे।

झापाले भने पहिलो हाफमा एक र दोस्रो हाफमा २ गोल गरेको थियो। खेलको २४ मिनेटमा आर्मीका सन्तोष तामाङले फ्रिकिकमार्फत  आर्मीको खाता खोलेका थिए। उनले व्यक्तिगत २ गोल गरे। आर्मीका तर्फबाट कप्तान भरत खवास, टेकबहादुर बुढाथोकी, नवयुग श्रेष्ठले थप गोल गरे। झापाका तर्फबाट योगेश गुरुङ, विदेशी खेलाडी फान्सिस र भिक्टोरले गोल गरेका थिए। 

झापा गोल्डकपको फाइनलमा झापा र आर्मीको यो तेस्रो भेट हो। आर्मीले झापालाई नै पराजित गर्दै पहिलो र तेस्रो सिजनको उपाधि हात पारेको थियो। झापा ११ भने चौथो पटक फाइनलमा पुगे पनि उपाधि हात पार्न सकेन। दर्शकको भरपूर समर्थन पाएको झापा तीन विदेशी खेलाडीसहित आफ्ना नियमित स्ट्राइकर कर्ण लिम्बु, डिफेन्डर देवेन्द्र तामाङ, दिलेन लोक्तामसहित मैदान उत्रेको थियो। आर्मी पनि आफ्ना नियमित फरवार्ड नवयुग श्रेष्ठ, भरत खवास र गोलरक्षक विकेश कुथुसहितका केही राष्ट्रिय खेलाडीसहित झापासँग भिडेको थियो। 

प्रतियोगिताको मस्ट भ्यालुएवल प्लेयर झापाका दिलेन लोक्ताम घोषित हुँदै एक थान मोटरसाइकल पाए। उत्कृष्ट रक्षक झापाकै देवेन्द्र तामाडले २१ हजार, राइजिङ प्लेयर निशान्त खड्काले १५ हजार, उत्कृष्ट प्रशिक्षक आर्मीका चुनबहादुर थापाले २१ हजार, उत्कृष्ट किपर विकेश कुथुले २१ हजार र म्यान अफ दी म्याच आर्मीका सन्तोष तामाङले नगद १५ हजार पाए। त्यस्तै, सर्वाधिक गोलकर्ता आर्मीका नवयुग श्रेष्ठले ३ गोल गर्दै नगद २१ हजार पाउन सफल भए। यस वर्ष लाइफ टाइम अचिभमेन्ट अवार्ड झापाका पूर्वखेलाडी नरेन्द्रमणि लिम्बुलाई प्रदान गरियो। उनलाई एउटा यामाहा मोटरसाइकल प्रदान गरियो।

विजेता टोलीलार्ई कांग्रेस नेता कृष्णप्रसाद सिटौला र प्रदेश १ का आन्तरिक मामिलामन्त्री हिक्मत कार्कीले पुरस्कार वितरण गरे। प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लबसहित नेपालका ९ र हङकङको एक गरी १०  टोली सहभागी थिए।। तीन विभागीय टोली त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल र नेपाल पुलिसका साथै क्यामरुनी क्लब दाउफिन्स, थ्री स्टार क्लब, मोरङ ११ फुटबल क्लब, रूपन्देही फुटबल क्लब, सहारा क्लब पोखरा र हङकङ नेप्लिज एकाडेमीले समेत सहभागिता जनाएका थिए। 

प्रकाशित: २८ फाल्गुन २०७५ ०३:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App