२७ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

माइभ्याली गोल्डकप : दार्जिलिङको विजयी सुरुआत

माइभ्याली गोल्डकपको उद्घाटन खेलमा भिड्दै आयोजक माइभ्याली क्लब (सेतो जर्सी) र दार्जिलिङ युनाइटेडका खेलाडी। तस्बिर : भीम/नागरिक

इलाम - इन्जुरी समयमा गरेको गोलसँगै भारतको दार्जिलिङ युनाइटेडले पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपमा विजयी सुरुआत गरेको छ। निर्धारित समयमा दुवै टोली गोलरहित बराबरी भएपछि इन्जुरी समयममा दार्जिलिङ युनाइटेडले आयोजक माइभ्याली क्लबलाई १–० गोलअन्तरले हराएको हो। 

पहिलो पटक इलामको ठूलो टुँडिखेलमा प्रवेश गरेको दार्जिलिङका देवाशिष राईको प्रहार नै निर्णायक बन्यो । दार्जिलिङका लेन्डुप भुटियाले दिएको पास सदुपयोग गर्दै देवाशिषले गरेको निकै शक्तिशाली प्रहारले जाली चुम्यो । खेलको सुरुदेखि नै आयोजकलाई दबाबमा राखेको दार्जिलिङका खेलाडीले गरेका आधा दर्जन प्रहार खेर गए। 

पहिलो हाफमा आयोजक क्लबका पासाङ शेर्पाले डी बक्सभित्रबाट गरेका शक्तिशाली प्रहार विपक्षी दार्जिलिङका सनम लेप्चाले जोगाए । दार्जिलिङकै इन्द्रजित भण्डारीले दिएको सुन्दर पासलाई सदुपयोग गर्दै करण राईले वान भर्सेस वानको अवस्थामा गरेको प्रहार आयोजकका बलरक्षक मनोज प्रधानले सुन्दर बचाउ गरे । दार्जिलिङका कप्तान गणेश लिम्बुले पनि विपक्षको डी एरियामा पाएका राम्रा अवसर गुमाए। 

दोस्रो हाफमा खेल सुधारेको आयोजक माइभ्यालीले पाएका धेरैवटा अवसर चुकाउँदा पहिलो खेलमै चित्त बुझाउनुपर्यो । माइभ्यालीका पासाङ शेर्पाले झन्डै आधा दर्जन अवसर चुकाए । इलामकै दर्शन गुरुङले विपक्षीको गोलपोस्टनजिकै पाएको अवसर सदुपयोग गर्न सकेनन् । उद्घाटन खेलको म्यान अफ दी म्याच हुँदै दार्जिलिङ युनाइटेडका वाङ्देन तामाङले नगद १० हजार हात पारे। 

विजेता दार्जिलिङका प्रशिक्षक प्रभाकर सुब्बाले आफ्नो टोलीले सोचेअनुसार प्रदर्शन गर्न नसके पनि विजयी भएको बताए। ‘हामीले यसअघि जस्तो खेल प्रदर्शन गर्यो, आज पहिलोचोटि यो मैदानमा खेल्दा खेल सन्तोषजनक रह्यो,’ उनले भने, ‘आउँदो खेल निकै सुधार भएर जानेछ।’ यो सिजनमा भारतका विभिन्न स्थानमा भएका ९ प्रतियोगिता आफ्नो टोलीले जितेको उनले बताए। आयोजक माइभ्यालीका प्रशिक्षक दर्शन भक्तराजले पाएका अवसर चुकाउनाले आफ्नो टोली पराजित भएको बतााए। ‘दोस्रो हाफमा हाम्रो टोलीले राम्रो खेलेको हो तर पाएका अवसर गुमाएकाले हात बेहोर्नुपर्यो,’ उनले भने, ‘खेलाडबीच अन्डरस्ट्यान्डिङ नभएकाले अवसर चुकेको देखियो।’  

माइभ्याली गोल्डकप पाँचौ संस्करणको उद्घाटन १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले गरेका थिए। गोल्डकपमा देश र बाहिरका १० टोली सहभागी छन्। चैत ५ सम्म चल्ने प्रतियोगितामा दार्जिलिङ युनाइटेडसँगै मेची नेत्रालय, हिमालयन शेर्पा र दाउफिन्स क्लब इलामे मैदानमा पहिलो पटक उत्रिँदै छन्। सोमबारको खेल हिमालयन शेर्पा क्लब र हङकङस्थित नेप्लिज फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ।  विजेताले नगद ७ लाखसहितको ‘मेयर्स कप’ र उपविजेताले ४ लाख रुपैयाँ पाउनेछन्।

प्रकाशित: २७ फाल्गुन २०७५ ०३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App