५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

दाउफिन्स सेमिफाइनलमा

दमक - रूपन्देही ११ लाई २–० ले पराजित गर्दै क्यामरुनको दाउफिन्स फुटबल क्लब झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । तीनवटा प्रतिष्ठित गोल्डकपको उपाधि हात पार्न सफल क्यामरुनी क्लबको जितसँगै झापा गोल्डकपको पहिलो चरणका खेल सकिएका छन् ।

दाउफिन्सले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आर्मीले यसअघि सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । पोखरामा भएको आहा रारा गोल्डकपको सेमिफाइनलमा आर्मीले दाउफिन्सलाई १–० ले पराजित गरेको थियो । 

दाउफिन्सले खेलको ३८औं मिनेटमा अग्रता लिएको थियो । रूपन्देहीका पेपी अडामाले दाउफिन्सका मिसोउली इटिग्नेलाई डी बक्सभित्र फाउल गरेपछि दाउफिन्सले पेनाल्टी पायो । पेनाल्टीमा दाउफिन्सका पेटन्गाले गोल गरेका थिए । पहिलो हाफमा १–० ले पछाडि परेको रूपन्देहीले खेल बराबरी गर्ने प्रयास गरे पनि सफल भएन । उल्टो खेलको ८७औं मिनेटमा मैदानको मध्यभागबाट मिसोउली इटिग्नेले गरेको प्रहारले जाली चुमेसँगै दाउफिन्सले अग्रता दोब्बर बनायो । रूपन्देहीका गोलरक्षक अगाडि बढेको समयमा मैदानको मध्यभागबाट इटिग्नेले पोस्टमा प्रहार गरेका थिए । 

खेलको अधिकांश समय रूपन्देहीले बललाई आफ्नो पकडमा राख्न सफल भए पनि पोस्टमा गरेको प्रहार फितलो हुँदा टोली गोल गर्ने अवसरबाट वञ्चित भयो । खेलको २३औं मिनेटमा रूपन्देहीका लागि विदेशी खेलाडी मन्सा विअभोगीले डी एरियामा मिलाइदिएको पासलाई नीरबहादुर बलले कडा प्रहार गरे पनि दाउफिन्सका गोलरक्षक प्रिसो जाङगाले उत्कृष्ट बचाउ गरेका थिए । ३२औं मिनेटमा दाउफिन्सका टिनाले खाली पोस्टमा गोल गर्न सकेनन् । ७७औं मिनेटमा टिना टिनाले वान भर्सेस वान गोल गर्न सकेनन् । खेलको म्यान अफ दी म्याच विजेता टोलीका  मिसोउली इटिग्ने घोषित भए । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार पाए । दाउफिन्सले यो सिजनमा तिलोत्तमा, मनकामना र बुढासुब्बा गोल्डकपको उपाधि हात पारिसकेको छ ।

शुक्रबारको पहिलो सेमिफाइनल खेल मगमग झापा ११ र रुस्लान थ्री स्टार क्लबबीच हुनेछ । खेलपछि विजेता टोली दाउफिन्सका मेनेजर आशिक थापामगरले टोलीले सन्तोषजनक नतिजा दिएको बताए । उनले दाउफिन्सले खराब प्रदर्शन गर्छ भन्ने आरोपको खण्डन भएको बताए । उनले त्यस विषयमा खेलाडीलाई सचेतसमेत गराएको उल्लेख गरे । पराजित टोली रूपन्देहीका प्रशिक्षक दयाराम सापकोटाले सुरुमा पाएका अवसर सदुपयोग हुन नसकेपछि दबाबमा खेल्नुपर्दा परिणाम आफ्नो पक्षमा नपरेको बताए । उनले शारीरिक रूपमा बलिया खेलाडीसँग आफ्ना खेलाडीले सन्तोषजनक प्रदर्शन गरेको बताए । 

 

प्रकाशित: २४ फाल्गुन २०७५ ०२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App