१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

सिप्यान अवार्ड : सन्दीप उत्कृष्ट पुरुष खेलाडी

उदीयमान खेलाडीको पुरस्कार ग्रहण गर्दै रोहितकुमार पौडेल । तस्बिरः नागरिक

काठमाडौं – युवा लेग स्पिनर सन्दीप लामिछाने वर्षको उत्कृष्ट पुरुष खेलाडी घोषित हुँदा नेपाली राष्ट्रिय टोलीका सदस्य करण केसीले वर्षको उत्कृष्ट क्षणको अवार्ड हात पारेका छन्। 

क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले मंगलबार आयोजना गरेको अवार्ड कार्यक्रममा लामिछानेलाई ‘एनसिसिएस–सिप्यान क्रिकेट अवार्ड’ अन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडी उपाधि प्रदान गरेको हो। २०१८–०१९ को सिजनमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै सिप्यानले सन्दीपलाई उत्कृष्ट पुरुष खेलाडीको रूपमा मनोनयन गरेको थियो।

यसका अलावा सन्दीपसँगै वर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का, युवा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी, करण केसी र सोमपाल कामी परेका थिए। सन्दीपले अवार्डसहित नगद १ लाख ३२ हजार रुपैयाँ हात पारे। सन्दीप पाकिस्तानी सुपर लिग (पिसिएल) मा व्यस्त भएका कारण उनको तर्फबाट राष्ट्रय टोलीका कप्तान पारस खड्काले पुरस्कार ग्रहण गरेका थिए।

भोटिङको आधारमा भएको उक्त अवार्डअन्तर्गत सर्वाधिक मत प्राप्त गर्दै करण वर्षको उत्कृष्ट क्षण घोषित भएका हुन्। वर्षको उत्कृष्ट क्षण अवार्डसँगै करणले ६६ हजार नगद पुरस्कार पाएका छन्। वर्षको उत्कृष्ट क्षण अवार्डका लागि १० क्षणहरू चयन गरिएको थियो। गत वर्ष नामिबियामा भएको डिभिजन–२ मा करणले क्यानाडाविरुद्ध जित दिलाउन महत्वपूर्ण फिनिसिङ गरेका थिए। उक्त फिनिसिङ नेपाललाई एकदिवसीय क्रिकेट मान्यताका लागि महत्वपूर्ण आधार भएको थियो।

यस्तै नेपाली राष्ट्रिय टोलीका सदस्य रोहितकुमार पौडेल वर्षको उदीयमान क्रिकेट खेलाडी घोषित भए। अविनाश बोहरा, नेपाली महिला टोलीकी सदस्य कविता कुँवर, ललितनारायण राजवंशी र सन्दीप जोरालाई पछि पार्दै पौडेल अवार्ड जित्न सफल भएका हुन्। १६ वर्षको उमेरमा नै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दै विश्वकै चौथो कान्छा खेलाडी बनेका रोहितले अवार्डसँगै ६६ हजार नगद पुरस्कार पाए। रोहितले गत महिना युएईविरुद्धको एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै नयाँ कीर्तिमानसमेत बनाएका थिए। उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने संसारकै कान्छा खेलाडीसमेत बने। 

उता महिला वर्ष खेलाडी उपाधि भने राष्ट्रिय टोलीकी सदस्य सीता रानामगरले हात पारेकी छिन्। सीताले पनि नगद ६६ हजार रुपैयाँ  पुरस्कार प्राप्त गरिन्। सीताले नेपाली टोलीका कप्तान रुबिना क्षत्री, इन्दु बर्मा, करुणा भण्डारी र सरिता मगरलाई पछि पार्दै उपाधि चुम्न सफल भएकी हुन्। सीताले थाइल्यान्डमा सम्पन्न विश्वकपको एसिया छनोटमा उनकै उत्कृष्ट प्रदर्शनको मद्दतमा नेपाल उपविजेता बन्न सफल भएको थियो। यस्तै अवार्डको आयोजक सिप्यानले पूर्वक्रिकेटर कोमलबहादुर पाण्डेलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ। 

नेपाली क्रिकेटको विकासमा योगदान पुर्याएको भन्दै पाण्डेलाई अवार्ड प्रदान गरिएको हो। अवार्डसँगै पाण्डेले ६६ हजार नगद पुरस्कार पाएका छन्। सानो गौचर र सिंहदरबारको खुला चौरबाट क्रिकेट करियर सुरुआत गरेका कोमलबहादुरले पहिलो प्रतियोगिता मदन मेमोरियल शिल्डमा उत्कृष्टता हासिल गरेका थिए। कोमलबहादुर क्रिकेटसँगै फुटबल, एथ्लेटिक्स खेलका राम्रा खेलाडी मानिन्थे।

 

प्रकाशित: २२ फाल्गुन २०७५ ००:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App