३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
खेल

उपाधिका लागि श्रीभगवती र आरसिटीको भिडन्त

काठमाडौं – श्रीभगवती क्लब र रानी पोखरी कर्नर टिम (आरसीटी)ले सहिद स्मारक ‘बी’ डिभिजन लिगको दोस्रो चरणको खेलमा दोस्रो जित हात पारेका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आइतबार सम्पन्न दिनको पहिलो खेलमा श्रीभगवतीले टुसाल युवा क्लबलाई ३–१ ले र दोस्रो खेलमा आरसिटीले सातदोबाटो युथ क्लबलाई २–० ले पराजित गर्दै दोस्रो चरणमा दोस्रो जित दर्ता गरेका हुन्।
श्रीभगवतीलाई जित दिलाउन दर्शन गुरुङले दुई गोल गर्दा छिरिङपासाङ शेर्पाले एक गोल थपे। टुसालका कसिम राईलाई एक गोल फर्काए। टुसालले पहिलो हाफमा श्रीभगवतीलाई १–१ को बराबरी रोके पनि दोस्रो हाफमा समालिन नसक्दा दुई गोल बेहार्दै हार बेहोर्‍यो।

दर्शन गुरुङले ४१औं मिनेटमा गोल गर्दै श्रीभगवतीलाई अग्रता दिलाए पनि पहिलो हाफको इन्जुरी समयमा कसिम राईको गोलबाट टुसाल खेलमा फर्कियो। तर, ६०औं मिनेटमा गुरुङले व्यक्तिगत दोस्रो गोल गर्दै पुनः श्रीभगवतीलाई अग्रता दिलाए। ८१औं मिनेटमा शेर्पाले गोल गरेपछि श्रीभगवतीले टुसालविरुद्ध ३–१ को जित निकाल्यो।

लिगअन्तर्गत आइतबार नै सम्पन्न दिनको दोस्रो खेलमा संसारनन्द पलान्चोकेको दुई गोलप्रेरित आरसिटीले सातदोबाटोमाथि सहज जित दर्ता गर्‍यो। सातदोबाटोले पहिलो हाफमा आरसिटीलाई गोलरहित बराबरी रोक्यो। दोस्रो हाफमा भने पलान्चोके चम्केपछि आरसिटीले दोस्रो सफलता प्राप्त गर्‍यो।

६८औं मिनेटमा पलान्चोकेले गोल गर्दै आरसिटीलाई सुरुआती अग्रता दिलाएका थिए। ८३औं मिनेटमा पलान्चोकेले व्यक्तिगत दोस्रो गोल गर्दै आरसिटीलाई २–० को जित दिलाए। दोस्रो चरणमा दुई खेलबाट श्रीभगवती र आरसिटीले समान ६ अंक जोडेका छन्। दुवैको गोलअन्तर पनि समान ३ नै छ।

लिगको आफ्नो अन्तिम खेलमा यी दुई टोली मंगलबार भिड्नेछन्। विजेताले नै यस संस्करणको ‘बी’ डिभिजनको उपाधि उचाल्नेछ। यता, दुई खेलमै पराजित टुसाल र सातदोबाटो अंकविहीन छन्। यी दुवैको गोलअन्तर पनि समान –३ छ।
उपाधि जित्ने सम्भावना गुमाइसकेका यी दुवैले तेस्रो स्थानका लागि अन्तिम खेल मंगलबार एकअर्काविरुद्ध खेल्नेछन्। ४ टोली रहेको दोस्रो चरणको खेलपछि शीर्ष टोलीले उपाधि जित्नेछ।

प्रकाशित: २० फाल्गुन २०७५ ०५:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App