१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

दुई कराते महासंघ एउटै कित्तामा, औपचारिक घोषणा आज

काठमाडौं – समानान्तर अस्तित्व लिँदै आएका दुई कराते महासंघ अन्तत् मंगलबार एउटै भएका छन्। तर औपचारिक घोषणा भने आज (बुधबार) हुँदै छ। योसँगै करिब आठ वर्षदेखि समानान्तर दुई अस्तित्व रहेको नेपाल कराते महासंघको विवाद समाधानतर्फ मोडिएको हो। 

दावा गुरुङ अध्यक्ष रहेको नेपाल कराते महासंघ र पुरेन्द्रविक्रम लाखेले नेतृत्व गरेको अर्को कराते महासंघ भएकाले लामो समयदेखि करातेकर्मीले दुःख भोग्दै आएका थिए। गुरुङलाई राष्ट्रिय मान्यता र लाखेको महासंघलाई अन्तर्राष्ट्रिय मान्यता थियो। जसमा नेपाली करातेकर्मीले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा दुःख भोगिरहेका थिए। 

तर, यी दुवै महासंघले खेलाडीको हितका लागि एकै महासंघमा समाहित हुन निर्णय लिएपछि लामो समयदेखि रहेको विवाद समाधान हुने देखिएको छ। युवा तथा खेलकुद मन्त्रायलयले गठन गरेको विवाद समाधान कमिटीको पहलमा समानान्तर दुई अस्तित्वमा रहेका दुई महासंघ एकै हुने भएका हुन्।

राष्ट्रिय खेलकुद परिषद्(राखेप)का उपाध्यक्ष पीताम्बर तिम्सिनाको संयोजकत्वको गठित विवाद समाधान समितिको पहलमा दुई महासंघले एक हुने निर्णय गरेका छन्। मंगलबार युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा राष्ट्रिय मान्यता प्राप्त महासंघका अध्यक्ष गुरुङ र अन्तर्राष्ट्रिय मान्यता प्राप्त महासंघका अध्यक्ष लाखेले विवाद हल गर्नका लागि तदर्थ कमिटीमार्फत काम अगाडि बढाउने सहमति गरे। 

विवाद समाधानकै लागि राष्ट्रिय खेलकुद परिषद्(राखेप)का बोर्ड सदस्य शम्भू आचार्यको संयोजकत्वमा २१ सदस्यीय तदर्थ कमिटी निर्माण भएको छ। उक्त कमिटीको सह–संयोजकमा दावा गुरुङ, उपाध्यक्षमा पुरेन्द्रविक्रम लाखे, महासचिवमा हरिसरन केसी, सह–महासचिवमा ओमकृष्ण प्रसाई, सचिवद्वयमा बलराम मित्र र श्याम शेर्पा र कोषाध्यक्षमा सानुलाल श्रेष्ठ रहनेछन्। 

यस्तै सदस्यमा मिङ्मा तामाङ, ध्रुवविक्रम मल्ल, नारायण मगर, मजेन्द्र सिंह, देव लामा, यादव काफ्ले, ध्वजमान तामाङ, ताराकुमारी नेपाली, तारा ओली, रवि महर्जन, राजेन्द्र बराल र चेतन आले छन्। उक्त कमिटीलाई तीन महिनाभित्र निर्वाचन गराई विवाद समाधानतर्फ  डोर्याउन समयसीमा तोकिएको छ। 

तदर्थ कमिटीका संयोजकले नयाँ बन्ने महासंघको अध्यक्षलगायत कुनै पनि पदमा उम्मेद्वारी दिन पाउने छैनन्। साथै यसबीच हुने राष्ट्रिय प्रतियोगितालगायत सबै काम गर्न तदर्थ कमिटीलाई अधिकार प्रदान गरिएको छ। बुधबार नै एक कार्यक्रममार्पmत खेलकुद मन्त्रालयले तदर्थ कमिटीका सदस्यलाई मनोनयनपत्रसमेत प्रदान गर्नेछ। 

राखेपका उपाध्यक्ष तिम्सिनाले दुई समानान्तर महासंघको एकीकरणपछि करातेले फड्को मार्ने बताए। साथै, यो निर्णय खेलाडीको हितमा रहेको र यसले सबै खेलकर्मीलाई नयाँ उर्जा दिने तिम्सिनाले उल्लेख गरे। ‘यो निर्णयपछि विवादित अन्य खेलकुदसंघलाई पनि मिल्न बाध्य हुनेछ,’ उपाध्यक्ष तिम्सिनाले भने,‘ यदि मिलेन भने पनि दोहोरो सत्ता चलाउने अवस्था सिर्जना हुँदैन।’

यता करातेका प्रशिक्षकसमेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले दुई महासंघबीचको सहमति वास्तवमै खेलाडीको हितका लागि रहेको बताएका छन्। ‘एकीकरणले खेलाडीलाई हौसला मिल्नेछ,’ अध्यक्ष श्रेष्ठले भने, ‘एउटै प्रकृतिका संघ एक हुनु खेलाडी र महासंघका लागि पनि राम्रो हो। प्रतियोगितामा सहभागिता जनाउने समयमा खेलाडीको प्रतिस्पर्धा राम्रो हुन्छ जसका कारण खेलाडीले स्तरीय खेल प्रदर्शन गर्छन्।’

 

प्रकाशित: १५ फाल्गुन २०७५ ००:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App