१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

धनगढी प्रिमियर लिग : सिवाइसी अत्तरियालाई उपाधि जित्न १२४ रनको लक्ष्य

काठमाडौं – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेटको उपाधि जित्न सिवाइसी अत्तरियाले १२४ रनको लक्ष्य पाएको छ।  फाप्ला क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै महेन्द्रनगर युनाइटेडले २० ओभरमा सबै विकेट गुमाउँदै १२३ रन बनाएपछि अत्तरियाले फाइनल जित्न १२४ रनको लक्ष्य पाएको हो।

महेन्द्रनगरका लागि दिलिप नाथले सर्वाधिक ४३ रनको इनिङ खेले। ४१ बलको सामना गरेका नाथले ५ चौंका र १ छक्का प्रहार गरे। कुशल मल्लले २२ बलमा १ चौंका र २ छक्काको सहायतामा २५ रनको योगदान दिए।

त्यस्तै रोहितकुमार पौडेलले २० बलमा १ चौंका र १ छक्काको मद्दतमा २४, आरिफ शेखले १७ बलमा ११ र मोहम्मद नभिदले ५ बलमा १० रन जोडे।

सुब्रमनियन आनन्द २ र अमरसिंह रौटेला १ रनमा आउट हुँदा कप्तान  शरद भेषावकर, अभिनाश बोहोरा, सहाब आलम र सागर ढकाल शून्य रनमा पेवेलियन फर्किए।

अत्तरियाका लागि कप्तान दिपेन्द्रसिंह ऐरी र दिपेन्द्र रावतले समान २–२ विकेट लिए। ऐरीले ४ ओभरमा २४ रन खर्चिदा रावतले २ ओभरमा ११ रन दिए। त्यस्तै सन्नी पटेलले १ विकेट हात पारे।

समुह चरणको खेलमा अत्तरिया महेन्द्रनगरसँग ७ विकेटले पराजित भएको थियाे। त्यसैले महेन्द्रनगरविरुद्ध अत्तरियालाई समूह चरणमा व्यहोरेको हारको बदला लिने अवसर समेत हुनेछ।

तेस्रो संस्करणको विजेताले ट्रफीसहित ३० लाख नगद पुरस्कार पाउनेछन्। यस्तै उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने छन्।

प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरले (सुनको जुत्ता), म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ।

प्रकाशित: ११ फाल्गुन २०७५ ०८:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App