काठमाडौं – मंगलबारबाट हुने आइसिसी महिला एसिया छनोट प्रतियोगिता खेल्नका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली शनिबार थाइल्यान्ड पुगेकाे छ।
छनोट प्रतियोगितामा सहभागिता जनाउन लागेको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्ट, पुरुष क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमाटाले बिदाइ गरेका थिए। प्रतियोगिता सोमबारबाट यही फागुन १५ गतेसम्म थाइल्यान्डमा हुँदै छ।
सात टोलीको सहभागिता रहेको प्रतियोगितामा आयोजक थाइल्यान्डसहित नेपाल, संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, मलेसिया, कुवेत र चीन छन्। प्रतियोगिताका लागि शुक्रबार मात्रै रुबिना क्षत्रीको कप्तानीमा १४ सदस्यीय महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको थियो।
राष्ट्रिय टोलीमा पहिलो पटक अप्सरी बेगमले स्थान बनाउँदा यसअघि टिममा रहेकी डली भट्ट भने बाहिरिएकी छन्। गत महिनामा थाइल्यान्डमै भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा डली टिममा थिइन्। डलीसँगै अञ्जली चन्द, रितुकुमारी कनौजिया र सुमन विष्टलाई वैकल्पिक खेलाडीका रूपमा राखिएको छ।
छनोट प्रतियोगितामा सहभागिता जनाउन लागेको टोलीलाई राखेपका सदस्यसचिव विष्टले सफलताको शुभकामना दिए। ‘पुरुष क्रिकेटमा जस्तो महिला क्रिकेटको हकमा पछिल्लो सफलता मिलेको छ। आशाको बाटो देखिएको छ,’ सदस्यसचिव विष्टले भने, ‘आइसिसीसँग महिला खेलाडीको पारिश्रमिकको लागि पहल गर्नेछौं। कति हुन्छ भन्न सकिँदैन। केही न केही सम्बोधन पक्कै हुनेछ। महिला र पुरुषमा भने विभेद गर्नेछैनाैं।’
यस्तै महिला टोलीका प्रशिक्षक विनोद दासले समयअवधि छोटो भए पनि राम्रो प्रशिक्षण भएको बताए। ‘थाइल्यान्डमा नै भएको ट्वान्टी–२० स्मासमा भएको कमजोरीलाई सुधार गर्ने प्रयास गरेका छौं। थाइल्यान्ड र युएईविरुद्धको खेलमा भएको कमजोरीमा केन्द्रित रहेर सुधार गरेका छौं,’ प्रशिक्षक दासले भने, ‘ट्वान्टी–२० स्मासमा हामी उपविजेता बन्दै फर्किएका थियौं। तर यो पटक खुड्किलो पार गर्ने आशामा छौं।’
प्रशिक्षक दासले महिला क्रिकेटमा यसरी नै चहल पहल भइरहे पुरुष टोलीले जस्तै महिला टोलीले पनि छिट्टै विश्वकमा आफ्नो सहभागिता जनाउने बताए। यता, महिला टोलीकी कप्तान रुबिना क्षत्रीले पछिल्लो पटक भएको प्रतियोगितामा देखिएका कमीकमजोरीलाई प्रशिक्षणमा सुधारेको दाबी गर्दै हुन लागेको प्रतियोगितामा राम्रो नतिजा ल्याउनमा आपूm आशावादी रहेको बताइन्।
नेपाली टोली : रुबिना क्षेत्री बेलवासे (कप्तान), सीता रानामगर (उपकप्तान), करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, अप्सरी बेगम, ममताकुमारी चौधरी, बिन्दु रावल।
टिम अफिसियल : विनोद दास (मुख्य प्रशिक्षक), नीरा राजोपाध्याय (सहायक प्रशिक्षक), अमृता पौडेल (म्यानेजर), सकुन डानी ( फिजियो)।
नेपालको खेल तालिका
मलेसियाविरुद्ध फागुन ७ (बिहान ९ः३० बजे)
थाइल्यान्डविरुद्ध फागुन ९ (बिहान ९ः३० बजे)
युएईविरुद्ध फागुन १० (बिहान ९ः३० बजे)
हङकङविरुद्ध फागुन १२ (दिउँसो १ः३० बजे)
चीनविरुद्ध फागुन १३ (दिउँसो १ः३० बजे)
कुवेतविरुद्ध फागुन १५ (बिहान ९ः३० बजे)
प्रकाशित: ५ फाल्गुन २०७५ ०५:०६ आइतबार