काठमाडौं – लिग लिडर लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा ७ अंकको अग्रता बनाएको छ। प्रतियोगिता अन्तर्गत शनिबार राति भएको खेलमा क्रिष्टल प्यालेसमाथि ४–३ को संघर्षपूर्ण जित निकाल्दै लिभरपुलले अग्रता फराकिलो बनाएको हो।
घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुललाई जिताउन मोहम्मद सालाहले २ तथा रोबर्टो फिर्मिनो र साडियो मानेले गोल गरे। पराजित टोलीका लागि एन्द्रोस टाउनसेन्ड, जेम्स टम्पकिन्स र म्याक्स मेयरले गोल गरे।
खेलको ३४ औं मिनेटमा टाउनसेन्डको गोलमा क्रिष्टल प्यालेसले अग्रता लिएको थियो। पहिलो हाफमा १–० ले पछि परेको लिभरपुलका लागि ४६ औं मिनेटमा सालाहले बराबरी गोल फर्काए। ५३ औं मिनेटमा गोल गर्दै फिर्मिनोले लिभरपुललाई २–१ को अग्रता दिलाए। ६५ औं मिनेटमा टम्पकिन्सले लिभरपुलको कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल गरेपछि खेल पुन बराबरीमा आएको थियो।
७५ औं मिनेटमा सालाहले गोल गर्दै प्यालेससँगको दुरी ३–२ मा पुर्याए। ८९ औं मिनेटमा जेम्स मिल्नर दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि लिभरपुल १० खेलाडीमा समेटिएको थियो। इन्ज्युरी समयको तेस्रो मिनेटमा मानेले टिमका लागि चौंथो गोल गरे। त्यसको २ मिनेटपछि प्यालेसका मेयरले गोल गरेपनि त्यसपछि खेलमा फर्कने समय सकिएकाले लिभरपुल ४–३ को कठिन जित निकाल्न सफल भयो।
जितसँगै २३ खेलबाट लिभरपुलले ६० अंक बनाएको छ। एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५३ अंक छ। क्रिष्टल प्यालेस भने २२ अंकसहित १४औं स्थानमा छ।
प्रकाशित: ६ माघ २०७५ ०५:३९ आइतबार