२ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

टाइब्रेकरबाट पुलिस फाइनलमा, उपाधिका लागि थ्री स्टारसँग भिड्ने

पेनाल्टी रोकेपछि पुलिसका गोलरक्षक रोशन खड्का (बाँयाबाट दोेस्रो) । तस्बिर : नागरिक

धनगढी – टाइब्रेकरमा सीएमजी क्लब संकटालाई ५–४ ले पराजित गर्दै नेपाल पुलिस क्लब धनगढीमा जारी अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

सयाैं दर्शकले भरिएको धनगढी रंगशालामा बिहीबार निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो। खेलअवधिमा दुवै टिमले गोल गर्ने अवसरलाई सदपयोग गर्न नसक्दा टाइब्रेकरबाट नतिजा निकालिएको थियो। नतिजामा पुलिस भाग्यमानी साबित भयो।

टाइब्रेकरमा संकटाका अमित तामाङ, लक्ष्मण रुचाल, एलोन म्याक्सवेल र सरोज दाहालले गोल गरे। पाँचाैं प्रहारका लागि आएका सुभाष गुरुङको प्रहार गोलरक्षक रोशन खड्काले बचाए। पुलिसका अभिषेक रिजाल, अजित भण्डारी, हरि कठायत, तीर्थ राना र विक्रम धिमाल पेनाल्टीमा सफल भए। पेनाल्टी बचाएका पुलिसका दोस्रो रोजाइका गोलरक्षक रोशन खड्का म्यान अफ दी म्याच हुँदै १० हजार रुपैयाँ प्राप्त गर्न सफल भए।

यसअघि खेलको १३आैं मिनेटमा पुलिसले अग्रता लिने अवसर चुकायो। पुलिसका अभिषेक रिजालको क्रसमा तीर्थ रानाको हेडले हानेको बलले पोस्टको दिशा लिन सकेन। २७औं मिनेटमा गोल गरेर अग्रता लिने अवसर संकटाले गुमायो। सुभाष गुरुङको पासमा एलोन म्याक्सवेलले वन भर्सेस वनमा गरेको प्रहारलाई पुलिसका गोलरक्षक शत्रुघ्न चौधरीले बचाए। पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरीमा चित्त बुझाए।

दोस्रो हाफमा दुवै टोलीले अपेक्षाअनुसार आक्रामक खेल खेल्न सकेनन्। खेलको ८०आैं मिनेटमा संकटाले गोल गर्ने अवसर पाए पनि सफल हुन सकेन। पुलिसका गोलरक्षक शत्रुघ्न चौधरीले पन्च गरेपछि पोजिसनमा नहुँदा सुभाष गुरुङले गरेको प्रहारले पोस्टको दिशा लिन सकेन। ८५औं मिनेटमा पुलिसका रवि पासवानको क्रसमा नीरकुमार राईको प्रहारलाई गोलरक्षकले सहजै बचाए।

शनिबार थ्री स्टार र पुलिस क्लब उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ। उपविजेताले १० लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ प्रत्येक खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन्।

प्रकाशित: ४ माघ २०७५ ००:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App