१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

फराकिलो जितका साथ आर्मी फाइनलमा

सेमिफाइनलमा भिड्दै आर्मी (हरियो जर्सी) र झापा–११ का खेलाडी। तस्बिर : रितेश/नागरिक

वीरगन्ज – झापा–११ लाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब वीरगन्जमा जारी दोस्रो विशाल स्मृति फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

वीरगन्जको नारायणी रंगशालामा बिहीबार भएको दोस्रो तथा अन्तिम  सेमिफाइनलमा झापा–११ लाई हराएर आर्मीले फाल्गुनन्द गोल्डकपको हारको भपाईसमेत लिएको छ। हालै सम्पन्न फाल्गुनन्द गोल्डकपमा आर्मीलाई २–१ ले पराजित गर्दै झापाले उपाधि जितेको थियो।

प्रतियोगितामा आर्मीका लागि टेकबहादुर बुढाथोकी र सन्तोष तामाङले समान २÷२ तथा विवेक बस्नेतले एक गोल गरेका हुन्। अर्को एक गोल भने झापाका तर्फबाट आत्मघाती भएको थियो। झापाका लागि एक मात्र गोल आशिष चापागाईंले गरे।

खेल सुरु भएको दोस्रो मिनेटमै आर्मीका टेकबहादुर बुढाथोकीले पहिलो गोल गरेका थिए। त्यसपछि १४औं र २४औं मिनेटमा सन्तोष तामाङले लगातार दुई गोल हानेपछि आर्मीले पहिलो हाफको समाप्तिसम्म ३–० को अग्रता बनायो। ७०औं मिनेटमा आर्मीका विवेक बस्नेले प्रहार गरेकोे बल झापाका लक्ष्मण बोघाले रोक्ने प्रयास गर्दा खुटटामा लागेर उनकै पोस्टमा छिरेपछि आर्मी ४–० को अग्रता लिन सफल भयो।  

खेलको ७४औं मिनेटमा टेकबहादुरले गोल थपेपछि आर्मीको अग्रता ५–० मा पुगेको थियो। ७९औं मिनेटमा झापाका आशिष चापागाईंले गोल फर्काउँदै अग्रता छोट्याउने प्रयास गरेका थिए।  खेल सकिन दुई मिनट बाँकी रहँदा ८८औं मिनेटमा आर्मीका लागि विवेक बस्नेतले थप अर्को एक गोल थपेपछि आर्मीले झापामाथि ६–१ को फराकिलो जित हात पारेको हो।

खेलको म्यान अफ दी म्याच सन्तोष तामाङ घोषित भए। बिहीबारको जितसंगै आर्मीले अब उपाधिका लागि शनिबार हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ।  हिमालयन शेर्पाले आयोजक वीरगन्ज–११ लाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । वीरगन्जका राष्ट्रिय पूर्वखेलाडी स्वर्गीय विशालजंग राणाको स्मृतिमा विशाल मेमोरियल फाउन्डेसनले आयोजना गरेको प्रतियोगितामा नेपाल र भारतका गरी कुल आठ टोलीको सहभागिता छ।

प्रकाशित: ४ माघ २०७५ ००:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App