१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

‘ए’ डिभिजन लिग : संकटालाई पराजित गर्दै एपिएफ पाँचौं

एपिएफविरुद्ध बल रोक्ने प्रयास गर्दै संकटाका कप्तान रवि शिलवाल (रातो) । तस्बिर सौजन्यः एन्फा

काठमाडौं – उपविजेता संकटालाई २–१ ले पराजित गर्दै विभागीय टोली एपिएफले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पाँचौं स्थान पक्का गरेको छ। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एपिएफले लिगको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गरेको हो।

एक खेलअगावै उपविजेता बनेको संकटाविरुद्ध एपिएफले २४औं मिनेटमा सुरुआती अग्रता लिएको थियो। लिगमा सुखद अन्त्य गर्ने उद्देश्यका साथ मैदान उत्रिएको एपिएफले काउन्टरमा गोल गरेको हो। एपिएफका युवराज खड्काले मैदानको मध्यभागबाट लगेको बललाई आकर्षक शैलीमा जाली चुमाउँदा एपिएफले पहिलो हाफमा अग्रता लिएको हो।

यसअघि छैटौं मिनेटमा विभागीय टोलीले संकटाको पोस्टमा पहिलो प्रयास गरेको थियो। तर संकटाका गोलकिपर राजाबाबु थापाले उत्कृष्ट बचाउ गर्दै विफल  पारिदिएका थिए। १७औं मिनेटमा संकटाले पहिलो अग्रतालाई बराबरी गर्ने सुनौलो अवसर गुमायो। विदेशी खेलाडी एलोन म्याक्सवेलले सेड्रिक अबालाई दिएको पासमा अबा चुक्दा संकटाको सुनौलो अवसर खेर गएको थियो। उक्त अवसरलाई एपिएफका गोलकिपर राजु योगीले उत्कृष्ट बचाउ गरेका थिए। २५औं मिनेटमा एपिएफले अग्रता दोब्बर गर्र्ने मौका पाए पनि पहिलो गोलकर्ता युवराजको प्रहार पोस्टभन्दा निकै माथि अकासिएको थियो।

चार खेलमा बराबरी गर्दै मात्र दुई खेलमा पराजित भएको एपिएफ तालिकामा २३ अंक बनाउँदै पाँचौं स्थानमा पुगेको हो।

पहिलो हाफमा पाएको अग्रतापछि उच्च मनोबलका साथ दोस्रो हाफमा  मैदान उत्रिएको एपिएफले ७१औं मिनेट दोस्रो गोल थप्यो। एक गोलले पछाडि रहेको संकटाले बराबरीका लागि दबाब सिर्जना गरेको थियो। अगाडि बढेको फाइदा उठाउँदै काउन्टर गरेको एपिएफका खेलाडीलाई संकटाका रक्षकले खराब फाउल गरेपछि एपिएफले फ्रिकिकको अवसर पायो। राजेन्द्र रावलले प्रहार गरेको फ्रिकिकमा राजन गुरुङले हेड गोल गर्दै अग्रता २–० मा पुर्याउँदा संकटालाई उक्त ट्याकल महँगो साबित भयो। २–० ले पछि परेको संकटाले बाँकी समयमा गोल फर्काउन एकपछि अर्को काउन्टरको प्रयास गर्यो। संकटाको प्रयास इन्जुरी समयमा मात्र सफल भयो। लक्ष्मण रुचालले गोल गर्दै अग्रता छोट्याए। तर बाँकी निर्धारित समय संकटाका लागि पर्याप्त भएन।

सुखद अन्त्य गरेको एपिएफले लिगमा सातौं जित दर्ता गराउन सफल बन्यो। चार खेलमा बराबरी र दुई खेलमा मात्र पराजित भएको एपिएफले तालिकामा २३ अंक बनाउँदै लिगको समापन गरेको छ। अर्को विभागीय प्रतिद्वन्दी आर्मी २ अंकले अगाडि रहँदै चौथो स्थान पक्का गर्दा थ्री स्टारले २६ अंक बटुल्दै तेस्रो बनिसकेको छ।

लिगमा दुई खेलअगावै विजेता बनिसकेको मनाङको १२ खेलबाट ३६ अंक छ। मनाङले १२औं चरणसम्मको यात्रामा सबै खेलमा जित निकाल्न सफल भएको छ। मंगलबार फ्रेन्ड्ससँग हुने अन्तिम खेलमा पनि सुखद जित निकाल्ने उद्देश्यमा मनाङ मैदान उत्रिनेछ। सोमबार एपिएफसँग स्तब्ध बनेको उपविजेता संकटाले भने लिगका सबै खेल्दै तालिकामा २८ अंक जोडेर लिगको समापन गरेको छ। संकटाले नौ खेलमा जित निकाल्दा एक खेलमा बराबरी र ३ खेलमा नतिजा सुम्पिएको छ।

लिगमा मंगलबार दुई खेल हुनेछन्। हलचोकस्थित सशस्त्र प्रहरी बल एपिएफको मैदानमा तालिकाको पुछारमा रहेको न्युरोड टिम (एनआरटी)ले ११औं स्थानको ब्रिगेड ब्वाइज (बिबिसी)सँग प्रतिस्पर्धा गर्नेछ भने अर्को खेलमा विजेता बनिसकेको मनाङले एन्फा मुख्यालयमा फ्रेन्ड्सको सामना गर्नेछ। यससँगै सहिद स्मारक ‘ए’ डिभिजन लिगको समापन हुनेछ।

प्रकाशित: २४ पुस २०७५ ००:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App