१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपाल–पाकिस्तान मैत्रीपूर्ण क्रिकेट : पाँचपोखरीलाई उपाधि

तस्बिर : पाकिस्तान राजदूतावास

काठमाडाैं - पाँचपोखरी क्रिकेट क्लबले पाकिस्तानी दूतावासको आयोजनामा भएको ट्वान्टी–२० क्रिकेट प्रतिगोगिताको उपाधि जितेको छ।

महाराजगञ्जस्थित पाकिस्तान दूतावासको क्रिकेट मैदानमा बिहीबार भएको खेलमा पाँचपोखरीले रोयल क्रिकेट इन्डोर क्लबमाथि ४३ रनको जित निकाल्दै नेपाल–पाकिस्तान मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो।

पाँचपोखरीको जितमा रोशन सिंहले अलराउन्ड प्रदर्शन गरे। आक्रामक ब्याटिङ गरेका रोशनले बलिङमा पनि जादु देखाएका थिए। उनी म्यान अफ दी म्याचसमेत घोषित भए। टस जितेर पहिले ब्याटिङ गरेको पाँचपोखरीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८२ रन  बनाएको थियो।

पाँच पोखरीका लागि आकाश बिष्टले २६ बलमा ५१ रन बनाउँदा ५ छक्का र दुई चौका प्रहार गरेका थिए। एकै ओभरमा पाँच छक्का प्रहार गरेका रोशन सिंहले ९ बलमै ३२ रन जोडेका थिए। उनले रोयलका तीलक भण्डारीको एक ओभरमै पाँच छक्का प्रहार गरेका हुन्। यद्यपि, तीलकले दुई विकेट निकालेको थिए।

रोयलका अर्का बलर सन्जय बोहराले चार ओभर २६ रन खर्चिंदै ३ विकेट निकाले पनि पाँचपोखरीको आक्रामक ब्याटिङ रोक्न सकेनन्। त्यसपछि ब्याटिङमा उत्रिएको रोयलले पूरै ओभर खेले पनि ९ विकेटको क्षतिमा १ सय ३९ रन मात्र बनाएपछि हार बेहोर्यो।

सन्जय बोहराले २६ बलमा पाँच छक्का र एक चौकाको मद्दतबाट ४७ रन बनाए पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन्। विराट भण्डारीले तीन चौका र एक छक्का प्रहार गर्दै २७ रन जोडेका थिए। पाँचपोखरीका रूपेश सिंहले ३ विकेट र रोशन सिंहले दुई विकेट निकाल्दै रोयलको इनिङलाई कमजोर पारेका थिए।

गत मंसिर २६ देखि भएको प्रतियोगितामा पाँच पोखरीका नवीनसिंह थापा बेस्ट प्लेयर घोषित हुँदा पाँचपोखरीकै आकाश बिष्ट बेस्ट ब्याट्सम्यान (११५ रन) र रोयलका सुवास खत्री बेस्ट बलर (८ विकेट) चयन भए। नवीनले प्रतियोगितामा १ सय ६९ रन बनाउँदा ९ विकेट लिएका थिए। तीनैले क्रिकेटका सामग्री प्राप्त गरे।

एकै ओभरमा पाँच छक्का प्रहार गरेका पाँचपोखरीका रोशन सिंहले ९ बलमा ३२ रनको विस्फोटक ब्याटिङ गरेका थिए। दुई विकेट समेत लिएका रोशन म्यान अफ दी म्याचसमेत घोषित भए।

प्रतियोगिताको विजेता पाँचपोखरीले ३० हजार र उपविजेता रोयलले २० हजार नगद पुरस्कार र ट्रफी प्राप्त गरे। शुक्रबार विजेतालाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पाकिस्तानी राजदूत डा. मजहर जावेद र नेपाल–पाकिस्तान मैत्री र संस्कृतीका अध्यक्ष हिमालय सम्सेर राणा लगायतले पुरस्कृत गरेका थिए।

पुरस्कार वितरण समारोहमा बोल्दै अध्यक्ष तिमिल्सिनाले दूतावासले आयोजना गर्ने प्रतियोगिताले दुई देशको सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग पुग्ने बताए। यस्तै पाकिस्तानी राजदूत मजहर जावेदले दूतावासले आयोजना गर्ने यस्ता प्रतियोगिताले दुई देशका युवाहरुबीच आत्मियता बढाउने र उनीहरुलाई नजिक ल्याउने बताए।  

 

प्रकाशित: ६ पुस २०७५ १०:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App