६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

एभरेष्ट प्रिमियर लिग : ललितपुर प्याट्रियोट्सको पहिलो जित, सन्दीपको उत्कृष्ट प्रदर्शन

काठमाडौं– ललितपुर प्याट्रियोट्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा पहिलो जित हात पारेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आइतबार सम्पन्न पहिलो खेलमा चितवन टाइगर्सलाई ११ रनले पराजित गर्दै ललितपुर विजयी भएको हो। ललितपुर शनिबार भएको उद्घाटन खेलमा विराटनगरसँग पराजित भएको थियो।

ललितपुरले जितका लागि दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको चितवन २० ओभरमा ८ विकेटको क्षतिमा १३२ रनमा समेटियो। चितवनका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ४१ रन बनाए। ४५ बल खेलेका ऐरीले ३ चौंका र १ छक्का प्रहार गरे।

त्यस्तै कप्तान पृथु बास्कोटाले २६, भीम सार्कीले २१, जर्ज स्कटले नटआउट १८ र जोन सिम्सनले १३ रनको योगदान दिए। ललितपुरका लागि सन्दीप लामिाछानेले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभरमा २६ रन खर्चिए। त्यस्तै सन्नी पटेलले २ तथा गौरव तोमार र ललित नारायण राजवंशीले एक–एक विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ललितपुरले पूरै २० ओभर खेल्दै ५ विकेट गुमाइ १४३ रन बनाएपछि चितवनले १४४ रनको लक्ष्य पाएको थियो। ललितपुरका लागि सोनु तामाङले नटआउट ३५ रनको योगदान दिए। सोनुले २४ बलमा १ चौंका र ३ छक्का प्रहार गरे।

त्यस्तै गौरब तोमारले ३०, सन्दीप जोराले नटआउट २५ र जयकिशन कोल्सवालाले २० र सन्नी पटेलले १९ रनको योगदान दिए। चितवनका लागि जर्ज स्कटले २ तथा ललित भण्डारी, कमलसिंह ऐरी र पाउल स्टिर्लिङले एक–एक विकेट लिए।

प्रकाशित: २३ मंसिर २०७५ ०६:४६ आइतबार

इपिएल_क्रिकेट ललितपुर_प्याट्रियोट्स पहिलो_जित