६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

करनकाे उत्कृष्ट ब्याटिङमा विराटनगरकाे राेमाञ्चक जित

काठमाडाैं - डिफेन्डिङ च्याम्पियन विराटनगर वारियर्सले काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिगमा रोमाञ्चक जित हात पारेको छ। शनिबार टियु क्रिकेट मैदानमा सम्पन्न उद्घाटन खेलमा विराटनगरले ललितपुर प्याट्रियोट्सलाई ३ विकेटले पराजित गरेको हो।

ललितपुरले दिएको १ सय ५ रनको लक्ष्य विराटनगरले खेल सकिन एक बल अघि ३ विकेट गुमायर पुरा गरेको हो। विराटनगरको जितमा करन केसीको इनिङ महत्वपूर्ण रह्यो। करनले आफ्नो टोलि कठिन अवस्थामा रहेको बखत उत्कृष्ट ब्याटिङ गर्दै टोलिलाई पहिलो र महत्वपूर्ण जित दिलाए। करणले अविजित रहँदै १९ बलमा ३६ रन प्रहार गरे। आफ्नो इनिङमा उनले एक चौका र ३ छक्का प्रहार गरे।

१ सय ५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको विराटनगर लगातार विकेट गुमाउन थालेपछि संकटमा परेको थियो। विराटनगरले १० दशमलव १ ओभरमा ३४ रन जोड्दा ४ महत्वपूर्ण विकेट गुमाइसकेको थियो। त्यसपछि १६ दशमलव ४ ओभरमा ७३ रन जोड्दा ७ विकेट गुमाएकाे विराटनगर हार नजिक पुगेको थियो तर करनले उत्कृष्ट प्रदर्शन गर्दा विराटनगरले प्रतियोगितामा सुखद सुरुवात गरेको छ। यसअघि बलिङमा समेत करनले २ विकेट लिएका थिए। ललितपुरका गाैरभ टाेमरले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएपनी टाेलि जितबाट विमुख हुन पुग्याे। यस्तै सन्दीप लामिछानेले २ विकेट लिए। 

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ललितपुर प्याट्रियोट्सले २० ओभरमा ९ विकेट गुुमाउँदै १०४ रन बनाएकाे थियाे। ललितपुरका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४९ रन बनाए। अर्धशतक बनाउन १ रनले चुकेका मल्लले ५२ बलमा ३ चौंका र २ छक्का प्रहार गरे। त्यस्तै सन्नी पटेलले २० र पवन सर्राफले १४ रन बनाउनु बाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो रनको स्कोर कटाउन सकेनन्।

ललितपुरलाई सस्तैमा समेटन विराटनगरका रोएलोफ भान डेर मेर्वी र करण केसीले २/२ तथा बसन्त रेग्मी, पारस खड्का र स्मित पटेलले एक/एक विकेट लिए। विराटनगरको नेतृत्व राष्ट्रिय टिमका कप्तान पारस खड्का र ललितपुरको कप्तानी राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले गरेका छन्।

प्रकाशित: २२ मंसिर २०७५ १०:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App