२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

माघ पहिलो सातादेखि ढोरपाटन महिला भलिबल

काठमाडौं – १४औं संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल माघको पहिलो सातादेखि सुरु हुने भएको छ। शुक्रबार बानेश्वरमा एक कार्यक्रमको आयोजना गर्दै ढोरपाटन क्लबले आगामी १४औं संस्करणको प्रतियोगिता माघ ५ गतेदेखि १९ गतेसम्म नयाँबसपार्कमा हुने जानकारी दिएको हो। डबल लिगका आधारमा हुने प्रतियोगितामा तीन विभागीयसहित कुल ११ टिमको सहभागिता रहेको छ।

लिगमा एपिएफ क्लब, न्यु डायमण्ड एकेडेमी, नेपाल पुलिस क्लब, पोखराको टप्स उमावी, चितवन टाइगर्स, थ्री स्टार एकेडेमी, पारामाउन्ट एकेडेमी, सेब स्कुल र मकवानपुरको थाहा नगरपालिकाले प्रतिस्पर्धा गर्ने आयोजक ढोरपाटन भलिबल क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिए।

सेब, थाहा र चितवन टाइगर्सले तीन विदेशी खेलाडीसमेत भित्र्याउने तयारी गरेको आयोजकले जनाएको छ। आयोजकले भ्याली भित्रको टिमलाई २८ हजार रुपैयाँ र भ्याली बाहिरको टोलीलाई ७० हजार रुपैयाँ तयारी खर्च दिने जनाएको छ।

विदेशी खेलाडी अनुबन्धन गर्ने भ्यालीभित्रको टिमले ५० हजार र भ्याली बाहिरको टिमले एक लाख पाउनेछन्। लिग विजेताले तीन लाख ५० हजार र उपविजेताले दुई लाख प्राप्त गर्नेछ। तेस्रो हुने टोलीले १ लाख, चौथोले ६० हजार, पाँचौंले ४० हजार, छैटौं हुनेले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, वर्ष खेलाडी, प्लेयर अफ दी सिरिज र एक जना दर्शकलाई १–१ थान स्कुटर प्रदान गर्नेछन्। विधागत उत्कृष्टअन्तर्गत स्पाइकर, डिफेन्डर, ब्लकर, सर्भर, सेटर र कोचले समान ६–६ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

यसपटकको लिगले सह–प्रायोजकको रूपमा सुजुकीको भिजी अटोमोबाइल प्रालीको साथ पाएको छ। शुक्रबार नै सह–प्रायोजक सुजुकीको भिजी अटोमोबाइल प्रालीका मार्केटिङ म्यानेजर नवराज कोइराला र आयोजक क्लबका अध्यक्ष मनवीर छन्त्यालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। तीन वर्षका लागि भएको सम्झौतामा प्रत्येक भिजी सुजुकीको स्कुटर खरिदमा ५० हजार छुट हुनेछ।

प्रकाशित: २२ मंसिर २०७५ ०४:४७ शनिबार

ढोरपाटन_महिला_डबल_लिग १४औं_संस्करण माघ