२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

‘ए’ डिभिजन लिग : फ्रेन्ड्सले आर्मीलाई बराबरीमा रोक्यो

काठमाडौं – शीर्ष स्थानका लागि मनाङ मर्स्याङ्दी क्लबलाई चुनौती दिइरहेको विभागीय टोली त्रिभुवन आर्मी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बिहीबार फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरीमा रोकिएको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा सम्पन्न खेलमा आर्मीले आफ्ना मुख्य खेलाडीलाई मैदान उतार्न नपाउँदा फ्रेन्ड्ससँग अंक बाँड्न बाध्य बनेको हो। आर्मीका लागि मुख्य स्ट्राइकरद्वय भरत खवास टिममा परेनन् भने नवयुग श्रेष्ठ अन्तिम १० मिनेट मैदान प्रवेश गरे  पनि चमत्कार गर्न सकेनन्। कप्तान भरत दोहोरो पहेंलो कार्डको सामना गर्दै बेन्चबाहिर रहँदा अर्का स्ट्राइकर नवयुग हिल इन्जुरीका कारण पहिलो रोजाइमा थिएनन्। लिगका दुुई खेल मात्रै खेलेका नवयुुग अझै चोटमुक्त भइनसकेको प्रशिक्षक न्यौपानेले बताए।

गोलरहित बराबरी खेलेको आर्मीले दुई अंक गुमाउँदा दुई स्थान माथि उक्लिने मौका गुमाएको हो। सुरुआतबाट नै सन्तोषजनक प्रदर्शन गर्न नसकेको आर्मीले केही अवसर सिर्जना गरे पनि फिनिसिङ गर्नबाट चुकेको थियो भने आर्मीका केही सुन्दर अवसरलाई फ्रेन्ड्सका गोलकिपर देब लिम्बुले उत्कृष्ट बचाउ गरेका थिए। त्रिभुवन आर्मीले बिहीबार फ्रेन्ड्सविरुद्धको खेलमा अंक बाँडे पनि ट्रफी दाबेदारीको सम्भावना कायमै रहेको प्रशिक्षक नवीन न्यौपानेले बताए।

‘फ्रेन्ड्सविरुद्ध बराबरी खेले पनि बाँकी खेलमा जित हात पार्दै उपाधि जित्ने सम्भावना कायमै छ। बलिया प्रतिद्वन्द्वी बाँकी रहे पनि उनीहरूसँग जित निकाल्न सके सम्भावना कायमै रहन्छ,’ प्रशिक्षक न्यौपानेले भने, ‘आजको खेलमा स्ट्राइकरको अभाव खड्कियो। उनीहरूको स्थानमा खेलाइएका फरवार्ड फिनिसिङमा चुके। कप्तान भरत र नवयुुग नहुँदा टोलीमा समस्या देखियो। अवसर सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य भयौं।’

बलियो प्रतिद्वन्द्वी आर्मीसँग अंक लिन सफल भएको फ्रेन्ड्सका प्रशिक्षक रमेश महर्जनले खेलाडीको प्रदर्शनमा सन्तुष्ट रहेको प्रतिक्रिया दिए।

‘कठिन अवस्थामा छौं। जितको खोजीमा मैदान आएका थियौं। आर्मीजस्तो बलिया टोलीसँग् प्रतिस्पर्धात्मक खेल्दै एक अंक खोस्न सफल भएका छौं। जुन हाम्रा लागि खुसीको कुरा हो। आजको खेलमा भाग्यले पनि साथ दियो,’ प्रशिक्षक महर्जनले भने, ‘खेलाडीको प्रदर्शनमा सन्तुष्ट छु।

गोलरहित बराबरीमा रोकिएको आर्मीको अंकतालिकामा १४ अंक छ। ६ खेलमा ४ जित र २ बराबरी खेलेको आर्मी तालिकाको चौथो स्थानमा यथावत् छ। उता बलियो प्रतिद्वन्द्वी आर्मीसँग एक अंक खोसेको फ्रेन्ड्सको ६ खेलबाट ५ अंक भएको छ। फ्रेन्ड्स तालिकाको १०औं स्थानमा यथावत् छ।

बिहीबारै सम्पन्न दोस्रो खेलमा तालिकाको पुछारबाट दोस्रो र तेस्रो स्थानमा रहेका टोलीद्वय ब्रिगेड ब्वाइज र मच्छिन्द्र क्लबले पनि गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। यसअघिको खेलमा एकमा जित र ४ मा नतिजा सुम्पिएको ब्रिगेडले जारी लिगमा पहिलो बराबरी खेलेको हो। उता ६ खेलबाट तेस्रो बराबरी खेलेको मच्छिन्द्रको ३ अंक भएको छ।

एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा दुवै टोली जित खोजीमा मैदान उत्रिएका थिए। तालिकाको अन्तिमतिर रहेका टोलीले स्पष्ट जित निकाल्दै तालिकाको श्रेणीमा उक्लिने उद्देश्य राखे पनि उनीहरूको त्यो रणनीति सफल हुन सकेन।
खेलमा दुवै टोलीले गोलका लागि केही राम्रा अवसर सिर्जना गरे पनि फिनिसिङ गर्न सकेनन्। खेलमा ब्रिगेडले पहिलो हाफ केही दबाबमा राख्दै खेल प्रदर्शन गरेको थियो। ४५औं मिनेटमा ब्रिगेडका कैलाश बस्नेतले ऋतिक खड्काको पासलाई सदुपयोग गर्दै हेड गरे पनि पोलमा लाग्दा ब्रिगेड जित निकाल्नबाट चुकेको थियो। खेलमा ब्रिगेडका जय गुरुङ म्यान अफ दी म्याच घोषित भए।

बिहीबार सम्पन्न खेलसँगै लिगमा छैटौं चरणका खेल समाप्त भएका छन्। लिगमा मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा  छ। १८ अंकसहित शीर्ष स्थानमा रहेको मनाङलाई समान १५÷१५ अंक बटुलेका थ्री स्टार र संकटा क्लबले पछ्याइरहेका छन। त्रिभुुवन आर्मी क्लब र नेपाल पुलिस १४ र १० अंकसहित क्रमश चौथो र पाँचौं स्थानमा छन्।

सातौं चरणका खेल शनिबारबाट हुनेछन्। पहिलो दिन दुई खेल हुनेछन्। दिनको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले हिमालयन शेर्पाको सामना गर्दा दोस्रो खेल संकटा र न्युरोड टिम (एनआरटी) बीच हुनेछ।

प्रकाशित: २० मंसिर २०७५ ०९:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App