२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

‘ए’ डिभिजन लिग : एनआरटीमाथि एपिएफको संघर्षपूर्ण जित

तस्बिर साैजन्य : गाेलनेपाल डटकम

काठमाडौं – संघर्षपूर्ण खेलमा न्युरोड टिम एनआरटीलाई २–१ ले पराजित गर्दै विभागीय टिम सशत्र प्रहरीको बलको एपिएफ क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो जित हात पारेको छ। पहिलो खेलमा आर्मीसंग बराबरी खेलेको एनआरटीको भने यो लगातार पाँचौ हार हो।

एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार सम्पन्न छैटौं चरणको पहिलो खेलमा एनआरटीको जितमा युवराज लामा र सुदिप शिख्राकारले गोल गरे। एनआरटीका राजेश परियारले एक गोल फर्काए। खेलको तेस्रो मिनेटमा नै एपिएफका युवराजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

१५ औं मिनेटमा राजेशको गोल मार्फत एनआरटीले खेललाई बराबरीमा ल्यायो। पहिलो हाफको खेल १–१ को बराबरीमा सकिएपनि ७३ औं मिनेटमा पेनाल्टीमा सुदिपले गोल गर्दै एपिएफलाई जित दिलाए। एनआरटीका कप्तान प्रविनकुमार शैजुले डिबक्सभित्र युवराज खड्कालाई लडाएपछि पाएको पेनाल्टीमा सुदिपले गोल गरे।

एपिएफका युवराज खड्का खेलको म्यान अफ दि म्याच घोषित भए। जितसँगै ६ खेलबाट ७ अंक जोडेको एपिएफ लिगको सातौं स्थानमा उक्लिएको छ। लिगमा १ अंक जोडेको एनआरटी तालिकाको पुछारमा छ।

प्रकाशित: १८ मंसिर २०७५ ०७:४५ मंगलबार

एपिएफ सहिद_स्मारक_‘ए’_डिभिजन_लिग संघर्षपूर्ण_जित