१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

पहिलाे टी-२० खेलमा भारतमाथि अस्ट्रेलियाको रोमाञ्चक जित

तस्बिर : एजेन्सी

काठमाडाैं - मार्क स्टोनिसको उत्कृष्ट प्रदर्शनप्रेरित अस्ट्रेलियाले बुधबार पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा भारतमाथि डकवर्थ लुइस पद्धतिमा ४ रनको रोमाञ्चक जित हात पारेको छ।

अस्ट्रेलियाले १७औं ओभरमा १५८–४ मा खेलिरहँदा वर्षाले खेल बाधक बनेपछि अम्पायरले खेल १७ ओभरमा घटाएसँगै भारतले जितका लागि डकवर्थ लुइस पद्धतिमा १ सय ७४ रनको लक्ष्य पछ्याएको थियो। तर भारतले निर्धारित १७ ओभरमा मात्र १ सय ७३ रन जोड्न सक्यो।

भारतलाई जितका लागि अन्तिम ओभरमा ११ रनको आवश्यकता थियो। स्टोनिसको पहिलो बलमा २ रन लिएका कुनाल पाण्डेले दोस्रो बलमा भने कुनेै रन बनाउन सकेनन्। तर तेस्रो र चौथो बलमा लगातार दुई विकेट लिँदै भारतलाई संकटमा पारे। तेस्रो बलमा पाण्डेलाई ग्लेन म्याक्सवेलबाट क्याच गराएका स्टोनिसले चौथो बलमा जसन बेरन्डोफबाट क्याच गराएका थिए। पाँचाैं बल वाइड भएपछि अतिरिक्त एक बल पाएको भारतका भुवनेश्वर कुमारले सो बलमा एक रन मात्र जोड्न सके। अन्तिम बलमा कुलदीप यादवले चौका प्रहार गरे पनि त्यो  जितका लागि पर्याप्त बनेन।

भारतका ओपनर शिखर धवनले सर्वाधिक ७६ रन जोडे। ४२ बल खेलेका धवनले १० चौका र २ छक्का प्रहार गरे। पहिलो विकेटका लागि अर्का ओपनर रोहित शर्मासँग ३५ रनको साझेदारी गरेका धवनले दोस्रो विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए। ऋषभ पन्त र दिनेश कार्तिकले पाँचौं विकेटका लागि ५१ रनको साझेदारी गर्दै भारतको इनिङ उकास्ने प्रयास गरेका थिए। १६ बलको  सामना गरेका पन्तले १ चौका र १ छक्काको मद्दतमा २० रन जोड्दा १३ बलको सामना गरेका कार्तिकले ४ चौका र १ छक्का प्रहार गरेका थिए। यस जितसँगै अस्ट्रेलियाले तीन खेलको शृंंखलामा १–० को अग्रता लिएको छ।

यसअघि अस्ट्रेलियाले वर्षाले खेल बाधक बन्नुअघि १७ ओभरमा ४ विकेट गुमाउँदै १ सय ५८ रनको योगफल तयार पारेको थियो। २४ रन जोड्दा ओपनर ड्यार्सी सर्टलाई गुमाएको अस्ट्रेलियाको  इनिङ दोस्रो विकेटका लागि कप्तान एरोन फेन्च र क्रिस लेनले ५७ रनको साझेदारी गर्दै उकासेका थिए। २४ बल खेलेका फेन्चले ३ चौकाको मद्दतमा २७ रनको योगदान गर्दा २० बलको सामना गरेका लेनले १ चौका र ४ छक्का प्रहार गरे। चौथो विकेटका लागि म्याक्सवेलले स्टोनिससँग ७८ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई  सम्मानजनक योगफलतर्फ डोर्याएका थिए।२४ बलको सामना गरेका म्याक्वेलले ४ छक्का प्रहार गर्दा १९ बल खेलेका स्टोनिसले ३ चौका  र १ छक्काको मद्दतमा अविजित ३३ रनको योगदान गरे।

प्रकाशित: ५ मंसिर २०७५ १३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App