धरान – गएको साउन पहिलो साता धरान १६ स्थित रंगशालामा धमाधम घाँस रोपियो । आर्थिक वर्ष सकिएर सबै विकासको काम ठप्प हुने समयमा यहाँ भने सरकारी बजेटमा काम भइरहेको थियो।
बाध्यता कस्तो थियो भने त्यस बेला (बर्खामा) घाँस नरोपे निर्माणाधीन रंगशालालाई यो वर्ष उपयोगी बनाउन सकिँदैनथ्यो । त्यसैले नगर खेलकुद विकास समितिका व्यक्तिहरूले पछि बजेट निकासा गर्ने गरी आपसमा पैसा उठाएर घाँस रोपे । अहिले त्यो मैदान लोभलाग्दो बनेको छ । ‘घाँस रोप्ने समय असार, साउनमा हो । त्यति बेला ५०–५० हजार उठाएर घाँस रोप्यौं,’ समितिका सदस्य प्रताप तामाङ, ‘बजेट असोजमा मात्र निकासा भयो, त्यति बेलासम्म पर्खेर बसेको भए अहिले यो मैदान तयार नै हुँदैनथ्यो।’
समितिले चालू आर्थिक वर्षको खेलकुदको बजेटबाट साढे ५ लाख लगानी गरेर घाँस रोपेको थियो । मंसिर पहिलो सातादेखि यो रंगशालामा दोस्रो मेयर कप स्कुल ओलम्पिक सुरु हुँदै छ । निर्माणाधीन रंगशालामा घाँस रोप्नु हेर्दा सामान्य लाग्छ । तर, धरान उपमहानगरपालिकाअन्र्तगत नगर खेलकुद विकास समिति गठन भएपछि खेलकुद पूर्वाधार र खेलगतिविधिले तीव्रता पाएको यो एउटा उदाहरण हो।
यो रंगशाला भत्काएर राखेपले पुनर्निर्माण थालेको वर्षाैं बिते पनि अझै तयार भएको छैन । स्थानीय तहमा जनप्रतिनिधि आएपछि गत वर्ष कार्यपालिका सदस्य सुवास राईको नेतृत्वमा नगरमा समिति गठन भयो । समिति गठन भएको पहिलो वर्ष नै स्कुल ओलम्पिकको सुरुआत गर्यो । यसले धरानको स्कुलहरूमा खेलकुद गतिविधि मात्र बढाएको छैन, पूर्वाधार विकासलाई पनि तीव्रता दिएको छ।
‘हामीले गत वर्ष ४ वटा स्कुलमा बहुउद्देश्यीय कोर्ट निर्माण गर्यौं, जसमा सेपाकताक्रो, बास्केटबल, ब्याडमिन्टन र भलिबल खेल्न मिल्छ । यो वर्ष पनि थप ४ वटा सामुदायिक स्कुलमा लगानी गर्दै छौं।’
उपमहानगरले गत आर्थिक वर्षमा १ करोड १० लाख बजेट खेलक्षेत्रका लागि विनियोजन गरेको थियो । जसमध्ये ६० प्रतिशत पूर्वाधार विकासमा लगानी गरेको समितिका अध्यक्ष राईले बताए । पूर्वाधारका लागि विनियोजन गरिएको ६० प्रतिशतबाट पनि ४० लाख सामुदायिक विद्यालयमा लगानी गरिएको थियो । ‘हामीले गत वर्ष ४ वटा स्कुलमा बहुउद्देश्यीय कोर्ट निर्माण गर्यौं, जसमा सेपाकताक्रो, बास्केटबल, ब्याडमिन्टन र भलिबल खेल्न मिल्छ,’ समितिका अध्यक्ष राईले भने, ‘यो वर्ष पनि थप ४ वटा सामुदायिक स्कुलमा लगानी गर्दै छौं।’
गत वर्ष धरान २० स्थित भालढुंगा मावि, धरान ८ स्थित शहीद स्मृति मावि, ल्याबोरेटरी मावि र धरान १३ स्थित सत्यसाई स्कुलमा कोर्ट निर्माण गरिएको थियो । यस्तै, गत वर्ष धरान १७ स्थित पटनाली खेलमैदान, धरान ४ स्थित पत्रांगबारी खेलमैदान, धरान ६ स्थित खेलमैदानको स्तरोन्नति गर्न लगानी भएको थियो । यो वर्ष पनि धरान ११ को ज्ञानोदय उमावि, वडा ६ को सरस्वती उमावि, धरान १६ को शारदा बालिका उमावि र वडा १४ को दन्तकाली माविमा खेल पूर्वाधार तयारी गरिने अध्यक्ष राईले बताए।
‘यो वर्ष १ करोड २ लाख बजेट छ, गत वर्षको जस्तै स्कुलमा पूर्वाधार निर्माण, विभिन्न खेलमैदानको स्तरोन्नति गर्न र स्कुल ओलम्पिक गरेर धरानलाई खेलकुदमय बनाउने काम पनि सँगसँगै जारी रहन्छ,’ अध्यक्ष राईले भने, ‘पूर्वाधार बनेका स्कुलमा खेलकुद सामग्री पनि दियौं । निजी स्कुलमा त खेलकुद गतिविधि अनिवार्य थियो, अब सामुदायिक स्कुलमा पनि खेलभावना प्रवेश गराउन सकेका छौं ।’ खेलकुद समितिले गत वर्षदेखि एक लाख रुपैयाँ राशिको धरान वर्ष खेलाडी पुरस्कार प्रदान गरेर खेलाडीहरूको हौसला पनि बढाउने काम गरेको छ।
सामुदायिक स्कुलले निजीले जस्तो शुल्क उठाउन पाउँदैनन् । त्यसैले खेलकुदमा लगानी पनि गर्न सक्दैनन् । नगर खेलकुद समितिमार्फत लगानी आउन थालेपछि सामुदायिक स्कुल पनि उत्साहित छ । ‘हामीमा पनि खेल प्रतिस्पर्धाको भावना जागेको छ, विद्यार्थीहरू पनि स्कुल ओलम्पिकमा मेडल जित्दा उत्साहित हुँदा रहेछन्,’ धरान १२ स्थित पब्लिक उच्च माविका प्राचार्य इन्द्रमोहन झा भन्छन्, ‘विद्यार्थीहरूको खेलप्रतिभा पनि थप उजागर हुन्छ । जे भइरहेको छ, राम्रो छ।’
रोजगारी सिर्जना
गत वर्षदेखि सुरु भएको स्कुल ओलम्पिक मेयर कपले रोजगारी पनि सिर्जना गरेको छ । स्कुल ओलम्पिकमा कमजोर प्रदर्शन गरेका स्कुलहरूले मेडल जित्नका लागि विभिन्न खेलका प्रशिक्षक नियुक्त गरेर विद्यार्थीलाई तालिम गराउन थालेका छन् । जसले गर्दा विभिन्न खेलविधाका खेलाडीले केही समयका लागि भए पनि रोजगारी पाएको नेपाल बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामाले बताए।
लामाका अनुसार खेलाडीले प्रशिक्षक एवं रेफ्रीका रूपमा केही समयका लागि रोजगारी पाएका छन् । ‘पूर्वाधार भएर मात्र हुँदैन, गतिविधि भयो भने मात्र त्यसको सही सदुपयोग हुन्छ । अन्य नगरको तुलनामा धरानमा धेरै राम्रो काम भएको छ,’ लामा भन्छन्, ‘ओलम्पिक बर्सेनि हुन्छ भन्ने भएपछि मेडल जित्नका लागि स्कुलहरूले प्रशिक्षक राख्न थालेका छन्, यसले खेलाडीहरूलाई पार्टटाइम भए पनि रेफ्री, प्रशिक्षकको जागिर मिलेको छ।’
समितिका अध्यक्ष राईका अनुसार गत वर्ष सामुदायिक विद्यालयहरूमा समितिले खेलप्रशिक्षक पठाएको थियो भने यो वर्ष स्कुल आफैंले विधागत प्रशिक्षक माग गरेका थिए । खेलकुद संघसंस्थाहरूसँग समन्वय गरेर खेलाडीलाई भोलेन्टियर प्रशिक्षकका रूपमा खटाएको उनले बताए । ‘संघहरूसँग बुझ्दा अहिले ५७ जना खेलाडीले प्रशिक्षकको रूपमा रोजगारी पाए, यो पनि उपलब्धि हो,’ अध्यक्ष राईले भने, ‘गत वर्ष २३ सय खेलाडी, अफिसियलहरु स्कुल ओलम्पिकका सहभागी थिए, यो वर्ष ३९ सय सहभागी हुँदै छन्।’
प्रकाशित: ५ मंसिर २०७५ ०५:१० बुधबार