१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पेत्रामाथि कारोलिनको पहिलो जित

लन्डन – डिफेन्डिङ च्याम्पियन कारोलिन वज्नियस्कीले चार वर्षमा पेत्रा केभितोभामाथि पहिलो जित निकाल्दा सिंगापुरमा भएको डब्लुटिए फाइनल्समा ७–५, ३–६ र ६–२ को सफलता निकालेकी छन् । यसअघि वज्नियस्कीले विश्व नम्बर–४ चेक रिपब्लिककी पेत्रामाथि सन् २०१४ को डब्लुटिए फाइनल्समा जित रचेकी थिइन्।

मंगलबार भने डेनमार्ककी २८ वर्षीया वज्नियस्कीले मेडिकल ब्रेकका बावजुद २ घन्टा १९ मिनेट समयमा जित निकालिन् । दोस्रो सेटको खेलका क्रममा वज्नियस्कीको घुँडामा समस्या उत्पन्न भएको थियो । वज्नियस्कीको चोटको फाइदा लिँदै पेत्राले दोस्रो सेट आफ्नो पक्षमा पारिन्।

त्यो सेटपछि वज्नियस्कीले चोटको कारण फिजियोको साहारा लिनुपरेको थियो । तर, निर्णायक सेटमा पेत्राको थकानको फाइदा उठाउँदै वज्नियस्कीले जित दर्ता गरिन् । तेस्रो सेटमा पेत्राले १६ अनफोर्स इरर्सको सामना गरेपछि वज्नियस्कीले सहजै सेट प्वाइन्ट आफ्नो बनाउँदै जित रचिन् । जितपछि वज्नियस्कीले भनिन् ‘जसरी मैले धैर्यता राखेँ त्यसप्रति म निकै खुसी छु।’

‘म सोच्न पनि सक्दिनँ कि, मैले दोस्रो सेटमा निकै नराम्रो खेलें  र, उनले निकै राम्रो प्रदर्शन गरिन् । तर, मैले पुनः खेलमै ध्यान केन्द्रित गर्दै सफलता पनि हात पारें। ’

पाँच मुख्य प्रतियोगिताका विजेता र फाइनलिस्ट या वर्षको विश्व नम्बर–८ सम्मका खेलाडीलाई डब्लुटिए फाइनल्समा २ समूहमा विभाजन गरी राउन्ड रोबिनको आधारमा खेलाइने गरिन्छ । यसपटक सेतो समूहमा रहेकी विश्व नम्वर–२ वज्नियस्कीले यसअघि चेक रिपब्लिककै विश्व नम्बर–७ की कारोलिना प्लिसकोभासँग ६–२ र ६–४ को हारको सामना गरेकी थिइन्।

तर, मंगलबार भने प्लिसकोभा विश्व नम्बर–६ युक्रेनकी इलिना स्भितोलिनासँग ६–३, २–६ र ६–३ ले स्तब्ध हुँदै समूहमा २ खेलमा १ जितमै सीमित भइन् । युक्रेनकी इलिनासँग प्लिसकोभाले १ घन्टा र ५४ मिनेटमा खेल सुम्पेकी थिइन्।

यो जितसँगै समूहमा शीर्षमा रहेकी इलिनाले बिहीबार वज्नियस्कीविरुद्ध चुनौती प्रस्तुत गर्नेछिन् । सेतो समूहमा वज्नियस्की, पेत्रा, इलिना र प्लिसकोभा छन् भने रातोमा जर्मनीकी एन्जेलिक केरबर, जापानकी नाओमी ओसाका, अमेरिकाकी स्लोएनी स्टेफेन्स र डच स्टार किकी बर्टेन्स छन् । समूहमा शीर्ष २ मा रहेका खेलाडीले सेमिफाइनलको यात्रा तय गर्नेछन् । फाइनलमा भने आगामी २८ अक्टोबरमा हुनेछ।

प्रकाशित: ८ कार्तिक २०७५ ०४:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App