काठमाडौं – साफ यु–१५ च्याम्पियनसिप बिहीबार (आज) बाट काठमाडौंमा सुरु हुँदैछ। नेपालले पहिलो खेलमा आज माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। खेल सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा दिउँसो ३ बजेबाट सुरु हुनेछ।
नेपालका प्रशिक्षक सनोज श्रेष्ठले बुधबार माल्दिभ्सको सामना गर्दा सुखद नतिजाका साथ साफ यु–१५ च्याम्पियनसिपको सुरुआत गर्ने बताएका छन्। कार्तिक १७ सम्म संचालन हुने प्रतियोगितामा आयोजक नेपालसहित माल्दिभ्स, बंगलादेश, पाकिस्तान, भुटान र भारतको सहभागिता रहनेछ।
एन्फाले दुई साताअघि प्रतियोगिताका लागि २३ सदस्यीय टोलीको घोषणा गरेको थियो। यसका लागि एन्फाले एकेडेमीमा रहेका २६ र विभिन्न जिल्लाबाट छनोट भएका ४५ खेलाडीलाई समावेश गर्दै संयुक्त रूपमा प्रशिक्षण गराएको थियो। सो प्रशिक्षणबाट एकेडेमीका १९ र विभिन्न जिल्लाबाट आएका ५ खेलाडी अन्तिम टोलीमा स्थान बनाउन सफल भएका थिए। नेपाली टोलीको सहायक प्रशिक्षक राकेश श्रेष्ठ र गोलकिपिङ प्रशिक्षकमा मनीष तिमल्सिना छन्।
‘हामी विगत एक वर्षदेखि एन्फा एकेडेमीमा निरन्तर अभ्यासमा छाैं। दसैंअघि विभिन्न जिल्लाबाट आएका खेलाडीमध्ये उत्कृट पाँच खेलाडीको उपस्थितिले टोली उत्साही बनेको छ,’ श्रेष्ठले भने, टोलीका प्राय सबै खेलाडी फिट छन्। त्यो टोलीको बलियो पक्ष हो।’
‘हामीले विपक्षी टोलीको खेल हेर्ने अवसर पाएका छैनाैं। किनभने सहभागी सबै टोलीका युवा खेलाडीका लागि यो पहिलो अन्तर्राष्ट्रिय खेल हुनेछ,’ श्रेष्ठले थपे, ‘हामी उत्कृष्टभन्दा उत्कृष्ट खेल खेल्दै उपाधि भित्र्याउने प्रयास गर्नेछौं।’
कप्तान प्रदीप लम्सालले पनि टोलीको तयारी राम्रो भएकाले टोलीले उत्कृष्ट प्रदर्शन गर्नेमा आशावादी भएको बताएका छन्।
यता माल्दिभ्सका प्रशिक्षक इब्राहिम हालिमले आफ्नो टोलीमा सहभागी खेलाडीको औसत उमेर १३–१५ वर्ष भएकाले यस प्रतियोगितालाई आगामी संस्करणको एएफसी यु–१६ छनोटको तयारीका रूपमा लिएको बताएका छन्।
‘नेपाल प्रतियोगिताकै बलियो टोली हो। त्यसैले उनीहरुविरुद्धको खेल कठिन हुनेछ,’ हालिमले भने, ‘हाम्रो तयारी पनि मात्र २ महिनाको भएको छ, त्यसैले हामी अनुभव बटुल्न चाहन्छाैं।’
नेपालले दोस्रो खेलमा सोमबार बंगलादेशको सामना गर्नेछ। दुवै समूहका शीर्ष २ टोली सेमिफाइनल प्रवेश गर्नेछन्। नेपाल प्रतियोगिताको साबिक उपविजेता हो। गत वर्ष घरेलु मैदानमा भएको प्रतियोगिताको फाइनलमा नेपालले भारतलाई नतिजा सुम्पिएको थियो।
प्रकाशित: ८ कार्तिक २०७५ ०७:१३ बिहीबार