लन्डन – टोटेनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिनोले यसै वर्षको अन्त्यमा क्लबको नयाँ रंगशाला निर्माण कार्य सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । साथै पोचेटिनोले आफ्नै रंगशाला निर्माण भएपछि टोलीलाई उपाधि भित्र्याउन कुनै बहाना नहुने बताएका छन्।
यसै महिनाको बीचमा टोटेनह्यामले ६२ हजार दर्शक क्षमता भएको आफ्नै रंगशाला निर्माण सम्पन्न हुने जनाएको थियो । यद्यपि उच्च स्तरीय रंगशाला निर्माण गर्न आदेश दिएपछि निर्माणपक्षले सम्पन्न हुन ढिला हुने भन्दै नयाँ मिति तोकेको थियो।
टोटेनह्यामले अक्टोबर ३० मा वेम्बलीमा म्यानचेस्टर सिटीलाई आतिथ्यता प्रदान गर्नेछ भने च्याम्पियन्स लिगका तीन होम गेम पनि वेम्बलीमा खेल्नेछ । टोटेनह्यामले नयाँ रंगशाला निर्माण कार्य नसकिँदासम्म राष्ट्रिय रंगशाला वेम्बलीलाई घरेलु मैदानका रूपमा प्रयोग गरिरहेको छ।
ह्वाइट हार्ट लेन रंगशालाको निर्माण कार्य चलिरहेको र क्लबका अध्यक्षक ड्यानियल लेभीसँगको छलफलमा क्रिसमसअगाडि निर्माण सम्पन्न हुने विश्वास राखेको पोचेटिनोले बताएका छन्।
‘म यो वर्ष हाम्रो रंगशाला निर्माण सम्पन्न हुनेमा पूरा विश्वस्त छु,’ प्रशिक्षक पोचेटिनोले भने, ‘क्लबका अध्यक्ष ड्यानियलसँग मेरो व्यक्तिगत कुराकानी भएको छ । उनीहरू यसै वर्षभित्र सक्ने कुरामा विश्वस्त रहेका छन्।’
‘उनीहरू समस्याको समाधान गर्न दृढताका साथ लागिरहेका छन् । अर्को वर्ष सुरु नहुँदै निर्माण कार्य सम्पन्न हुन्छ । क्रिसमसअघि नै उक्त रंगशाला खेल्नका लागि योग्य हुन्छ । यो मेरो कामना हो,’ पोचेटिनोले थपे । टोटेनह्यामले पछिल्लो सिजन २००८ मा लिगकपको उपाधि जितेको थियो भने त्यसपछिको उपाधि खडेरीलाई अर्जेन्टिनाका प्रशिक्षक पोचेटिनो तोड्न चाहन्छन् ।
‘सबैभन्दा पहिलो हामीले हाम्रो रंगशाला निर्माण गरिसक्नुपर्छ, अनि उपाधि जित्ने सपना बुन्नुपर्छ,’ पोचेटिनोले भने, ‘त्यसपछि भने टोलीलाई कुनै बहाना हुँदैन, हामीले कुनै पनि हातलमा उपाधि जित्नुपर्छ । यदि रंगशाला निर्माणपछि पनि हामीले उपाधि भित्र्याउन सकेनौं भने नयाँ घरभित्र साजसज्जाका लागि सामान नभएको जस्तै हुनेछ।’
प्रकाशित: १२ आश्विन २०७५ ०४:१२ शुक्रबार