१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

माघमा अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हुने

पत्रकार सम्मेलनमा बाेल्दै मदन भण्डारी स्पाेर्टस एकेडेमीका अध्यक्ष बिनाेद श्रेष्ठलगायत पदािधकारी। तस्बिरः नागरिक

काठमाडौं – मदन भण्डारी स्पोर्टस एकेडेमीले माघ ९ गतेबाट मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता गर्ने भएको छ। 

माघ १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिता पूर्ननिर्माण भइरहेको दशरथ रंगशालामा हुने जनाइएको छ । २०७२ सालको भुकम्पले नेपालको एकमात्र अन्तर्राष्ट्रिय रंगशालामा क्षति पुगेको थियो । भूकम्पका कारण जिर्ण बनेको रंगशालामा त्यसयता कुनै ठूलो प्रतियोगिता आयोजना भएका छैनन्।

प्रतियोगितामा नेपालबाट रातो र निलो गरी दुई टोलीको सहभागिता  रहनेछ । त्यसबाहेक दक्षिण कोरिया, भुटान, बंगलादेश, भारत, थाइल्याण्ड र चीनले सहभागिता जनाउने आयोजकले जनायो । प्रतियोगिता आयोजक समितीका सदस्य तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ अध्यक्ष टासी घलेले विदेशबाट आउने टोलीलाई मिलेसम्म राष्ट्रिय नभए यू–२३ टोली पठाउन आग्रह गरेको बताए। 

‘रंगशाला ७२ सालको भुकम्पपछि निकै जिर्ण बनेको थियो । तर अहिले पूर्ननिर्माणको काम अन्तिम चरणमा पुगेको छ । छिट्टै प्रतियोगिता आयोजना गर्न योग्य हुन्छ,’ घलेले थपे, ‘भूकम्पपछि नेपालमा विदेशी टोली आएर प्रतियोगिता खेलेका छैनन् । यस प्रतियोगिताले नेपाललमा पुनः विदेशी टोली ल्याएर खेल्ने वातावरण निर्माण हुँदैछ । रंगशालाको निमार्ण द्रुतगतिमा होस भन्ने हाम्रो चाहना हो । त्यसैले दबाबका निम्ती पनि यो प्रतियोगिता आयोजना गर्न लागेका हौं।’ आयोजक कमिटीका अध्यक्ष विनोद श्रेष्ठले पनि प्रतियोगिता दशरथ रंगशालामा नै हुने दाबी गरे। 

‘हामीले पटक–पटक राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवसँग कुराकानी गरेका छौं । उहाँहरुले दशैपछि रंगशाला तयार हुने प्रतिबद्धता जनाउनु भएको छ । रंगशालामा नै गर्ने उद्देश्यले यसअघि नै गर्न लागेको प्रतियोगितालाई पछि सारेका हौं,’ मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्षसमेत रहेका श्रेष्ठले थपे, ‘हामीले रंगशाला निर्माणमा सम्बन्धित पक्षलाई दबाब दिन पनि प्रतियोगिता रंगशालामै आयोजना गर्नेछौं । हामी एकेडेमीका कार्यकर्ता परिचालन गरेर भए पनि रंगशालामै प्रतियोगिता सम्पन्न गर्नेछौं।’

प्रतियोगिताको विजेताले २५ हजार तथा उपविजेताले १० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट हुने गोलकिपर, रक्षक, मिडफिल्डर र प्रशिक्षकले समान १ हजार अमेरिकी डलर पुरस्कार जित्नेछन्। 

प्रकाशित: ३० भाद्र २०७५ ०५:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App