२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पोग्बालाई स्वारेजको निम्ता

मड्रिड (एएफपी) – बार्सिलोनाका स्ट्राइकर लुइस स्वारेजले फ्रान्सेली मिडफिल्डर पाउल पोग्बालाई क्याम्प नोउमा स्वागत गर्न सधैं तयार रहेको बताएका छन्।

२ वर्षअघि युभेन्ट्सबाट म्यानचेस्टर युनाइटेड भित्रिएका पोग्बाको प्रशिक्षक जोजे माउरिन्होसँगको चिसो सम्बन्धका कारण ओल्ड ट्राफोर्ड बसाइ सुखद बन्न सकिरहेको छैन। नयाँ सिजनको सरुवा बजारमा पोग्बा बार्सिलोना जाने खबर सार्वजनिक भएको थियो।

गत सिजन क्लबमा लय समाउन नसकेको भन्दै उनी आलोचित बनेका थिए । तर रूस विश्वकपमा फ्रान्सलाई उपाधि जिताउँदा पोग्बाले उत्कृष्ट प्रदर्शन गरेका थिए । उता माउरिन्होले क्लबमा आफूलाई प्रमाणित गर्न पोग्बाले अझै मिहिनेत गर्नुपर्ने बताएपछि उनीहरूको सम्बन्धमा चिसोपना आएको थियो।

२०१३ मा तत्कालीन प्रशिक्षक एलेक्स फर्गुसनले क्लब छोडेपछि युनाइटेडले प्रिमियर लिग र च्याम्पियन्सन्स लिगको उपाधि जित्न सकेको छैन । यता बार्सिलोनाले भने यस अवधिमा तीन पटक स्पेनिस ला लिगा र एक पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ।

‘पोग्बा उत्कृष्ट खेलाडी हुन् र उनी अहिले उत्कृष्ट लयमा छन्,’ स्वारेजले भने, ‘उनी धेरैभन्दा धेरै खेल खेल्दै आफूलाई प्रमाणित गर्न चाहन्छन् । माउरिन्होसँगको खराब सम्बन्धले उनको खेलजीवनमा धक्का लाग्न सक्छ  र उनी स्वयम् पनि क्लबमा रमाइरहेका छैनन् । उनले युनाइटेडको तुलनामा धेरैभन्दा धेरै अवसर पाउँछन् । उनी अहिले युनाइटेडका सदस्य हुन् । तर बार्सिलोना पोग्बालाई स्वागत गर्न सधैं तयार छ।’

स्वारेजले युनाइटेडभन्दा बार्सिलोनाले धेरै उपाधिका लागि प्रतिस्पर्धा गरेको दाबी गरे पनि चिर प्रतिद्वन्द्वी रियाल मड्रिडले लगातर तीन पटक च्याम्पियन्स लिगको उपाधि जित्दा बार्सिलोनाले पछिल्लो ५ वर्षमा एक पटक मात्र प्रतियोगिताको उपाधि जितेको छ।

आन्द्र्रेस इनियस्टाले क्लब छोडेपछि कप्तानीको जिम्मेवारी सम्हालेका स्ट्राइकर लियोनल मेसी पनि पोग्बालाई क्लबका भित्र्याउन इच्छुक छन्।

‘पोग्बाले विश्वकपपछि आफ्नो छाप छोडेका छन्,’ स्वारेजले भने, ‘बार्सिलोना उनलाई अनुबन्धित गर्न आतुर छ । क्लबले कुनै एक खेलाडीको प्रयासमा मात्र सफलता हात पार्ने होइन । यसका लागि समग्र टोलीमा एक हौं भन्ने भावना हुनुपर्छ।’

जनवरीमा ३१ वर्षमा प्रवेश गर्न लागेका स्वारेजले क्लबका लागि गत सिजन ला लिगामा २५ गोल गरेका थिए । स्वारेजले क्याप नोउमा व्यावसायिक खेलजीवनको अन्त्य गर्न चाहे पनि त्यो कठिन रहेको बातए।

‘यसमा कठिनाइ छ,’ स्वारेजले भने, ‘जाभी र इनियस्टालाई हेर्नुुस् । उनीहरूले बाल्यकालदेखि बार्सिलोनबाट खेल्दै आएका थिए । तर खेलजीवनको अन्त्यमा भने उनीहरू अन्यत्र अनुबन्धित भए । म पनि क्याम्प नोउमा व्यावसायिक खेलजीवनको अन्त्य गर्न चाहन्छु । तर त्यसको निर्णय मैले भन्दा पनि आगमी दिनमा क्लबमा मेरो प्रदर्शनले गर्नेछ।’

प्रकाशित: २२ भाद्र २०७५ ०३:२७ शुक्रबार

बार्सिलोना पोग्बालाई_क्याम्प_नोउ