ताप्लेजुङ – आफ्नै गृह जिल्लाको न्यू स्टार क्लबलाई २–१ ले पराजित गर्दै पाथीभरा गोल्डकपको तेस्रो संस्करणको उपाधि रेड स्टार क्लव झापाले जितेको छ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले १–१ को बराबरी खेलेपछि थपिएको १५ मिनेटको समयमा रेड स्टारका लागि कप्तान कर्ण लिम्बूले कर्नर बललाई सिधै गोलमा परिणत गर्दै आफ्नो टिमको जित सुनिश्चित गरेका थिए।
रेड स्टार खेलको २२ औं मिनेटमा ग्लोरीको गोलबाट अग्रता लिएपनि ७२ औं मिनेटमा न्यू स्टारका बिजय राईले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। निर्धारित समयमा खेल बराबरीमा सकिएपछि थपिएको समयमा रेड स्टारले बाजी मारेको हो।
प्रतियोगिताको विजेता रेड स्टारले ३ वर्षे रनिङकपका साथ ३ लाख १ हजार १ सय ११ रुपैैंया प्राप्त गर्दा उपविजेता बनेको न्यू स्टारले १ लाख ५१ हजार १ सय ११ रुपैंयामा चित्त बुझायो।
कार्यक्रमका प्रमुख अथिति रहेका प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले विजेता टिम तथा खेलाडीलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए।
प्रकाशित: १७ भाद्र २०७५ ०५:२८ आइतबार