१० आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

महिला भलिबल व्यावसायिक हुँदै

सम्झौता पत्र आदान प्रदान गर्दै भलिबल संघका अध्यक्ष मनोरञ्जनराम शर्मा र फाउन्डेसनका सिइओ दिनेशकुमार सिंह (बाँया) । तस्बिरः नागरिक

काठमाडौं – नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको १४ महिनापछि नेपाल भलिबल संघले खेललाई व्यावसायिकता प्रदान गर्ने प्रयास गरेको छ। 

भारतको आधी आवाधी फाउन्डेसनसँगको सहकार्यमा संघले यही अक्टोबरमा महिला भलिबल लिग गर्दै छ, फ्रेन्चाइजी क्लबहरूलाई समावेश गरेर । प्रतियोगिताका लागि आधी आवाधी फाउन्डेसनसँग १० वर्षका लागि सम्झौता गरेको भलिबल संघले पहिलो वर्ष ६ क्लब सम्मिलित लिग गर्ने भएको छ। 

तीन विभागीय टोलीका साथै काठमाडौं क्विन्स, चितवन टाइग्रेस र पोखरा पिन्केज गरी ६ क्लबले लिगमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा एउटा टोलीले ४ विदेशी खेलाडी अनुबन्धित गर्न पाउनेछ भने तीन खेलाडीलाई मात्र खेलाउन पाउनेछन्। 

बिहीबार नेपाल भलिबल संघ र आधी आवाधी फाउन्डेसनबीचको भएको सम्झैतापत्रमा संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र फान्डेसनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिनेशकुमार सिंहले हस्ताक्षर गरे। 

‘क्रिकेटमा खेलाडी अक्सन गरेर नेपालमा पनि ठूलाठूला प्रतियोगिता भइरहेका छन् । हामी पनि खेलाडी अक्सन गरेर व्यावसायिक भलिबल लिग खेलाउनेतर्फ अघि बढिरहेका छौं।’

सम्झौताअनुसार प्रतियोगिता आयोजना एवम् स्वीकृत गरेबापत फाउन्डेसनले भलिबल संघलाई वार्षिक १५ लाख रुपैयाँ प्रदान गर्नेछ । साथै प्रतियोगिता आयोजनाका लागि चाहिने सबै व्यवस्थापन खर्च फाउन्डेसनले गर्नेछ । बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै फाउन्डेसनले ८ लाख रुपैयाँ नगद संघलाई प्रदान गरेको छ भने बाँकी ७ लाख रुपैयाँ प्रतियोगिता सकिएपछि प्रदान गर्नेछ।

‘क्रिकेटमा खेलाडी अक्सन गरेर नेपालमा पनि ठूलाठूला प्रतियोगिता भइरहेका छन् । हामी पनि खेलाडी अक्सन गरेर व्यावसायिक भलिबल लिग खेलाउनेतर्फ अघि बढिरहेका छौं,’ नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले भने, ‘यो पहिलो वर्ष भएका कारण ६ टोली मात्र समावेश गरेका छौं । बिस्तारै यसमा थपिन पनि सक्छ । यसले खेलाडीको प्रदर्शनमा सुधार आउनुका साथै अर्थिक रूपमा पनि राम्रो हुनेछ।’ 

फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार सिंहले भलिबलमार्फत महिला सशक्तीकरणका लागि यस्तो प्रतियोगिता गर्न लागेको बताए । ‘हामीले भारतमा गत वर्षबाट महिला भलिबल लिग सञ्चालन गरेका छौं । नेपालमा भलिबलको लोकप्रियताका साथै राष्ट्रिय खेल भएका कारण हामी यहाँ पनि प्रतियोगिता गर्न लागेका हौं,’ फ्रेन्चाइजी क्लबहरुलाई प्रायोजक पनि खोजिदिने भन्दै फाउन्डेसनका सिइओ सिंहले थपे, ‘भारतका ठूला कम्पनीहरूका उत्पादन नै नेपालमा आएकाले हामी उतैबाट प्रायोजक खोज्ने प्रयास गरिरहेका छौं । त्यसमा नेपालका व्यावसायिक घरनाहरुको साथ रहने विश्वास लिएको छु।’ 

काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा हुने प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ नगद पाउनेछन् । दोस्रोले ३ लाख र तेस्रो हुनेले १ लाख ५० हजार रुपैयाँ नगद हात पार्नेछन् । यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीले एउटा स्कुटर र ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्। 

नेपालका लागि फाउन्डेसनका अध्यक्ष सूर्य गुरुङले पौराणिक कथनमा नेपाल सीता र भृकुटीले चिनिएजस्तै उदाउँदै गरेको महिला भलिबलबाट नेपाललाई विश्वभर चिनाउनको लागि प्रयास थालिएको बताए । गुरुङले भने, ‘हामीले १० वर्षका लागि सम्झौता गरेका छौं, आउँदो दश वर्षमा महिला भलिबलले नेपाललाई चिनाउनेछ।’

प्रकाशित: १८ श्रावण २०७५ ०५:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App