टिआइए, दीक्षालय, चेल्सी वर्ल्ड स्कुल र नेक्सस इन्टरनेसनल एकेडेमी तेस्रो निस्ट कपमा शनिबार च्याम्पियन बनेका छन्।
लोकन्थलीस्थित भक्तपुर निस्ट स्कुलद्वारा आयोजित प्रतियोगितामा बास्केटबलको सिनियर बोइजमा टिआइए, सिनियर गर्ल्समा दीक्षालय र जुनियर गर्ल्समा चेल्सीले उपाधि जितेका हुन्। नेक्सस जुनियर बोइज फुटबलमा पनि पहिलो भयो।
बास्केटबलको सिनियर बोइज फाइनलमा टिआइएले बौद्ध इन्टरनेसनल स्कुललाई ५०–२६ ले पराजित हराउँदै उपाधि उचालेको हो। टिआइएका रोशन नगरकोटीले २६ अंक जोडे। निस्ट तेस्रो भयो। सिनियर गल्र्सको उपाधि भिडन्तमा दीक्षालयले निस्टलाई २३–२० को साँघुरो अन्तरले हरायो।
दीक्षालयकी लाक्पा डोमा शेर्पाले ११ स्कोर गरिन्। चेल्सी तेस्रो बन्यो। जुनियर गल्र्सको फाइनलमा चेल्सीले आर्या एकेडेमीमाथि २५–७ को सहज जित निकाल्यो। चेल्सीकी लाजेन शेर्पाले १२ अंक जोडिन्। निस्ट तेस्रो स्थानमा रह्यो। फाइनलका सर्वाधिक स्कोरकर्तात्रय रोशन, लाक्पा र लाजेन आआफ्नो विधामा मोस्ट भेलुएबल प्लेयर घोषित भए।
जुनियर बोइजको फुटबलमा च्याम्पियन नेक्ससले फाइनलमा गोल्डेन सुनगाभालाई २–० गोलले हरायो। नेक्ससका विराज डुगुले दुई गोल गरे। विराज नै प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिए। निस्टका सक्षम न्यौपाने सर्वाधिक गोलकर्ता बने। डिफेन्समा गोल्डेन सुन्गाभाका निर्मल भुजेल, गोलरक्षकमा आर्याका प्रिन्स महर्जन र प्रशिक्षकमा नेक्ससका सविन रन्जित उत्कृष्ट ठहरिए। प्रतियोगितासँगै विद्यार्थीमा स्वच्छ वातावरणबारे सचेतना जगाउने उद्देश्यले आयोजित क्लाइमेट च्याम्पियनको उपाधि नव सुन्ताखानले जित्यो।
नव सुन्ताखानले सर्वाधिक पाँच सय अंक बटुल्यो। एक सय ७० अंकका साथ चेल्सी दोस्रो तथा एक सय ६५ अंकमा राजश्री गुरुकुल तेस्रो भए। वातारण दूषित बनाउने प्लास्टिक प्रयोग नगर्ने, इन्धनबाट चल्ने सवारी साधनको सट्टा विद्युतीय सवारी साधन/साइकलको प्रयोग गर्ने वा छोटो दूरीको यात्रामा पैदल यात्रा गर्ने, विरुवा रोप्ने, आफूले लगाएको पोशाकमा वातावरण जोगाउने सन्देशमूलक नारा लेख्नेलगायत विषयवस्तुलाई मध्यनजर गरी शीर्ष तीन स्थानमा रहने टोलीको चयन गरिएको हो।
विजेतालाई निस्ट फाउन्डेनका अध्यक्ष डा. माधवप्रसाद बराल, कार्यकारी निर्देशक डा. राजेन्द्रकुमार घिसिङ र प्रमुख कार्यकारी अधिकृत चन्द्र अधिकारीलगायतले पुरस्कृत गरेका थिए।
प्रकाशित: २५ फाल्गुन २०८१ ०७:४३ आइतबार