३ चैत्र २०८१ आइतबार
image/svg+xml २२:३८ अपराह्न
खेल

शृंखलामा महिला टोलीको खराब सुरुआत

नामिबियाविरूद्ध ब्याटिङ गर्दै नेपालकी कप्तान ईन्दु वर्मा।

शृंखला जित्ने लक्ष्यसहित युगान्डा पुगेको नेपाली महिला टोलीले युगान्डा वुमेन्स डे कप टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा हारबाट सुरुआत गरेको छ।

युगान्डाको इन्टेबे क्रिकेट ओभरमा शनिबार भएको पहिलो खेलमा नेपाली टोली नामिबियासँग डकवर्थ लेविस (डिएलएस) का आधारमा ६ विकेटले पराजित भएको हो। यससँगै घरेलु टोली, हङकङ र नामिबिया सम्मिलित टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला जित्ने लक्ष्यसहित युगान्डा पुगेको नेपाली टोलीको सुरुआत सुखद बन्न सकेन।

कमजोर ब्याटिङ गरेको नेपालले ९३ रनको सामान्य लक्ष्य दिएको थियो। जबाफी लक्ष्य पछ्याएको नामिबिया १४.५ ओभरमा चार विकेट गुमाउँदै ७१ रनमा हुँदा वर्षा भयो। तर, वर्षा नरोकिएपछि डिएलएस नियमका आधारमा नामिबिया विजयी भएको हो।

नामिबियाकी ओपनर मेकेले म्वाटिलेले २६ रन जोडिन्। यो नै उसका लागि सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो। ३५ बल खेलेकी उनले तीन चौका प्रहार गरिन्। जुरियन डिइरगार्ट १३ रनमा अविजित रहिन्।

कप्तान तथा ओपनर सुने विटमन ७ रन, इडिले भान ८ रन र इस्मिन खान ६ रनमा नै आउट भए। तर, सामान्य लक्ष्य पछ्याएको नामिबियाका लागि जित निकाल्न चुनौती भएन। नेपालको बलिङमा पूजा महतो, कविता जोशी, कप्तान इन्दु बर्मा र ईश्वरी विष्टले समान एक विकेट लिए पनि नामिबियाको जित रोक्न सकेनन्। त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल निर्धारित २० ओभरमा ९२ रनको सामान्य योगफलमा नै समेटिन पुग्यो।

खराब सुरुआत गरेको नेपालले राम्रो योगफल बनाउन नै सकेन। कुनै पनि ब्याटरले लामो इनिङ खेल्न नसक्दा नेपाली टोली सामान्य योगफलमा रोकिएको हो। नेपालले पहिलो ओभरको चौथो बलमा नै पूर्वकप्तान तथा अनुभवी ब्याटर रुबिना क्षेत्रीलाई शून्यमा नै गुमाउन पुग्यो।

अर्की ओपनर सम्झना खड्काले १८ रन बनाइन्। त्यो नै नेपालका लागि सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो। ११ बल खेलेकी सम्झनाले चार चौका प्रहार गरिन्। ईश्वरी विष्टले १७, कविता जैशी १६ र पूजा महतोले १३ रन बनाए। अन्यको प्रदर्शन सम्झनलायक रहेन। रुबिनासँगै राजमति ऐरी र रचना चौधरीले खाता नै खोल्न सकेनन्।

अनुभवी ब्याटर रोमा थापा ९ रन र इन्दु बर्मा २ रनमा नै आउट भए। नामिबियाको बलिङमा मेकेले र विल्का मावातेलीले समान तीन तथा केलिन ग्रिनले दुई र जुरेइनले एक विकेट लिइन्। सबैले एकअर्कासँग दुईपल्ट प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन्। नेपालले अब दोस्रो खेलमा आइतबार युगान्डासँग प्रतिस्पर्धा गर्दैछन्। त्यसपछि नेपाली टोली मार्च १० मा हङकङसँग, मार्च १२ मा नामिबियासँग, मार्च १३ मा फेरि युगान्डा र मार्च १४ मा हङकङसँग फेरि खेल्ने तालिका छ।  

प्रकाशित: २५ फाल्गुन २०८१ ०७:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App