नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्कणमा एनसेल मुख्य प्रायोजक रहने भएको छ।
नेपाल स्पोटर्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) को आयोजनामा आगामी चैत १६ गतेदेखि एनएसएलको तेस्रो संस्करण सुरु हुँदै छ। उक्त तेस्रो संस्करणका लागि एनएसएलले मुख्य प्रायोजकका रूपमा एनसेलको साथ पाएको हो।
शुक्रबार एक कार्यक्रमबीच आयोजक र एनसेलले प्रायोजक घोषणा हुन्। नेपाल सुपर लिगकी प्रमुख आश्रयता कार्की चौधरी र एनसेलका चिफ कमर्सियल अफिसर (सिसिओ) उमेर मोहसिनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। प्रायोजन रकम भने खुलाइएको छैन।
तेस्रो संस्करणका लागि एनसेल आजियटा लिमिटेडलाई टाइटल स्पोन्सरका रूपमा घोषणा गरिएको छ। नेपाल सुपर लिगका म्यानेजिङ डाइरेक्टर श्रेयांश कार्कीले एनसेललाई टाइटल स्पोन्सरका रूपमा स्वागत गर्न पाउँदा निकै उत्साहित रहेको बताए।
उनले यो साझेदारीले नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउने र बलियो फुटबल संस्कृतिको निर्माणमा सहयोग गर्ने बताए। एनसेलका चिफ कमर्सियल अफिसर मोहसिनले एनएसएलसँगको सहकार्यले खेल विकासप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने धारणा राखे।
यस संस्करणका लागि लागि ‘ए’ र ‘बी’ क्याटगोरीका खेलाडीको अक्सन पनि भइसकेको छ। ‘सी’ क्याटगोरीको ड्राफ्ट पनि छिटै गर्ने एनएसएलले जनाएको छ। यसपल्ट काठमाडौं रेजर्स, साबिक विजेता ललितपुर सिटी एफसी, झापा एफसी, एफसी चितवन, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरी सात टोलीले मात्रै प्रतिस्पर्धा गर्दै छन्। गत संस्करणमा सहभागी वीरगन्ज युनाइटेड एफसी र स्पोर्टि्ङ इलाम डे मेची एफसीले भने यस संस्करणदेखि नखेल्ने जनाइसकेका छन्।
प्रकाशित: २४ फाल्गुन २०८१ ०७:२७ शनिबार