नेपाल टोलीसँगै युवा स्पिनर नरेन साउदका लागि संयुक्त अरब इमिरेट्स (युएई) मा भएको एसिसी यु–१९ एसिया कप खासै यादगार रहेन।
तीन खेलमध्ये नेपालले एक जित निकाल्यो। यद्यपि, बलिया श्रीलंका र बाङ्लादेशसँगको खेल भने गुमायो। दुई हारपछि नेपालको यात्रा समूहचरणमै सीमित भयो। तर, समूहको अन्तिम खेलमा नेपालले टेस्ट राष्ट्र अफगानिस्तानमाथि एक विकेटको रोमाञ्चक जित दिलायो।
यो जितमा स्पिनर नरेनको भूमिका महत्त्वपूर्ण रह्यो। तर, नरेनले बलिङभन्दा पनि ब्याटिङमा राम्रो साथ दिए। उत्कृष्ट बलिङ गरेपछि नेपालले अफगानिस्तानलाई १२३ रनमा नै रोक्यो। खेलमा नरेन विकेटविहीन भए। यद्यपि, लक्ष्य पछ्याएको नेपालका लागि सहज भएन। धराशयी बनेको नेपालको ब्याटिङमा नरेनले २६ रनको योगदान दिए।
यो नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो। कप्तान हेमन्त धामीको अलराउन्ड प्रदर्शनपछि नेपालले जित निकाल्यो। यता, अलराउन्डर नरेनका लागि एसिया कपका तीन खेल खासै राम्रो रहेन। यी खेलमा उनले कुल ४६ रन जोडे।
बलिङमा पनि उनको एक विकेट मात्र रह्यो। उनै नरेन बुधबार मात्र नेपाल फर्किए। डोटीका नरेन घरेलु मैदानमा सबैभन्दा ठूलो क्रिकेट महोत्सव नेपाल प्रिमियर लिग (एनपिएल) मा आफ्नै क्षेत्रको सुदूरपश्चिम रोयल्समा आबद्ध थिए। आफ्नै क्षेत्रको टोलीमा आबद्ध रहेकाले एनपिएल खेल्न उनी उत्साहित नहुने कुरै भएन। त्यसैले त नेपाल आएकै दिन उनले एनपिएलको पहिलो खेलमा नै म्यान अफ द म्याच हुन्छु भन्ने सपना देखे।
सुदूरपश्चिम रोयल्सका प्रशिक्षक जगत टमाटा र कप्तान दीपेन्द्रसिंह ऐरीले पनि नरेनको योजनालाई सार्थक बनाउन साथ दिए। सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किङ्समाथि ९० रनको फराकिलो जित निकाल्दै आफूलाई बलियो टोलीका रूपमा उभ्याएको थियो।
बिहीबार दोस्रो खेल सुदूरपश्चिमले काठमाडौं गुर्खाजसँग खेल्दै थियो, जहाँ नरेनले खेल्छु भन्ने आशा राखेका थिए। अनुभवी क्रिकेटरले भरिएको सुदूरपश्चिममा बिहीबार युवा स्पिनर नरेनले अवसर पनि पाए। उनले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेट नै लिए। आफ्नो लक्ष्य जस्तै म्यान अफ द म्याच पनि साबित भए। तर, सुरुआत भने राम्रो रहेन।
पहिलो ओभरमै दुई बाउन्ड्री सामना गरे र विकेटविहीन पनि भए। तर, आफ्नो दोस्रो ओभरमा भने उनले नामिबियाका उत्कृष्ट अलराउन्डर जेरार्ड इरासमसलाई १० रनमा एलबिडब्लु धरापमा पारे। नरेनको तेस्रो र चौथो ओभर झनै विशेष नै रह्यो। किनकि यो ओभरमा उनले दुई विकेट लिने क्रममा महत्त्वपूर्ण ब्याटरलाई पेभिलियनको बाटो देखाए। त्रिवि मैदानमा काठमाडौंले १६८ रनको लक्ष्य पछ्याइरहेको थियो।
काठमाडौंको क्रिजमा स्टेफन इस्किनाजीले राम्रो ब्याटिङ गरिरहेका थिए। उनी चुनौती बन्दै थिए। जहाँ, नरेनले उनलाई ३७ रनमा आउट गर्दै ठूलो सफलता दिलाए। यो विकेटपछि काठमाडौं धराशयी नै बन्यो। थप १२ रन जोड्दा काठमाडौं चार विकेट गुमाउँदै ९४ रनमै अलआउट भयो।
यस क्रममा नरनले इस्किनाजीलाई नै आउट गरेको ओभरमा रासिद खानलाई पनि पेभेलियनको बाटो देखाए। त्यसपछि उनले आफ्नो चौथो ओभरमा काठमाडौंको नवौं र दशौं विकेट लिए। नरेनले काठमाडौंका कप्तान करण केसी र साहब आलमलाई समान एक रनमा आउट गरे।
३.५ ओभर बलिङ गरेका नरेन पाँच विकेट लिँदै १९ रन मात्र खर्चिएर किफायती पनि बने। जितपछि पत्रकार सम्मेलनमा नरेनले यु–१९ एसिया कपबाट फर्किएको दिन नै पहिलो खेलमा जिताएर म्यान अफ द म्याच बन्छु भन्ने विश्वास रहेको बताए।
‘हिजो एसिया कपबाट फर्किंदा नै आज खेल्छु र म्यान अफ द म्याच बन्छु भन्ने थियो। त्यहीअनुरूप गुरु (प्रशिक्षक जगत टमाटा) र दिपी दाइले प्रोत्साहित गर्नुभयो। ‘आफ्नो लाइन र लेन्थमा फाल, खेल जिताउँछौं’ भन्नुभयो। इरासमसले छक्का हानेपछि अलि नराम्रो पनि लाग्यो। तर, उनलाई नै आउट गर्न पाउँदा खुसी भएँ,’ उनले भने।
राष्ट्रिय टोलीमा खेल्ने सपना लिएका नरेनलाई आफ्नो ब्याटिङ र बलिङ सुधार गर्दै लैजाने हो भने एकदिन खेल्छु भन्ने विश्वास लागेको छ। ‘ब्याटिङ र बलिङ दुवै गर्छु। आफूलाई सुधार गर्दै लगें भने राष्ट्रिय टोलीबाट खेल्नेछु भन्ने विश्वास छ,’ उनले भने। नरेनले यु–१९ एसिया कपबाट खेलेर आउँदा एनपिएलमा मद्दत पनि मिलेको उल्लेख गरे।
त्यसअघि बिहीबार भएको पहिलो खेलमा जिमी निसमको अलराउन्ड प्रदर्शन प्रेरित जनकपुर बोल्ट्स एनपिएलमा तेस्रो जित निकाल्दै बलियो टोलीको रूपमा उभिएको छ। जनकपुरले पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको हो।
जनकपुरको जितमा न्युजिल्यान्डका जिमीले अविजित ४० रन र दुई विकेट लिँदै अलराउन्ड प्रदर्शन गरे। उनी म्यान अफ द म्याच पनि भए। जितपछि अनिल साहको कप्तानीमा रहेको जनकपुर एनपिएलको अंकतालिकामा ६ अंकसहित शीर्षमा छ। त्रिवि क्रिकेट मैदानमा पोखराले १३९ रनको मध्यम लक्ष्य दिएको थियो। त्यो लक्ष्य जनकपुरले १७.१ ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्यो।
प्रकाशित: २१ मंसिर २०८१ ०६:३४ शुक्रबार