विद्याआर्जन सितोरियो शाखा डोजोको आयोजनामा पाँचौं उपत्यकाव्यापी कराते प्रतियोगिता आजदेखि सुरु हुँदैछ।
आयोजक विद्याआर्जन सितोरियोले आज हुने एकदिने प्रतियोगिताको तयारी पूरा भएको बुधबार जनाएको छ।
प्रतियोगिताका खेलहरू भक्तपुरको आदर्श चोकस्थित विद्या आर्जन माविमा हुनेछ। उक्त प्रतियोगितामा एकल कातासहित पुरुषमा ११ र महिलामा १० गरी कुल २१ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका अध्यक्ष एवं प्रमुख सूर्यबहादुर तामाङले जानकारी दिए।
प्रतियोगितामा करिब दुई सय खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। शीर्ष तीन स्थानमा रहने टोलीसँगै उत्कृष्ट पुरुष/महिला खेलाडीले नगद पुरस्कार पाउने भएका छन्। गत संस्करणमा लुभु डोजो टिम च्याम्पियन बनेको थियो।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गर्ने कार्यक्रम छ।
प्रकाशित: १७ आश्विन २०८१ ०९:०८ बिहीबार