४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

पल्सर स्पोर्ट्स अवार्डमा करातेको वर्चस्व

बायाँबाट क्रमशः एरिका गुरुङ, कुशल श्रेष्ठ, हेमन्त पाल, कुमार राई, विनयराज पाण्डे, रोहित पौडेलकी आमा पालजेश, पलेशा गोवर्धन र कविता भट्ट। तस्बिर : दिपेश दर्शनधारी/नागरिक

यस संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० मा करातेले वर्चस्व जमाउँदै खेलाडी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठले अवार्ड प्राप्त गरेका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न अवार्डमा करातेले दुई सफलता पाएको हो। एरिकाले वर्ष महिला खेलाडी र कुशलले वर्ष प्रशिक्षकको अवार्ड प्राप्त गरेका हुन्।

कुशलकै प्रशिक्षणमा एरिकाले १९औं एसियाली खेलकुदमा नेपाललाई रजत पदक दिलाएकी थिइन्। एरिकाले फुटबलकी सावित्रा भण्डारी, क्रिकेटकी रुबिना क्षेत्री, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र कबड्डीकी मेनुका राजवंशीलाई पछि पारिन्। एरिकालाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले अवार्ड प्रदान गरे।

यता प्रशिक्षक कुशलले पारा तेक्वान्दोका कविराज नेगी लामा, क्रिकेटका मोन्टी देसाई, कबड्डीकी पार्वती राई र भारोत्तोलनका सञ्जय महर्जनलाई पछि पारे। कुशललाई प्लाजा ग्रुप अप होटलका प्रबन्ध निर्देशक युवराज श्रेष्ठले अवार्ड प्रदान गरे।

उनको प्रशिक्षणमा नेपालले सातौं एसियन कराते च्याम्पियनसिपमा (२९ स्वर्ण, २५ रजत र सात कांस्य) र युएस ओपन कराते च्याम्पियनसिपमा (एक स्वर्ण र एक रजत) पदक जितेको थियो। एरिका र प्रशिक्षक कुशलले पल्सर एनएस २०० मोटरबाइक पाए।

गत संस्करण शीर्ष तीनको मनोनयनबाट विजेता घोषणा भएको थियो। यसपल्ट भने शीर्ष पाँच नै मनोनयन समावेश गरिएको हो। यस २०८० को उत्कृष्ट पुरुष खेलाडीको अवार्ड क्रिकेटका रोहितकुमार पौडेल भए।

रोहितले क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, करातेका मोहम्मद सेखु आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङलाई पछि पारेका हुन्। रोहितलाई गोल्छा ग्रुपका अभिमन्यु गोल्छाले अवार्ड प्रदान गरे। रोहितले अवार्डसँगै पल्सर एनएस २०० मोटरबाइक पनि पाए।

कवितालाई पिपुल्स चोइस अवार्ड

भलिबलकी कविता भट्टले पिपुल्स चोइस अवार्ड जितिन्। ई–सेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा कविता विजेता भएकी हुन्। कविताले सर्वाधिक ५६ प्रतिशत मत प्राप्त गरिन्।

यस अवार्डको मनोनयनमा कबड्डीकी मानमती विष्ट, फुटबलकी प्रीति राई, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा थिए। पिपल्स चोइस विजेता कविताले पल्सर एनएस ४०० मोटर बाइक जितिन्। उनलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अवार्ड प्रदान गरे।

युवा वर्ष खेलाडी २०८० को अवार्ड भारोत्तोलनका हेमन्त पालले प्राप्त गरे। हेमन्तले अवार्डसँगै पल्सर एनएस २०० मोटरसाइकल पुरस्कार पाए।

उनलाई बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले अवार्ड प्रदान गरे। हेमन्तले अर्जुन कुमाल (क्रिकेट), प्रीति राई (फुटबल), सुजन गडाल (टेबल टेनिस) र सुनिरा थापा (टेनिस) लाई पछि पार्दै यो अवार्ड जिते।

१६ वर्षे हेमन्त भारतको नोयडामा भएको एसियन जुनियर भारोत्तोलन च्याम्पियनसिपमा तीन कांस्य विजेता हुन्। उनले नेपाली भारोत्तोलनलाई ३८ वर्षपछि एसियाली स्तरमा पदक दिलाएका हुन्।

एनएसजेएफ पारा एथ्लिट अवार्डबाट पलेशा गोवर्धन सम्मानित भइन्। पलेशालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले अवार्ड प्रदान गरे।

पलेशा चौथो पारा एसियन गेम्समा नेपालका लागि पहिलोपल्ट कांस्य पदक दिलाउन सफल खेलाडी हुन्। लाइफ टाइम एचिभमेन्ट अवार्ड नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष विनयराज पाण्डेले प्राप्त गरे। पाण्डेलाई नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र महासचिव प्रज्वल ओलीले अवार्ड प्रदान गरे।

स्पेसल अवार्डबाट भलिबलका प्रशिक्षक कुमार राई सम्मानित भए। उनी दुई दशकभन्दा बढी समय भलिबलको प्रशिक्षणमा सक्रिय छन्। प्रशिक्षक राई एआइपिएस एसियाका अध्यक्ष ही दोङ जङले अवार्ड प्रदान गरे।

१९औंं एसियाली खेलकुदमा नेपाललाई कांस्य पदक दिलाउन सफल महिला कबड्डी टोलीले टिम अफ दी इयरको अवार्ड प्राप्त गर्‍यो। नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्यले यो टोलीलाई अवार्ड प्रदान गर्‍यो। लाइफ टाइम एचिभमेन्ट अवार्ड, स्पेशल अवार्ड र पारा एथ्लिटले अवार्डसँगै जनही एक लाख रूपैयाँ पुरस्कार प्राप्त गरे।

एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट एआइपिएस एसियाका अध्यक्ष ही डोङ जङलाई प्रदान गरिएको छ। सूर्य नेपाल प्रालीका ब्रान्ड म्यानेजरले दक्षिण कोरियाली पत्रकार ही डोङले अवार्ड प्रदान गरे।

१० विधामध्ये एसियन  स्पोर्ट्स जर्नालिस्ट अवार्ड विजेताबाहेक आठ विधाका विजेताले युनाइटेड अजोड इन्स्योरेन्सको तर्फबाट एक वर्षका लागि खेलकुद बिमा पाउनेछन्। यसै कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का अध्यक्ष सुवेदीसहित ६ देशका पत्रकारले एआइपिएस एसिया लिजेन्ड्स अवार्ड प्राप्त गरे।

युएईका अब्दुला इब्राहिम, मलेसियाका अहमद खवारी इसा, भारतका सबा नायकन, साउदी अरेबियाका सालेह अब्दुल अजिज र बंगलादेशका महमुद हुसेन खानले यो अवार्ड पाएका हुन्।

बागमती प्रदेशका सदस्यसचिव दीपक लामा, केल्मी नेपालका प्रबन्ध निर्देश उत्तम न्यौपाने, चन्द्रागिरि हिल्सका सेल्स एन्ड मार्केटिङ निर्देशक प्रभाकर खड्का र एआइपिएसका उपाध्यक्ष यानिस दारासले एआइपिएस एसिया लिजेन्ड्स अवार्ड विजेतालाई सम्मान गरेका थिए।

२१औं संस्करणको पल्सर अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि रहेको छ। सदाझैं यस वर्ष पनि पल्सर स्पोटर््स अवार्डको मुख्य प्रायोजक गोल्छा ग्रुपको पल्सर मोटरसाइकल हो।

गोल्छा ग्रुपको नाम यसअघि हंशराज हुलास चन्द एन्ड कम्पनी रहेको थियो। मञ्च र गोल्छा ग्रुपबीच अवार्डकै लागि सहकार्य भएको यो १६औं वर्ष हो। सह-प्रायोजक र सहयोगीमा सूर्य नेपाल प्रालि, ई-सेवा, केल्मी नेपाल, युनाइटेड अजोड इन्स्योरेन्स, रोयल सिंगी होटल, प्लाजा गु्रप अफ होटल्स, इमेजिङ, न्यु होराइजन कार्पेट, हिमालय होटल, चन्द्रागिरि हिल्स, राष्ट्रिय खेलकुद परिषद् (राखेप), नेपाल ओलम्पिक कमिटी (एनओसी), होटल संघ नेपाल लगायत छन्।

प्रकाशित: २९ भाद्र २०८१ ०६:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App